स्वर्गीय शाह सम्झाउने त्यो ट्रेडमार्क गोल



कविरस शर्मा

सन् ८० र ९० को दशकताका नेपाली फुटबलको म्याराडोना कहलिएका एकजना हस्ती थिए मणि शाह । जो आज हामी माझ छैनन् । दुई वर्षअघि आजकै दिन उनले यस धर्तीबाट विदा लिएका थिए । सन् १९९७ मा फुटबलबाट सन्यास लिएका स्व।शाहको २०७५ वैशाख ३१ गते ५१ वर्षको अल्पायुमैं निधन भएको थियो ।

नेपाली फुटबलका जानकारहरु स्व।शाहलाई शताब्दीमा एक पटक जन्मिने खेलाडीको संज्ञा दिन्छन् । उनको भौतिक शरीर हामी माझ छैन । तर, उनले नेपाली फुटबलमा पुर्याएको योगदान सर्वकालीन सम्झनलायक छ । बल ड्रिब्लिंग गर्दा बललाई भुईभन्दा माथि उठाएर छक्याउन माहिर उनलाई फ्रिकिका विशेषज्ञ समेत भनिन्थ्यो । उनले फ्रिकिकमा थुप्रै गोलहरु गरेका थिए । जसध्येको एउटा फ्रिकिक गोलले त नेपाललाई स्वर्ण दिलाउन राम सेतुको काम गरेको थियो ।

कुरा सन् १९९३ को बंगलादेशमा आयोजित छैटौं दक्षिण एसियाली खेलकुद ९साग० को हो । ढाकामा भएको उक्त साग सम्पन्न हुने एक दिन अघिसम्म नेपाल पदक तालिकामा स्वर्णविहीन थियो । अनि स्वर्णको अन्तिम आशा फुटबल मात्र थियो । समूह ए मा नेपालले आयोजक बंगलादेशलाई समूहको अन्तिम खेलमा हराएर फाइनल प्रवेश गरेको थियो । जहाँ नेपालको सामना समूह बी को विजेता भारतसँग भएको थियो । खेलको पहिलो हाफसम्म नेपाल १–० ले पछि परेको थियो ।

दोस्रो हाफमा भने नेपाल खेलमा फर्रक्यो । नेपालका जर्सी ७ का उमेश प्रधानले बराबरी गोल गरेका थिए । तर, खेल सकिन ६ मिनेट बाँकी छँदा भारतका विजयनले गोल गरेपछि नेपाल पुनः २–१ ले पछि पर्यो । खेलको समय छोटिंदै थियो । अनि छोटिएको समयसँगै भारतलाई थप दवाबमा राख्दै एकपछि अर्को आक्रमण बुन्नमा ब्यस्त थिए नेपाली खेलाडीहरु । खेल रेफ्रिले खेल टुङ्ग्याउन नाडीमा बाधिएको घडी हेर्न थालिसकेका थिए । ठिक त्यसै समय मणि शाहलाई लडाएपछि नेपाललाई फ्रिकिक हान्ने अवसर प्राप्त भयो ।

खेल सकिन करिब ३० सेकेन्ड मात्र बाँकी थियो । उक्त फ्रिकिकलाई हान्न मणि शाह नै तम्सिए । उनले उक्त फ्रिकिक आकर्षक तरिकाले प्रहार गरे । डी एरियाभन्दा करिब ३ मिटर बाहिरबाट भारतीय मानव पर्खाललाई नघाउँदै गोलपोस्टको बायां बार च्याप्दै गरेको प्रहार गोलमा परिणत भयो ।

त्यसपछि निर्धारित ९० मिनेटसम्म दुवै टोली २–२ को बराबरीमा रोकिए । खेल अतिरिक्त ३० मिनेटसम्म लम्बियो । तर, दुवै टोलीले थप गोल गर्न सकेन । त्यसपछि खेलको विजेताको टुंगो टाईब्रेकरमार्फत गरियो । जसमा भारतलाई ४–३ ले हराउँदै छैटौं सागमा एक मात्र स्वर्ण बोकेर नेपाल घर फर्कियो । फुटबलर मणि हामी माझ छैन। तर, उनको नाम सुन्नासाथ उनको त्यो ट्रेडमार्क फ्रिकिक गोलले उनको योगदानलाई ताजा बनाउने काम गरेको छ ।

प्रतिक्रिया दिनुहोस्