तपाईंको सबैभन्दा ठूलो क्षमता !



प्रेम रावत

मानिससँग भएको क्षमता के हो ? जुन तपाईंले पाउनुभएको मानिसको शरीर, जीवन छ– यसमा यो आफ्नो जीवनलाई सफल बनाउन सक्ने क्षमता छ। एकातिर प्रविधि छ– फोन छ, सेटलाइट फोन छ।

मानिस जहाँसुकै होऊन्, ती फोनबाट कुरा गर्न सक्छन्। ठूला–ठूला भवन, कार, जहाज, कम्प्युटरहरू छन्। तर ती कुनै पनि चिजबाट मानिसले शान्ति प्रदान गर्न सक्दैनन्। किनभने, यदि ती सबै चिजले शान्ति हुन्थ्यो भने अहिले संसारका सबै ठाउँ शान्तिमय भइसक्नुपथ्र्यो।

तपाईंले यदि कुनै भान्सेको अघि भएको टेबुलमाथि भिन्डी राखिदिनुभयो भने त्यस भिन्डीलाई देख्नेबित्तिकै उनले सोच्छन्, ‘यसको म तरकारी पकाउँछु।’ जसलाई खाना पकाउन आउँदैन, उसले त्यसलाई देखेर यो सोच्छ, ‘कसैले यो भिन्डीको तरकारी पकायो भने मैले खान पाउँछु।’

जुन हाम्रो हेर्ने दृष्टिकोण छ, त्यसैअनुसार हामी चिजहरूलाई हेर्दछौं। सृष्टिकर्ताले त त्यही रूपमा हामीलाई बनाए किनभने हामीभित्र एउटा क्षमता छ, एउटा शक्ति छ। त्यसलाई हामी भुल्छौँ।

त्यस क्षमतालाई हामी प्रयोग नै गर्दैनौँ। हामीसँग जुन बुझ्न सक्ने क्षमता छ, त्यहीअनुसार हामी बुझ्ने कोशिश गर्दछौँ। कसैसँग कुनै क्षमता छ भने उसले आफ्नो त्यही क्षमतालाई प्रयोग गर्दछ। कसैलाई कम्प्युटर चलाउने ज्ञान छ त कसैसँग कार चलाउने सीप छ। तर, यस्तो कुन चिज होला, जुन हामी सबैभित्र छ ?

हामीलाई मानिसको शरीर प्राप्त भएको छ। यसबाट हामी के गर्न सक्छौँ ? यो हामीले किन पायौँ त ? त्यो लक्ष्यलाई बुझ्नुहोस्, जसका लागि यो जीवनलाई पाएका छौँ।

फोन छ, सेटलाइट फोन छ। मानिस जहाँसुकै होऊन्, ती फोनबाट कुरा गर्न सक्छन्। ठूला–ठूला भवन, कार, जहाज, कम्प्युटरहरू छन्। तर ती कुनै पनि चिजबाट मानिसले शान्ति प्रदान गर्न सक्दैनन्। किनभने, यदि ती सबै चिजले शान्ति हुन्थ्यो भने अहिले संसारका सबै ठाउँ शान्तिमय भइसक्नुपथ्र्यो।

एकपटकको कुरा हो। एउटा गाउँमा तीन भाइ छोराहरू आफ्ना आमाबाबुसँगै बस्थे। तिनका बाबुआमाहरू बितेपछि तीनै भाइहरूले सल्लाह गरे– ‘अब के गर्ने होला ?’ तिनीहरू तीनै जनाले फरक–फरक दिशामा गएर काम गर्ने विचार राखे।

आफ्नो भाग्यअनुसार जस्तो हुन्छ त्यही गर्ने भन्ने निर्णय पनि भयो। अलि–अलि उनीहरूको खेती थियो। जमिन र एउटा घर थियो। जे–जे उनीहरूसँग थियो, सबैलाई बेचेर सुन किने अनि त्यसलाई तीन भाग लगाएर बाँडे। सल्लाहबमोजिम तीनजना नै हिँड्ने भए। पाँच वर्षपछि यही ठाउँमा भेट्ने है भनेर निधो पनि गरे।

