हिसानका वरिष्ठ उपाध्यक्षद्वारा वार्षिक शुल्क बुझाउन दबाव

दबाव दिए कारवाही गर्ने सरकारको चेतावनी



ईश्वरराज ढकाल, काठमाडौं । 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले लकडाउनको समयमा विद्यार्थीसँग कुनै किसिमको शुल्क नलिन गरेको आग्रहलाई वेवास्ता गर्दैै एक निजी विद्यालयले अविभावक भेला नै गरेर वार्षिक शुल्क बुझाउन र पुस्तक किन्न दबाव दिएको छ ।

हिसानका वरिष्ठ उपाध्यक्ष युवराज शर्मा अध्यक्ष एवं प्रिन्सिपल रहेको तीनकुनेस्थित हिमालयन ह्वाइट हाउस वल्र्ड स्कुलले अभिभावकलाई वार्षिक शुल्कबापत रकम तिर्न दबाब दिएका छन् ।

शनिबार कक्षा ७ सम्म भएको अनलाइन बैठकमा विद्यालयका निर्देशक नारायण काफ्ले र प्रिन्सिपल शर्माले अभिभावकलाई जसरी भए पनि वार्षिक शुल्क तिर्न आग्रह गरेका थिए । विद्यालयले एक सातादेखि विभिन्न कक्षाका अभिभावकसँग अनलाइन बैठक गरेर एक साताभित्र शुल्क तिर्न दबाव दिँदै आएको छ ।

विद्यालयले अभिभावलाई एक दुई दिनभित्र शुल्क तिर्न आग्रह गरेको थियो । विद्यालय प्रशासनले सबै अभिभावकलाई विद्यालयको खातामा जम्मा गर्न वा सामाजिक दूरी कायम हुने गरी विद्यालयमै आएर रकम तिर्न दबाव आग्रह गरेका थिए ।

‘लकडाउनका कारण घर चलाउन समेत समस्या भइरहेको अवस्थामा एक्कासि बैठक गरेर वार्षिक शुल्क मागेपछि हामी अचम्मित भएका छौं’ –एक अभिभावकले नेपाल समाचारपत्रसँग भने । विद्यालयले अभिभावलाई एक दुई दिनभित्र शुल्क तिर्न आग्रह गरेको थियो । विद्यालय प्रशासनले सबै अभिभावकलाई विद्यालयको खातामा जम्मा गर्न वा सामाजिक दूरी कायम हुने गरी विद्यालयमै आएर रकम तिर्न दबाव आग्रह गरेका थिए ।

सबै कक्षाका विद्यार्थीसँग २० देखि ३० हजार रुपियाँ माग गरेको ती अभिभावकले बताए । बैठकमा विद्यालय निर्देशक काफ्लेले बैकको खातामा वार्षिक शुल्क रकम जम्मा गर्न आग्रह गर्नुभएको थियो ।

सत्याल पब्लिकेसनको पुस्तक प्रयोग गर्दै आएको सो विद्यालयले विद्यालय नजिकै, विद्यालयमै वा ठेगाना दिएअनुसारका स्थानमा किताब पुर्‍याउने गरी पुस्तक लिन आग्रह गरेको थियो ।

लकडाउनको समयमा विद्यार्थीसँग शुल्क लिए कारबाही गर्ने सरकारी चेतावनीको बेवास्ता गर्दै सो विद्यालयले हाकाहाकी रुपमा शुल्क तिर्न र पुस्तक खरिद गर्न दवाव दिएको हो । विद्यालयका प्रिन्सिपल शर्माले अनलाइन बैठकमा वार्षिक शुल्कको विषयमा कुराकानी भएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘मासिक शुल्कको विषयमा केही बोलेनौं, वार्षिक शुल्क तिर्न आग्रह गरेका हौं ।’

आफूले भन्दा पनि निर्देशक काफ्ले सरले शुल्क र पुस्तकको विषयमा कुरा गरेको जानकारी गराउँदै शर्माले भन्नुभयो– ‘शिक्षकलाई तलब खुवाउन र अनलाइन कक्षा सञ्चालन गर्न सकभर वार्षिक रकम तिर्न आग्रह गरेका हौं ।’ विद्यालय नजिकै पुस्तक बिक्री गर्ने व्यवस्था गरेको समेत अभिभावकलाई जानकारी गराइएको शर्माको भनाइ छ ।

