इतिहासमै पहिलो पटक अनलाइन कराते प्रतियोगिता



विजय नेपाली, पोखरा ।

विश्व कोरोनाको प्रकोपमा परेसंगै खेल क्षेत्रमा समेत त्यसको ठुलो प्रभाव परेको छ । कोरोनाको कारणले विश्वका ठुला ठुला प्रतियोगिता समेत रोकिए । जस्को प्रभाव नेपाली खेल क्षेत्रमा समेत परेको पाइन्छ ।

सोहि कोरोना प्रभावलाई समेत अवसरको रुपमा लिदाँ करातेमा भने नयाँ अभ्यास शुरुगरिएको छ । नेपाली कराते इतिहासमा पहिलो पटक अनलाइन बाटै कराते प्रतियोगिता सम्पन्न भएको छ । कोरोनाको कहलाई समेत अवसरको रुपमा लिदैँ लम्जुङ जेसिजको आयोजनामा प्रथम नेसनवाइड एकल अनलाईन कराते प्रतियोगिता च्याम्पीयनसिप २०२० सम्पन्न भएको छ । मस्र्याङ्दी कराते डोजोको प्राविधिक सहयोगमा भएको प्रतियोगिताको पुरुष तर्फ गोर्खाका बुद्ध लामा प्रथम, काठमाण्डौँका प्रिन्स स्याङतन द्धितीय र कास्कीका प्रभात पुन तृतिय घोषित भए ।

त्यस्तै महिला तर्फ कास्कीका विमला नेपाली प्रथम, रुपेन्देहिकी रस्मी पाण्डे र कास्कीकै मसिना राई तृतिय घोषित भए । ४० भिडियो प्राप्त भएको उक्त प्रतियोगितामा पुरुष तर्फ १७ र महिला तर्फ १३ भिडियो अन्तिम प्रतिस्पर्धाको लागि छनोट भएको थियो । विश्व कराते महासंगको नियममा रहेर प्रतियोगिता आयोजना गरिएको थियो । प्रतियोगितामा भिडियो भने खेलाडीले ह्वाट्स एप र मेसेन्जर मार्फत पठाएका थिए । बैशाख १ गते देखि ५ गते सम्म भिडियोको लागि आवेदन राखिएको थियो भेन ६ गते छनोट गरि ७ गते नतिजा सार्वजानीक गरेको लम्जुङ जेसीजका महासचिव तथा मस्याङ्दी कराते डोजोका प्रमुख प्रेम गुरुङले जानकारी दिए ।

नेपाली इतिहासमा पहिलो पटक आयोजना गरिएको प्रतियोगितामा २ दिन सम्म कुनैपनि भिडियो प्राप्त नभएको र खेलाडीले विश्वास नगरी हावा भने पनि तेस्रो दिनबाट भने भिडियो आएको उनले बताए । खेलाडीले लक डाउनको समयमा पनि आफ्नो खेल तथा प्रशिक्षणलाई जारी राखोस भन्ने हिसाबले प्रतियोगिता आयोजना गरेको उनले बताए ।

“घरमै भए पनि अभ्यास गरोस भन्ने चाहाना हो र यस्लाई सुनौलो अवसरको रुपमा लिने सोचको साथमा प्रतियोगिता आयोजना गरिएको” गुरुङले भने । प्रतियोगिताको विजेतालाई १ हजार ५ सय, द्धितीयहुनेलाई १ हजार र तृतियहुनेलाई ५ सय रुपैँयाको साथमा प्रमाणपत्र समेत प्रदान गरिएको उनले जानकारी दिए ।

खेलाडीहरु घरमै बस्ने अवस्था भएको र अभ्यास गर्नपर्छ भन्ने भावना समेत जगाउने लक्ष्यका साथ प्रतियोगिता आयोजना गरिएको उनको भनाइ छ । कोरोनाले समस्यामात्र नभइ अवसर समेत सृर्जना गर्नुका साथै अनलाइन मार्फत अझै ठुलो प्रतियोगिता समेत गर्न सक्ने र लकडाउनले हरेक चुनौतीलाई सामना गरेर अवसरको रुपमा निल सिकाएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्