केही खेलाडीको करियर समाप्त हुने संकेत



न्युज अफ नेपाल, काठमाडौं ।

अहिले कोरोनाभाइरस (कोभिड १९) ले विश्वभरिका खेलमा निकै ठूलो असर पु¥याइरहेको छ । लगभग ठूला ठूला प्रतियोगिता स्थगित भइसकेका छन् । जसमा यसै वर्ष हुने ओलिम्पिक, टी २० विश्वकप, टेनिस प्रतियोगिताहरु, साइक्लिङ, बक्सिङ, विश्वकप छनोट खेलहरु, आदि खेलहरु अर्को वर्षसम्मको लागि स्थगित भएका छन् ।

यसले विश्वभरिका खेलाडीलाई घरमै लकडाउन हुन बाध्य तुल्याएको छ । कोरोनाभाइरस समाप्त हुन ढिलो भइरहेमा केही खेलाडीको करियर समाप्त हुने संभावना पनि छ । भारतीय पूर्व कप्तान एमएस धोनी, टेनिसका महान खेलाडी रोजर फेडेरर र सेरेना विलियम्सको करियर कोरोनाले नै सकाउने संभावना बनेको छ ।

एमएस धोनी

भारतीय क्रिकेटका पूर्व कप्तान एमएस धोनी आउँदो जुलाईमा ३९ वर्षको हुनेछन् । उनको अन्तर्राष्ट्रिय खेलमा पुनरागमनको चर्चा चलेको थियो । तर कोरोनाभाइरसको महामारीले धोनीको आसमाथि तुषारापात ल्याइदियो ।

भारतीय प्रिमियर लिग (आईपीएल) अर्को सूचना नभएसम्म स्थगित भएपछि उनको २०२० टी ट्वेन्टी विश्वकप खेल्ने आसा समाप्त हुने देखिएको छ । उनले भारतीय टोलीमा फर्कन अझै कडा प्रयास गर्नु पर्ने भएको छ । किनभने केएल राहुल, रिषभ पन्त जस्ता युवा खेलाडी पहिल्यै टोलीमा पहिलो रोजाईमा परेका छन् ।

रोजर फेडेरर

टेनिसका महान खेलाडी रोजर फेडेरर पनि आगामी अगस्टमा ३९ वर्षमा पुग्नेछन् । स्विस खेलाडी फेडेररको करियर पनि कोरोनाभाइरसकै कारण समाप्त हुने संभावना छ । उनले ग्रान्डस्लाम उपाधिसंख्यामा थप एक उपाधि राख्न चाहन्छन् ।

तर यस वर्ष कुनै पनि ग्रान्डस्लाम प्रतियोगिता हुने छाँटकाँट छैन । अर्को वर्षसम्म फेडेरर ४० वर्षमा लाग्नेछन् । उनले २० ग्रान्डस्लाम जितेर कीर्तिमान राखेका छन् । तर यदि उनको खेल जीवन समाप्त भएमा राफाएल नाडाल (१९ ग्रान्डस्लाम उपाधि) वा नोभाक जोकोभिच (१७ ग्रान्डस्लाम उपाधि) ले उनको कीर्तिमान तोड्न सक्नेछन् । नाडाल र जोकोभिच क्रमशः ३३ र ३२ वर्षका हुन् ।

सेरेना विलियम्स

पछिल्लो दशकमा लगभग एक छत्र राज गरेकी सेरेना विलियम्सको करियर पनि ढलानमा छ । अमेरिकी खेलाडी सेरेनाको एउटै लक्ष्य छ मार्गारेट कोर्टको २४ ग्रान्डस्लाम उपाधिलाई पछाडि पार्नु । तर आमा बनेपछि अघिल्ला ग्रान्डस्लाम प्रतियोगितामा नयाँ तथा युवा खेलाडीसँग हारेकी उनको यो लक्ष्य पुरा हुनेमा शंका भएको छ ।

उनलाई पनि कोरोनाभाइरसको महामारीले असर गर्न सक्नेछ र टेनिसबाट टाढा बनाउने संभावना छ । सेप्टेम्बरमा उनी ३९ वर्षको हुदैछिन् । हालसम्म उनले २३ ग्रान्डस्लाम जितेकी छन् । उनी २५ ग्रान्डस्लाम जितेर सर्वाधिक ग्रान्डस्लाम जित्ने खेलाडीको सूचीमा शीर्ष स्थानमा रहने चाहनामा छिन् ।

प्रतिक्रिया दिनुहोस्