भक्तपुरमा तीनदिने पुस्तक प्रदर्शनी हुने



न्युज अफ नेपाल, भक्तपुर ।

भक्तपुरमा तीन दिने पुस्तक प्रदर्शनी हुने भएको छ । फागुन २, ३ र ४ गते भक्तपुरको कमलविनायकस्थित लामगाल चौरमा हुने सो प्रदर्शनीको तयारी अन्तिम चरणमा पुगेको आयोजक आरम्भ नेपालले जनाएको छ ।

प्रदर्शनी आयोजक नेपालले प्रर्दशनीको विषयमा आयोजना गरेको पत्रकार सम्मेलनमा स्थानीय युवाहरुलाई स्थानीय स्रोत साधन प्रयोग गरी विभिन्न सीपमुलक तालिमहरु सञ्चालन गर्ने शिक्षा, स्वास्थ्य, संस्कृति र पर्यटनसंग सम्बन्धित विभिन्न कार्यक्रमहरु गरी सामाजिक विकासमा टेवा पुर्याउने उद्देश्यले स्थापना गरिएको संस्थाले पुस्तक प्रदर्शनी गर्न लागेको प्रदर्शनीका सहसंयोजक दिनेश प्रधानले बताए ।

‘अध्ययन गर्ने बानीले हामी भित्र असल मानवको गुण जन्माउँछ । यही कुरालाई मनन् गर्दै भक्तपुर जिल्ला र वरीपरीका जिल्लाहरुमा बसोबास गर्ने नागरिकहरुमा असल अध्ययनको बानी र पुस्तक संस्कृतिको उत्थान गर्ने उद्देश्यले पुस्तक प्रदर्शनीको आयोजना गर्न लागेका हौं ।’ उनले भने ।

उनले प्रदर्शनीले विभिन्न विधा, विषय र क्षेत्रका किताबहरुलाई एकै स्थलमा जम्मा गरी किताब पारखीहरुलाई किताब किनेर पढ्ने वातावरण बनाउन सहयोग पुर्याउने बताउँदै प्रदर्शनीमा कला, संस्कृति, इतिहास, साहित्य, चिकित्सा, पकवान, दर्शन, आदि सम्पूर्ण विषयका किताबहरु एउटै स्थलमा उपलब्ध हुने बताए । प्रदर्शनीमा कम्तीमा पनि तीन लाख पुस्तकहरु प्रदर्शन गरिने उनको भनाइ छ ।

प्रदर्शनीको उद्घाटन नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छेले गर्ने निश्चित भएको बताउँदै आयोजक नेपालका अध्यक्ष बालकृष्ण बनमालाले प्रदर्शनीमा बिभिन्न प्रकाशकहरुको साथै फोटो प्रदर्शनी, नेवारी परिकारका खानाहरुको स्टल, भक्तपुरको कला संस्कृतिसँग सम्बन्धित चित्रकला/मुर्तिकला प्रदर्शनी, नवदुर्गा जात्रासङ्ग सम्बन्धित मुकुन्डो प्रदर्शनी समेत रहने जनाए ।

‘यसबाहेक ३ दिन प्रदर्शनीको दौरानमा हरेक दिन एउटा-एउटा विशेष कार्यक्रम पनि हुनेछन् ।’उनले सो अवसरमा कथा वाचन कार्यक्रम, गजल तथा कविता वाचन कार्यक्रम, भक्तपुर महोत्सव र पर्यटन बारे अन्र्तक्रिया, बाल कविता प्रतियोगिता समेत हुने बताए ।

प्रतिक्रिया दिनुहोस्