त्यो सदाबहार फ्रिकिक गोल



कविरस शर्मा

फुटबलका पारखीलाई फ्रिकिक शब्द कुनै नौलो होइन । फुटबलमा फाउल गरेपछि खेलमैदानको जुनसुकै स्थानमा पनि प्राप्त हुने अवसर हो फ्रिकिक । फ्रिकिकलाई कलात्मक गोलको अवसरको रुपमा समेत लिइन्छ । कतिपय फ्रिकिक गोलहरु सदाबहार समेत बनेका छन् । म्याचको कठिन मोडमा फ्रिकीककै कारणले खेलको नतिजा बदलिएका पनि छन् । फ्रिकिकलाई म्याचको संजीवनी बुटीको रुपमा समेत लिइन्छ ।

फ्रिकिकको कुरा गर्दा इंग्ल्याण्डका पूर्व कप्तान डेभिड बेकह्याम र ब्राजिलका रोबर्टो कार्लोसको नाम नसुनेकाहरु कमै होलान । कुनै समय फ्रिकिक विशेषज्ञको उपमा पाएका थिए बेकह्याम र कार्लोसले । तिनीहरु बाहेक अन्य थुप्रै उत्कृष्ट खेलाडीहरुको फ्रिकिकबाट भिज्ञ छन् विश्व । त्यसमध्येका एकजना छुटाउन नमिल्ने नाम हो राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान नेपाली सागर थापा । सन् २०११ मा भारतमा भएको साफ च्याम्पियनसिपमा गरेको फ्रिकिक गोलमार्फत विश्व फुटबल जगतबाट उनले मनग्यै तारिफ बटुलेका थिए । उक्त गोलले उनी मात्र होइन, सम्पूर्ण नेपाली फुटबलले विश्वभरबाट वाहवाही पाएका थिए ।

कुरा सन् २०११ मा भारतको नयां दिल्लीमा सम्पन्न साफ च्याम्पियनसिपको हो । समूह “बी” मा माल्दिभ्स, बंगलादेश र पाकिस्तानसँगै रहेको थियो नेपाल । समूहको पहिलो खेलमा माल्दिभ्ससंग १–१ को बराबरीपछि नेपाललाई सेमिफाइनल पुग्नका लागि बंगलादेशलाई हराउनै पर्ने समीकरण बनेको थियो । दोस्रो खेलको निर्धारित ९० मिनेटसम्म गोलबिहिन थियो दुवै टोली । त्यसपछि खेलमा ५ मिनेट इन्जुरी टाईम थपियो । त्यो पनि सकिएको सिट्ठी बज्न करिब एक मिनेटभन्दा कम समय मात्र बांकी थियो । त्यही समय नेपाललाई फ्रिकिकको अवसर मिल्यो । झन्डै मैदानको मध्यभाग जत्तिको दूरीबाट नेपालले उक्त फ्रिकिक हान्ने अवसर पाएको थियो ।

जसलाई प्रहार गर्न तम्सिए कप्तान थापा । उनले करीब ४० मिटरको दूरीबाट उक्त फ्रिकिक प्रहार गरे । प्रहारपछि घुमाउरो पारामा बलले उचाइ लियो । अनि उचाईबाट झर्ने क्रममा सो बल बांया बार च्याप्दै सोझै बंगलादेशको गोलपोष्टभित्र छिर्यो । बलसंगै बंगलादेशका गोलरक्षक पनि गोलपोष्टको जालीमा टांसिए । बंगलादेशी गोलरक्षकले क्षमताले भ्याएसम्मको बल समात्ने प्रयास गर्दा गर्दै बलसंगै उनी पनि जालीभित्र छिरेका थिए । अनि खेलमा १–० को अग्रता बनायो नेपालले । त्यसलगत्तै खेल सकेको सिटृठी पनि बज्यो र नेपाल विजयी बन्यो ।

उक्त जितसंगै नेपालले १६ वर्षपछि प्रतियोगिताको सेमिफाइनलमा प्रवेश पायो । युट्यूबबाट विश्वभर उक्त गोल हेर्नेको संख्या अनगिन्ती पुगेपछि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उक्त गोललाई सन् २००२ को विश्वकपमा ब्राजिलका रोनाल्डिन्होले ईग्ल्यान्डविरुद्ध गरेको गोलसंग तुलना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्