संक्रमित पत्रकारको अनुभवः प्रादेशिक अस्पतालमा कोरोनाको उपचार त के पानी पनि पाइएन



भगवती तिमल्सिना, काठमाडौं ।

कोरोना संक्रमणका बारेमा आम नागरिकलाई सत्य, तथ्य र निष्पक्ष सूचनाका माध्यमबाट सुसूचित पार्ने अभियानमा जुटेका जनकपुरका एक पत्रकार आफैं कोरोना संक्रमित हुनुभएको छ ।

पत्रकार वीरेन्द्ररमण कोरोना संक्रमणका विषयमा आम नागरिकलाई सूचना सम्प्रेषण गर्ने क्रममा आफैं संक्रमित हुनुभएको छ । उहाँ नेपाल समाचारपत्रका पूर्वरिपोर्टर तथा मकालु टेलिभिजनका पत्रकार हुनुहुन्छ ।

निकै दुःखी र भावुक हुँदै नेपाल समाचारपत्रलाई उहाँले भन्नुभयो– ‘आज बुधबार बिहान ८ बजेको समयमा घरमै एम्बुलेन्स पठाएर मलाई जनकपुरको प्रादेशिक अस्पतालमा ल्याएर आइसोलेसनमा राखिएको छ । ’

सरकार भन्छ– कोरोना संक्रमितका लागि अस्पतालमा सबै व्यवस्था राम्रो छ तर वीरेन्द्रलाई बिहान अस्पताल ल्याएदेखि साँझ ५ बजेसम्म कुनै स्वास्थ्यकर्मीले भेटेकासम्म छैनन् । ‘एकजना कर्मचारीले सामाजिक दूरी कायम गरी दाल, भात, तरकारी दिए तर पिउने पानी थिएन ।

पानीका लागि चिनेजानेको साथीलाई गुहार्नुप¥यो । यहाँ न अस्पतालको वातावरण छ र कुनै बेड नै छ, बस्न पनि अत्यन्तै गाह्रो छ । म मुटुको औषधि खाइरहेको एउटा बिरामी थुनुवा कोठामा जस्तै बसेको छु’, पत्रकारितामा लामो अनुभव सँगालेका रमणले भन्नुभयो– ‘मलाई कोरोना संक्रमण भएको कुरा राति ११ बजे एक जना साथीले फोन गरेर जानकारी गराउनुभएको थियो, तर मैले पत्याइनँ ।

मैले उहाँलाई त्यस्तो नहोला भनें, माघको पहिलो साता मलाई हर्टयाट्याक भएपछि गंगालालमा उपचार गराएर औषधि खाइरहेको छु । म बिरामी नै भएका कारण भीडभाडमा पनि जान्नँ । मेरो जाने ठाउँ भनेको जिल्लाको नेपाल पत्रकार महासंघ या अफिस मात्र हो ।

फेरि बुधबार बिहान नेपाल पत्रकार महासंघ धनुषाका सभापतिले फोन गर्नुभयो र भन्नुभयो– तपाईं घरबाहिर ननिस्किनु रे, प्रमुख जिल्ला अधिकारीले तपाईंको ट्रेसिङका बारेमा सोध्दै हुनुहुन्थ्यो भन्नुभयो ।’

रमणका अनुसार, वैशाखको पहिलो सातातिर नेपाली सेनाले पनि स्वाब नमुना लिएर उहाँको परीक्षण गरेको थियो, त्यति बेला रिपोर्ट नेगेटिभ आएको थियो । उहाँ भन्नुहुन्छ– ‘अहिले आफू मुटुरोगी पनि भएकोले स्वेच्छाले परीक्षण गराइहालौं न त भनेर गराएको हो ।

मलाई कुनै कोरोना संक्रमणमा देखिने खालको ज्वरो, लामो समय सुख्खा खोकी लाग्ने केही देखिएको छैन । मैले मुटुको औषधि खाएका कारण सामान्य ख्यासख्यास लाग्ने गरेको हो भनेर डाक्टरले भन्दै आएका थिए ।

डाक्टरसँग सल्लाह गर्दा उहाँले तपाईंको चेस्ट पनि क्लियर छ केही देखिँदैन एनटीवायोटिक र एलर्जीको औषधि खानोस् भनेर खोकीको औषधि दिनुभयो । औषधि खाएपछि खोकी पनि रोकिएको छ ।

मुटुको रोगीले औषधि खाँदा सामान्य खोकी लाग्छ भनेर गंगालालका डाक्टरले जानकारी गराएका थिए । तीन दिन अघिबाट मात्र मैले औषधि खान शुरू गरेको हुँ । मैले खाँदै गरेको औषधिको फोटो खिचेर पठाएर डाक्टरलाई भेटी ब्लडप्रेसर पनि जँचाए ठीकै थियो ।

अस्पतालमा पानी खानेसम्म सुविधा छैन भने म त झन् बिरामी भइहाल्छु नि ? मलाई त यो कोरोनाले मार्छ मार्दैन थाहा छैन अरू समस्याले मार्छजस्तो भयो । अस्पतालमा आईसीयूको सेवा भए पनि व्यवस्थित छैन ।’ रमण निकै आत्तिनुभएको छ ।

मंगलबार दिउँसो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितहरूको लिस्ट सार्वजनिक गर्ने क्रममा वीरगन्जमा दुई जना पत्रकारमा कोरोना संक्रमण देखिएको पुष्टि गरेको थियो भने मन्त्रालयले मंगलबारै राति १० बजेर १५ मिनेटमा सार्वजनिक गरेको अर्को लिस्टमा धनुषाका ४० वर्षीय अर्का व्यक्ति कोरोना संक्रमण भएको पुष्टि गरेको थियो, त्यो व्यक्ति पुराना र सक्रिय पत्रकार वीरेन्द्र रमण नै हुनुहुन्छ ।

निरन्तर धनुषा पत्रकार महासंघको अफिसमै बसेर काम गर्ने र समाचार संप्रेषण गर्ने काम गर्दै आएका पत्रकारका साथ अन्य २० जना र बाहिरी दुई जनाले स्वेच्छिक स्वाबको नमुना परीक्षणका लागि पठाएका थिए । तीमध्ये पीसीआर परीक्षणमा एक जना पत्रकार र पत्रकार महासंघ धनुषा रहेकै भवनमा स्टेसनरी पसल गर्ने अर्का युवामा पनि कोरोना संक्रमण पुष्टि भएको बुझिएको छ ।

लकडाउनपछि पत्रकारहरूलाई समाचार सम्प्रेषणमा सहज होस् भन्ने उद्देश्यले धनुषा पत्रकार महासंले त्यहींबाट समाचार पठाउन कम्प्युटर, नेटको व्यवस्था गर्नुका साथै खानाको समेत व्यवस्था गर्दै आएको पत्रकार रमणले जनाउनुभएको छ ।

संक्रमित दुवै जनालाई प्रादेशिक अस्पतालको आइसोलेसनमा राखी उपचार भइरहेको छ । नेपालमा चीनको कोरोना उद्गमस्थलबाट नेपाल आएका पहिलो कोरोना संक्रमित युवा पनि धनुषा जनकपुरकै थिए । नेपाल समाचारपत्रले यसअघि उनको सामाजिक सुरक्षाका लागि ठेगाना परिवर्तन गरी नेपालगन्ज भनेको थियो ।

प्रतिक्रिया दिनुहोस्