रियलले घरेलु रंगशाला बेर्नबेउमा नखेल्ने



लन्डन, एजेन्सी ।

स्पेनिस फुटबलका महारथी रियल मेड्रिडले कोरोना भाइरसका कारण स्थगित स्पेनिस ला लिगाको यो सिजनका बाँकी म्याचहरु घरेलु रंगशाला सान्टियागो बेर्नबेउमा नखेल्ने भएको छ ।

रियलले हाल बेर्नबेउ रंगशालामा पुनर्निर्माणका कार्य चलिरहेकोले लिगका बाँकी खेल सो मैदानमा नखेल्ने भएको हो । रियलले एउटा अफिसियल प्रेस नोट जारी गर्दै कोरोना भाइरसपछि पुनः लिग सुचारु हुँदा लिगअन्तर्गत होम ग्राउन्डमा खेल्ने कुनै पनि खेल घरेलु रंगशालामा सान्टियागो बेर्नबेउमा नखेल्ने बताएको छ ।

यसको विकल्पमा रियलले होम ग्राउन्डका बाँकी खेलहरु आफ्नो प्रशिक्षण गर्ने मैदान अल्फ्रेडो डि स्टेफानो रंगशालामा खेल्नेछ । सो मैदान रियलको ट्रेनिङ सेन्टर भए पनि त्यहाँ ला लिगाका खेल खेलाउने सबै मापदण्ड पूरा छ ।

हाल कोरोना भाइरसका कारण ला लिगाका खेल दर्शकबिना खाली रंगशलामा खेलाउनुपर्ने हुँदा पनि रियलले प्रशिक्षण गर्ने ठाउँमा खेल खेलाउन लागेको हो । दर्शकबिना ट्रेनिङ सेन्टरमै खेलाउँदा उचित हुने भएपछि रियलले यस्तो घोषणा गरेको हो ।

कोरोनाका कारण फुटबल नहुँदाको खाली समयमा रियलले आफ्नो रंगशाला पुनर्निर्माण कार्य गरिरहेको छ । रियलले नयाँ सिजनका लागि रंगशाला तयार पार्नका लागि पनि अहिले धमाधम काम गरिरहेको छ । ला लिगामा अब अन्तिम चरणका ११ खेल बाँकी छन् । ला लिगा जुनको दोस्रो हप्ताबाट सुचारु हुने क्लबका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले सोमबार पत्रकार सम्मेलनमा जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्