भारतको धौलीगंगा बाँध खोलियो



बैतडी, (नेस)

भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत् परियोजनाको बाँध खोलिएको छ । सोमबार रातिदेखि खुला गरिएको परियोजनाको बाँध मंगलबारसम्म रहने एनएचपीसी लिमिटेड धौलीगंगा पावरस्टेसनले जनाएको छ ।

बाँध खोलेसँगै महाकाली नदीमा जलस्तर बढ्ने भएकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले आग्रह गर्नुभएको छ ।

महाकालीको तटीय क्षेत्रमा पर्ने बैतडीको सेरादेखि कुस्मतघाटसम्मका नागरिकलाई नदी छेउछाउ आसपास नजान अनुरोध गरिएको हो ।

यस्तै दार्चुलाको व्यास गाउँपालिका–५ धौलाकोटदेखि लेकम गाउँपालिकाको लालीसम्म तटीय क्षेत्रमा खतरा हुने भएकाले उक्त क्षेत्रका नागरिकलाई सतर्क भएर रहन दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले आग्रह गर्नुभयो ।

बाँध खोलेसंगै नदीमा जलस्तर बढेको महाकाली नदी जलसतह मापन केन्द्र दत्तुले जनाएको छ । केन्द्रका गेजरिडर कृष्णसिंह नगारीका अनुसार मंगलबार बिहान गरिएको मापनअनुसार जलस्तर ४ मिटर २० सेन्टिमिटर पुगेको छ । बाँध खोल्नुअघि महाकालीको जलस्तर २ मिटर ९० सेन्टिमिटर रहेको नगारीको भनाइ छ ।

नदीमा जलस्तर ४ मिटर ८० सेन्टिमिटर माथि पुगेपछि बार्निङ लेबल हुने महाकाली नदी जलसतह मापन केन्द्र दत्तुले जनाएको छ ।

परियोजनाले बाँधमा पानीको मात्रा बढ्ने भएकाले बेलाबेलामा नियमित सरसफाइ गर्नुपर्ने भन्दै बाँध खुला गर्ने गरेको छ ।

धौलीगंगाको बाँध खोलेपछि दार्चुला, बैतडी, डडेल्धुरा, कञ्चनपुर भएर भारततिर बग्ने महाकालीमा पानीको बहाव र सतह बढ्ने भएकाले उक्त क्षेत्रका नागरिकलाई नदी छेउछाउमा नजान र सतर्कता अपनाइराख्नसमेत नेपाल र भारतका स्थानीय प्रशासनले अनुरोध गरेका छन् ।

दुई सय ८० मेगावाट विद्युत् क्षमताको धौलीगंगाको परियोजनाको बाँध खोलिनेबारे पछिल्लो समय भारतीय प्रशासनले पूर्वसूचना गराउन थालेपछि पूर्वसतर्कता अपनाउन सजिलो भएको छ ।

विसं २०७० मा धौलीगंगाकै बाँधका कारण दार्चुला सदरमुकाम खलंगामा बाढी पसेर घरहरु बगाउँदा अर्बौको क्षति भएको थियो ।

प्रतिक्रिया दिनुहोस्