त्यसपछि आ–आफ्नो भाग्यलाई हेरौँला भनेर तीनै जना आ–आफ्नो दिशालाई पक्रेर बाटो लागे।एक भाइचाहिँ भक्तिभाव भएका व्यक्ति थिए। उनले आफ्नो कुटीमा एउटा सानो मन्दिर बनाएर त्यसमा सुन सजाएर राखे। दिनदिनै त्यसको पूजा गर्दथे। भजन–किर्तन गर्ने गर्दथे। त्यसमा प्रसाद चढाउँथे।

उनले सुनलाई दिनदिनै प्रार्थना गरेर भन्थे, ‘हे सुन ’ तिमीसँग यस्तो शक्ति छ, तिमी मेरो दरिद्रतालाई भगाउन सक्छौ।’ उनको अवस्था भने दिनदिनै बेहाल भइरहेको थियो। उनीसँग लगाउने लुगा पनि थिएन। उनले भिख मागेर खानाको प्रबन्ध गर्नुपरिरहेको थियो। तर पनि, उनले सुनलाई अति श्रद्धापूर्वक भक्ति गरिरहन्थे।

अर्को भाइ लेखक थिए। उनले एउटा दराज बनाएर त्यसमा सुनलाई राखे। अनि, सुनका बारेमा किताब लेख्न शुरू गरे– ‘सुन कति राम्रो हुन्छ ⁄ सुनबाट मानिसले के–के मात्र पाउँदैन र ? सुनबाट के–के सम्भव हुँदैन ? सुन त भगवान्को अद्भूत देन हो !

यसमा मेरो दरिद्रतालाई हटाउन सक्ने क्षमता छ।’ उनले सुनका बारेमा ठूला–ठूला किताब लेख्न शुरू गरे। उनको पनि त्यही हालत भयो। लाउनका लागि लुगा भएन। खानका लागि भिख माग्नुपर्ने भयो तर उनी किताब लेख्नमै मस्त थिए।

तेस्रो भाइ पनि अर्कै दिशातर्फ गएका थिए। उनले यसो सोचे, यो सुनलाई राखेर के फाइदा ? उनले सुनलाई बेचिदिए। सुन बेचेर प्राप्त भएको पैसाबाट एउटा ठूलो खेत किने। खेतीका लागि गोरु र हलो किने। त्यसपछि उनले आफ्नो खेतमा खूब मिहिनेत गरे।

अन्नबाली पाकेपछि उनले आपूmलाई चाहिने जति अन्न राखेर बाँकीलाई बेचिदिन्थे। यस्तो गर्दागर्दै ती भाइ भने निकै धनी भए। उनले आफ्ना लागि एउटा नयाँ घर किने। नयाँ कार, नयाँ–नयाँ कपडा किने। खानपिनका लागि पनि मीठा–मीठा चिज किन्थे।

पाँच वर्ष बित्यो। तीनै जना दाजुभाइलाई बाचाअनुरूप एकपल्ट भेट्ने मन भयो। सबै जना के–कस्ता भइयो त भनेर तोकिएको ठाउँमा भेला भए।
पहिलो भाइ– उनको लुगा फाटेको अनि टालेको देखिन्छ। कमजोर देखिन्छ। कपाल पनि लामो–लामो छ ! आफ्नो हातमा ‘सुन, सुन !’ भनेर लेखेका।

सुनकै भजन गाइरहेका थिए, ‘सुन तिमी कति शक्तिशाली छौ, कति बलवान् छौ !’ पहिलो भाइसँग कुरा भयो, ‘भाइ तिमीले के ग¥यौ ?’

उनले भने, ‘मैले त मेरो सुन राख्नलाई एउटा सुन्दर मन्दिर बनाएँ। त्यस मन्दिरमा सुनलाई राखेर म त दिनदिनै पूजा गर्छु। मलाई त विश्वास छ, एक न एक दिन मेरो सुनले मेरो दरिद्रतालाई हटाउनेछ।’

दोस्रोचाहिँ भाइको पनि हालत त उस्तै थियो। पुरानो फाटेको कपडा, हातमा किताब बोकेका ’ उनले भने, ‘मैले त एकदमै राम्रो दराज बनाएर त्यसमै सुन राखेको छु। मैले यो सुनका बारेमा धेरै किताब लेखेँ। मलाई त पूरा विश्वास छ– एक न एक दिन मेरो सुनले मेरो दरिद्रतालाई अवश्य हटाउनेछ।’
दुवै भाइपछि अब तेस्रोचाहिँ भाइलाई सोधे, ‘तिमीले सुनलाई के ग¥यौ ?’