शिक्षक–कर्मचारीलाई तलब खुवाउन रकम आवश्यक भएपछि विद्यालयले अभिभावकको ढाड सेक्ने गरी रकम माग गरेको हो । एकपटक वार्षिक शुल्क तिरेपछि पुनः शुल्क तिर्न नपर्ने मान्यताविपरीत सो विद्यालयले कक्षा १ देखि १० सम्मका विद्यार्थीसँग वार्षिक शुल्क असुल्ने गरेको छ ।

चीनबाट मेडिकल सामग्री ल्याउँदा ओम्नी ग्रुपको प्रतिनिधि भन्दै प्रधानमन्त्री केपी शर्मा ओली र उहाँका सचिवालयका अधिकारीसँग बिचौलियाको भूमिका खेलेको आरोप लागेका शर्माले लकडाउनको समयमा रकम उठाउनु सरकारको निर्देशनविपरीत देखिएको छ ।
शर्माले लकडाउन नखुलुन्जेलसम्म मासिक शुल्क नलिएर तत्कालका लागि वार्षिक शुल्क लिने गरी छलफल भएको बताउनुभयो । ‘सरकारले कुनै व्यवस्था नगरेपछि के गर्ने ?’, शर्माले भन्नसभयो– ‘शिक्षक र कर्मचारीलाई तलब खुवाउन केही व्यवस्था गर्नुपरेकाले वार्षिक शुल्क तिर्न अभिभावलाई आग्रह गरेका हौं ।’

शुल्क मागे कारबाही

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले देशव्यापी कोरोना महामारी फैलन लागेको र आर्थिक गतिविधि प्रायः ठप्प भएको अवस्थामा कुनै पनि शिक्षण संस्थाले वार्षिक शुल्क उठाउन नहुने स्पष्ट पार्नुभयो ।

उहाँले सबैलाई सहयोग गर्नुपर्ने यस्तो विषम परिस्थितिमा अभिभावकसँग रकम असुल्नु गलत भएको बताउनुभयो । ‘तपाईंबाट यस्तो जानकारी आयो, यदि यस्तो अवस्था हो भने शुल्क उठाउने विद्यालयमाथि कारबाही गर्नुपर्छ’ –उहाँको भनाइ थियो ।

उहाँले अहिले अनलाइन, वा अन्य कुनै पनि माध्यबाट पठनपाठन गराए पनि विद्यालयले शुल्क उठाउन नहुने बताउनुभयो । भन्नुभयो– ‘यो अवस्थामा शुल्क नतिर्नुस्, यदि दबाव दिएमा मन्त्रालयमा सम्पर्क राखेमा कारबाही प्रक्रिया अघि बढाउनेछौं ।’

यो त अत्याचार भयो, शुल्क नतिर्नुस्

अभिभावक महासंघका अध्यक्ष धर्मदत्त देवकोटाले लकडाउनको समयमा वार्षिक शुल्क उठाउन खोज्नु गलत भएको बताउनुभएको छ ।
उहाँले सरकारसँग नजिक भन्दै हिँड्ने युवराज शर्मा जस्तो व्यक्तिले अनिवार्य रुपमा शुल्क लिन उर्दी जारी गरे जस्तो गर्नु गलत भएको बताउनुभयो । सरकारसँग नजिक भएको मान्छेले मनपरी गर्न नहुने उहाँको तर्क थियो ।

उहाँले भन्नुभयो– ‘म यो अवस्थामा कोही पनि अभिभावकलाई रकम नतिर्न आग्रह गर्दछु । यो अत्याचार भयो, सरकारले यस्तो विद्यालयलाई कारबाही गर्नुपर्छ ।’

शुल्क उठाउनु अस्वाभाविक

प्याब्सनका अध्यक्ष टीकाराम पुरीले लकडाउनका कारण सबै क्षेत्र अस्तव्यस्त भएको अवस्थामा विद्यालयले अनलाइन अभिभावक भेला गरेर वार्षिक शुल्क माग गर्नु गलत भएको बताउनुभयो ।

शिक्षक–कर्मचारीलाई तलब खुवाउन नसकेको भन्दै अहिले नै शुल्क उठाउनु गलत भएको उल्लेख गर्दै उहाँले भन्नुभयो–‘चैतसम्मको तलब दिइसकेको अवस्थामा वैशाखपछि के गर्ने भन्ने विषयमा सरोकारवाला निकायसँग छलफल गर्नुपर्ने अहिलेको अवस्थामा एकाएक वार्षिक शुल्क उठाउन खोज्नु गलत हो । तत्काल यो निर्णय गर्नु उचित हुँदैन ।’

उहाँले लकडाउनलगत्तै यस्ता विषयमा छलफल गरेपछि मात्रै निर्णय गर्ने तयारी भरहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्