आज हरिशयनी एकादशी, यस्ता छन् शास्त्रीय मान्यता



न्युज अफ नेपाल, काठमाडाैँ ।

आषाढ शुक्ल एकादशीका दिन पर्ने हरिशयनी एकादशी हो । तुलसीरोपण एकादशी भनेर पनि चिनिन्छ।

वैदिक शास्त्रहरूमा यस एकादशीलाई एउटा महत्वपूर्ण एकादशीका रूपमा व्याख्या गरिएको छ।

तुलसी आज तुलसी रोपेर पूजा गरिन्छ। आजदेखि भगवान् विष्णु क्षीरसागरमा सुत्‍ने र चार महीनापछि हरिबोधनी एकादशीमा जाग्‍ने विश्‍वास रहिआएको छ।

तुलसीलाई भगवान् विष्णुको स्वरुपका रूपमा लिइन्छ । वैज्ञानिक रूपमा पनि तुलसीबाट धेरै अक्सिजन पाइने तथ्य प्रमाणित भएको छ। तुलसीलाई आयुर्वेदिक दृष्टिले औषधिका रूपमा समेत उपयोग गरिन्छ ।

आजको एकादशीमा पूजा अर्चना र व्रत बस्नाले सम्पूर्ण पापको मोचन हुने र सुकर्म फल प्राप्त हुने विश्‍वास रहिआएको छ।

ज्येष्ठ शुक्ल एकादशीका दिन घरघरमा राखिएको तुलसीको दलको बिरुवा आज घरघरमा रोपिन्छ ।

यस दिन अघिल्ला बर्षहरुमा बिहानदेखि नै काठमाडौँको बूढानीलकण्ठस्थित नारायणस्थान, उपत्यकाका चार नारायण मन्दिरलगायत मुलुकभर रहेका विष्णु मन्दिरमा पनि पूजाआजा तथा धार्मिक अनुष्ठानका लागि भक्तजनको भीड लाग्ने भएको भएपनि यस बर्ष कोरोना महामारीका कारण यस अघि जस्तो भिड नहुने भएको छ ।

आजैदेखि विभिन्न धार्मिकस्थल, सत्तल तथा पाटीमा चार महिनासम्म चतुर्मास पुराण पनि प्रारम्भ गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्