मृत चित्तल गाडियो



किरन धामी दार्चुला ।

बैतडीको एम्बुलेन्सबाट प्रहरीले बरामद गरेको मृत चित्तल गाडिएको छ । आइतबार दिउँसो करीब साढे १२ बजे डिलाशैनी गाउँपालिका बैतडीको एम्बुलेन्सबाट गोकुलेश्वर प्रहरीले बरामद गरेको मृत चित्तल पत्रकार, सुरक्षाकर्मी, दार्चुला जिल्ला अदालत, सरकारी वकिल, जिल्ला प्रशासन कार्यालयका कर्मचारीको रहोबरमा मंगलबार डिभिजन वन कार्यालय दार्चुलाको नर्सरी परिषरमा गाडिएको हो ।

५ फिट ३ ईन्च लम्बाई, २ फिट ६ ईन्च उचाई तथा सेतो खैरा बुट्टा भएको चित्तल नामको जंगली जनावरलाई लामो समय सम्म भण्डार गरी सुरक्षित राख्न नसकिने भन्दै परिक्षणका लागी नमुना मासु झिकेर गाडिएको डिभिजन वन कार्यालय दार्चुलाका सहायक वन अधिकृत अमर सिंह धामीले जानकारी दिनुभयो ।

नमुना मासुलाई परिक्षणका लागी प्रयोगशाला पठाउने उहाले बताउनुभयो । डिभिजन वन कार्यालय अन्तर्गत चौलानी सव डिभिजन वन कार्यालयको क्षेत्र भित्र ईलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट खटिएको प्रहरी सहायक निरिक्षक देव दत्त भट्ट नेतृत्वको टोलीले आइतबार डिलाशैनी गाउँपालिकाको सुदुरपश्चिम प्रदेश ०१–००१ झ ३४६ नम्बरको एम्बुलेन्सबाट मृत जंगली जनावर चित्तल बरामद गरेको थियो ।

वन्यजन्तु ओखेटोपहार ओसारपसार मुद्दामा एम्बुलेन्स चालक बैतडीको डिलाशैनी गाउँपालिका वडा नम्बर ३ बोगडीका २९ वर्षिय महेश बोहरालाई पक्राउ गरी अनुसन्धान भैइरहेको उहाले बताउनुभयो ।

अनुसन्धानका लागी सोमबार दार्चुला जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरिएको समेत सहायक वन अधिकृत धामीले जानकारी दिनुभयो । चालक बोहराले एम्बुलेन्समा चित्तल कहाँबाट लिएको हो, कसले मारेको हो भन्ने बारे अनुसन्धान सकिए पछि मात्रै भन्न सकिने उहाले बताउनुभयो ।

चित्तल तस्करीमा प्रयोग भएको डिलाशैनी गाउँपालिकाको एम्बुलेन्स डिभिजन वन कार्यालयमा राखिएको छ, भने चालक बोहारालाई प्रहरी हिरासतमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्