एपीएफ र प्रहरी फाइनलमा

0
Shares

न्युज अफ नेपाल, नेपालगञ्ज ।

डिफेन्डिङ च्याम्पियन एपीएफ क्लव र नेपाल पुलिस नेपालगञ्जमा जारी प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेका छन् । एपीएफले ह्वाङवाङ्जी न्यू डायमण्ड एकेडेमी र नेपाल पुलिसले नेपाल आर्मीलाई पराजित गर्दै फाइनलमा पुगेका हुन् । पहिलो खेलमा एपीएफले न्यू डायमण्डलाई सोझो सेट पराजित ग¥यो । एपीएफले २६–२४, २५–१७ र २५–१८ को सेटमा न्यू डायमण्डलाई पाखा लगायो ।

पहिलो सेटमा कडा टक्कर दिएको न्यू डायमण्ड त्यसपछिको सेटमा प्रतिस्पर्धामा आउनै सकेन । न्यू डायमण्डका स्टार खेलाडी प्रतिभा माली नहुँदा टीम कमजोर देखियो । प्रतियोगिताको दाबेदार मानिएको एफीएममा पनि स्टार खेलाडी सरस्वती चौधरी नेपालगञ्ज आएकी छैनन् । माली र चौधरी दुवै घाइते छन् । एपीएफकी पूजा चौधरी प्लेयर अफ द म्याच भइन् । दोस्रो खेलमा नेपाल पुलिसले आर्मीलाई ३–२ सेटमा पराजित ग¥यो ।

यी दुईका बीचमा कडा प्रतिस्पर्धा भएको थियो । पहिलो सेट आर्मीले २५–२३ ले जित्यो । दोस्रो र तेस्रो सेट क्रमशः पुलिसले २५–२०, २५–२१ ले जित्यो । चौथो सेट आर्मीले २५–१४ ले जित्यो । अन्तिममा पुलिसले १५–८ ले आर्मीलाई पाखा लगायो । नेपालगञ्ज रंगशालाको कभर्ड हलमा चलिरहेको प्रतियोगिताको फाइनल बुधबार दिउँसो दुई बजे हुने आयोजकले जनाएका छन् ।