उनले भने, ‘मैले त पहिलो दिनमै आपूmले पाएको सुनलाई बेचिदिएँ।’ दुवै भाइ एकदम आश्चर्यचकित भएर भने, ‘बे..चि..दि..यौ !’

उनले भने, ‘हो ! मैले त बेचिदिएँ। त्यसबाट मलाई जुन पैसा प्राप्त भयो, त्यसबाट मैले जमिन किनेँ। घर बनाएँ। मेरो त दरिद्रता हटिसक्यो। मसँग त सबैथोक छ। त्यो सुनमा दरिद्रता हटाउने क्षमता थियो र मैले आफ्नो दरिद्रतालाई भगाएँ।’

त्यसै गरी, मानिसको जीवन पनि एउटा सुनजस्तै हो। तर, समय रहँदै हामी यसलाई कदर गर्न जान्दैनौँ। हामी आफ्नो भाग्य खुल्ने पर्खाइमा रहन्छौँ। कोही आउँछ र हाम्रो भाग्य खोलिदिन्छ भन्ने सोच्छौँ। यही पर्खाइमा हामी पूरै जीवनलाई खेर फाल्छौँ। यो मानिसको जीवनलाई कसरी सदुपयोग गर्ने भन्ने कुराका बारेमा हामी कहिल्यै सोच्दैनौँ।

तपाईंको श्वास आइरहेको छ र गइरहेको छ। तपाईं जीवित हुनुको प्रमाण नै यही हो। यो सृष्टिकर्ताको कृपा हो र उनी तपाईंभित्र छन्। जबसम्म तपाईंमा यो कृपा रहन्छ, तपाईं जीवित हुनुहुन्छ, जुन दिन यो कृपा समाप्त हुन्छ त्यस दिनबाट केही पनि रहँदैन। जस्तो– औँठी हुन्छ। औँठी त एउटा बट्टामा किनिन्छ। औँठीलाई त्यो बट्टामा राखुन्जेलसम्म त्यस बट्टाको खूब जतन गरिन्छ।

त्यो औँठीलाई बट्टाबाट निकालेपछि त्यो बट्टाको कुनै मूल्य नै रहँदैन। त्यसै गरी, मानिसको शरीर पनि एउटा बट्टाजस्तै हो। जबसम्म बट्टारूपी मानिसको शरीरमा श्वास आउने र जाने क्रम रहन्छ, यो बट्टा बहुमूल्य हुन्छ।

जुन दिन यसमा श्वास आउन–जान बन्द हुन्छ, यो बट्टाको पनि कुनै मूल्य हुँदैन। तर, जबसम्म यसमा श्वास आइरहन्छ, गइरहन्छ तबसम्म यस बट्टाको मूल्य त्यत्तिकै हुन्छ, जसरी त्यो औँठीको मूल्य रहन्छ।

जीवनरूपी यस उपहारलाई खेर जान नदिनुहोस्। आफ्नो हृदयको तिर्खालाई मेटाउनुहोस्, जुन तपाईंको हृदयले प्रत्येक श्वास सँगसँगै तपाईंलाई भनिरहेको छ ! आफूभित्र रहेको परम् शक्तिलाई चिन्नुहोस्। त्यो परम् शान्तिको अनुभव गर्नुहोस्, जसलाई पाएपछि कुनै सुख र आनन्दको इच्छा रहँदैन।

तपाईंमा पनि यो जीवनलाई सदुपयोग गर्न सक्ने सामथ्र्य छ। अनि, आफ्नो जीवनलाई सुख र आनन्दद्वारा भर्न सक्नुहुन्छ। प्रत्येक व्यक्तिमा यो क्षमता हुन्छ। जबसम्म तपाईं जीवित हुनुहुन्छ, तपाईं आफ्नो जीवनमा त्यस श्वासरूपी चिजको अनुभव गर्न सक्नुहुन्छ। जुन तपाईंलाई अर्को पटक प्राप्त हुँदैन।

यसको अनुभवमा साँचो सुख र आनन्द छ। यदि तपाईंले साँचो सुख र आनन्दको अनुभूति गर्नुभयो भने तपाईंको जीवन सफल हुनेछ।

(मानवता र शान्ति विषयका अन्तर्राष्ट्रिय वक्ता प्रेम रावतको सम्बोधन। संकलित एवं प्रस्तुतीकरण : डा. प्रेमराज ढुङ्गेल।)

प्रतिक्रिया दिनुहोस्