पाटन दरबार क्षेत्रमा पुनर्निर्माण



सुनील महर्जन

पाटन दरबार क्षेत्रका सम्पदाको पुनर्निर्माण कार्य थाल्दा बाहिर खासै प्रचारप्रसार गरिएको थिएन। भूकम्पपछि काठमाडौं उपत्यका संरक्षण कोषले हल्ला नगरी चुपचाप पुनर्निर्माणको कार्य थालेको थियो। अहिले सम्पदा पुनर्निर्माणले गति लिएको छ।

भूकम्पले क्षतिग्रस्त सम्पदा कृष्णमन्दिर, विश्वनाथ मन्दिर र चारनारायण मन्दिर पुनर्निर्माणको जिम्मा काठमाडौं उपत्यका संरक्षण कोषले लिएको थियो। ती सबै मन्दिरको पुनर्निर्माणको कार्य सम्पन्न भइसकेको छ। दरबार क्षेत्रमा नै रहेका चार नारायण मन्दिर र हरिशंकर मन्दिर पुनर्निर्माणको काम सकिएको छ।

दरबार क्षेत्रको महारानी पोखरीमा भाइदेगःको पुनर्निर्माण भइरहेको छ। १९९० सालको भूकम्पमा भाइदेगः मन्दिर भत्किएको थियो। त्यसपछि परम्परागत वास्तुकलामा ध्यान नदिई मन्दिर बनाइएको थियो। २०७२ सालको भूकम्पले सो मन्दिर लडेपछि १९९० सालभन्दा अघिको शैलीमा सो मन्दिर पुनर्निर्माण भइरहेको छ। दुई वर्षअघि सो मन्दिरको पुनर्निर्माण थालिएको हो। सो मन्दिरको पुनर्निर्माणमा अहिले काठका थाम, ढोका, बुट्टा बनाउने काम सकिएको छ।

पाटन दरबार क्षेत्रमै मन्दिरका २२ वटा टुँडाल पनि भेटिएपछि मन्दिर पहिलेकै शैलीमा बनाउन थालिएको कोषका निर्देशक रोहित रञ्जितकारले बताउनुभयो।

पुराना काठलाई सम्पदाअनुसार वर्गीकरण गरी काम नै नलाग्ने बाहेककालाई पुनः प्रयोग गरिएको छ। सम्पदामा प्रयोग भएका पुराना काठ सकेसम्म संरक्षण गरी उपयोग गर्ने नीति बनाइएको कोषका निर्देशक रोहित रञ्जितकारले बताउनुभयो। ‘बिग्रेको, भाँचिएको काठ पनि मर्मत हुनेसम्मका बनाउँदै छौं।’ –उहाँले भन्नुभयो। भाँचिएर बाँकी भएका काठलाई स्टील पाता, काँटीले नयाँ काठमा गाँसेर प्रयोग गरिएको पनि उहाँको भनाइ छ।

२०७२ सालको भूकम्पले पाटनका सम्पदाहरूमा क्षति पुगेको थियो। दरबार क्षेत्रमा रहेका कृष्ण मन्दिर, चारनारायण मन्दिर, विश्वेश्वर, मणिमण्डप, हरिशंकर मन्दिर, योगनरेन्द्र मल्लको सालिकलगायत सम्पदामा भूकम्पले क्षति पुगेको थियो। पाटन दरबारभित्र रहेका सुन्दरी चोक, उत्तरी तलेजु, दक्षिणी तलेजु, बहादुर शाह बैठक भवन र मूल चोकमा समेत भूकम्पले क्षति पुगेको थियो।

भीमसेन मन्दिर पुनर्निर्माण सरोकार समितिको संयोजनमा भीमसेन मन्दिरको पुनर्निर्माण कार्य भइरहेको छ। बंगलामुखी मन्दिरका साथै अन्य मन्दिरहरू पुनर्निर्माणको चरणमा नै छन्। यता बुंगमतीमा रहेका रातो मच्छिन्द्रनाथलाई ६ महिनाका लागि पाटन ल्याइएको छ। मच्छिन्द्रनाथलाई टंगलस्थित (तबहालमा) मन्दिरमा राखिएको छ। तर, बुंगमतीमा पुनर्निर्माणको काम ओझेलमा पर्दा मच्छिन्द्रनाथलाई आउँदो वर्ष पनि टहरामा नै राख्नुपर्ने पक्का छ।

