ओखलढुगांका चौरीगाई रसुवासम्म निकासी



लिला सुनुवार, ओखलढुंगा ।

उच्च हिमाली भेगमा पालिने चौरीगाई ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकाबाट नेपालको विभिन्न भागका चौरीपालक कृषकले लाने गरेको पाइएको छ । यहाँबाट निकासी हुने चौरीगाई सोलुखुम्बु, सिन्धुपाल्चोक, ताप्लेजुङदेखि रसुवासम्म निकासी हुने गरेको पाइएको हो ।

चालु आर्थिक बर्षमा यो गाउँपालिकाका विभिन्न भागबाट १ सय ४८ वटा चौरीगाई अन्यत्र निकासी भएको खिजीदेम्बा गाउँपालिकाको तथ्यांकमा उल्लेख छ ।

ब्याउने अवस्थामा रहेको चौरीगाईलाई ४० देखि ४५ हजार, दुहुनो चौरीलाई ५० देखि ५५ हजार र याकलाई ९० हजारदेखि १ लाख रुपैयाँसम्म पर्ने खिजीदेम्बा ६ चित्रेका चौरीपालक कृषक लाक्पा गेल्बु शेर्पाले बताए । चौरीपालक कृषकहरूले चौरीको दूध, घ्यू, छुर्पिजस्ता पदार्थहरू उत्पादन गरी चौरीबाट आम्दानी लिने गरेका छन् । गाउँपालिकाले चौरी निकासी गर्नेहरू बाट प्रति चौरी ५ सय रुपैयाँका दरले राजश्व लिने गरेको छ ।

चौरीपालनबाट मनग्गे आम्दानी हुने भए पनि चरिचरणको लागि क्षेत्र निर्धारण नगरिँदा यो व्यवसायमा संकटमा पर्दै आएको छ । गाउँपालिकाले चौरीपालक कृषकहरू लाई सहयोग गर्ने योजना रहेको भए पनि माग नआउँदा सहयोग गर्न नसकिएको खिजीदेम्बा गाउँपालिका अध्यक्ष वेदबहादुर रोकाले बताए । कृषकहरूले आवश्यकता अनुसारको माग गरेमा सहयोग गरिने समेत अध्यक्ष रोकाको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्