श्रीलंका सरकारको आर्थिक सहयोगमा निर्माण भइरहेको मच्छिन्द्रनाथको मन्दिर ठेकेदारको लापरबाहीका कारण धेरै वर्षसम्म बन्न सकेन। केही हप्ता अघिमात्रै प्राधिकरण र सरोकालवालाहरूको छलफलबाट मन्दिरको पुनर्निर्माणको काम उपभोक्ता समितिमार्फत गर्ने सहमति भएको छ। काठमाडौं उपत्यकामा रहेका यिनै सम्पदाहरू अहिले रानीपोखरी र बुंगमतीमा जस्तै पुनर्निर्माणको चरणमा नै छन्। यस वर्ष सम्पदा पुनर्निर्माणमा अपेक्षाभन्दा राम्रो भए तापनि अझै धेरै काम गर्न बाँकी नै देखिन्छ।
यस्तै, ठेकेदारी प्रथाको अन्त्य गर्दै उपभोक्ता समितिमार्फत सम्पदा पुनर्निर्माणमा अब्बल ठहरिएको छ, भक्तपुर। भूकम्पले भक्तपुरमा रहेका सयौं सम्पदामध्ये १ सय ३० वटा सम्पदाहरूमा धेरै क्षति पुगेको थियो। करिब ७० प्रतिशत काम सम्पन्न भइसकेको नगरपालिकाले जनाएको छ। भक्तपुरको नगर प्रवेशद्वार, केदारनाथ मन्दिर, त्रिविक्रम मन्दिर, शंकर नारायण मन्दिरको निर्माण सम्पन्न भइसकेको छ। उपभोक्ता समितिमार्फत नै भीमसेन मन्दिर पुनर्निर्माण सकिएको छ। न्यातापोल मन्दिर पुनर्निर्माणको काम हालै शुरू भएको छ।
वत्सल्यदेवी मन्दिरको पुनर्निर्माण नगरपालिकाले आफ्नो रोहबरमा गरिरहेको छ। तर, तान्त्रिक विधिले निर्माण भएको सो मन्दिर छिटो सक्ने रहरमा जथाभावी गर्न नहुने भएकाले निर्माण सकिन अझै समय लाग्ने बताइएको छ।
भक्तपुर दरबार क्षेत्रभित्र प्रवेश गर्नेबित्तिकै अहिले पनि टेको लगाएर राखिएको एउटा दरबार देखिन्छ। त्यो दरबारमा हाल कला संग्रहालय रहेको छ। कला संग्रहालयसँगै रहेको लाल बैठक (सेतो दरबार) मल्लकालमा एउटै थिए। शाहकालमा त्यसलाई टुक्रा पारेर छुट्याइयो। अहिले नगरपालिका कला संग्रहालयलाई आफू मातहत ल्याएर पुरानै ढाँचा दरबार बनाउने गुरुयोजना बनाउँदै छ।
कला संग्रहालय मात्र नभई भक्तपुरमा भत्किएका सबै सम्पदाको पुनर्निर्माणमा जर्मनीले सहयोग गर्ने प्रस्ताव गरेको थियो। जनप्रतिनिधि नहुँदा सम्पदा पुनर्निर्माण गर्ने सम्झौता पनि भएको थियो। तर स्थानीय निर्वाचनपछि त्यो सम्झौता भक्तपुरको हितमा नभएको भन्दै नगरपालिकाले अस्वीकार गरेको थियो।
समग्रमा उपत्यकामा रहेका सम्पदाहरूको पुनर्निर्माण राम्रै देखिए पनि अझै धेरै काम बाँकी नै रहेको देखिन्छ। पाटन र भक्तपुरमा पुनर्निर्माणको काम सन्तोषजनक देखिए पनि काठमाडौंमा भने सम्पदा पुनर्निर्माणका लागि अझै केही वर्ष लाग्ने देखिएको छ। पुरातत्व विभागका अनुसार भूकम्पले क्षतिग्रस्त बनेका सम्पदाको चार वर्ष बित्दा ६० प्रतिशत मात्र पुनर्निर्माण भएका छन्।
९ सय २० सम्पदामध्ये ४ सय सम्पदा मात्र पुनर्निर्माण भएका हुन्। भूकम्पले क्षति भएका सम्पदाको ६० प्रतिशत काम सकिएको र आगामी दुई वर्षमा बाँकी सबै काम सम्पन्न हुने विभागको दाबी रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्