प्रधानमन्त्रीलाई सहयोग गरौं

0
Shares

‘सिंहदरबारको अधिकार गाउँघरमा होइन, सिंहदरबारको भ्रष्टाचारी प्रवृत्तिको विकेन्द्रीकरण’ भन्ने व्यंग्यात्मक जनगुनासो आमरूपमा छ।

प्रधानमन्त्रीले यो अवस्थालाई नजरअन्दाज मात्र गरेर पुग्ने स्थिति छैन। किनकि यो सर्वसाधारणको जीवन र जीविकासँग प्रत्यक्ष गाँसिएको अत्यन्त संवेदनशील विषय हो।

यहाँसम्म कि सत्तारुढ पार्टीकै कैयौँ जिम्मेवार नेता र सचेत अगुवा कार्यकर्ताले समेत यस परिस्थितिलाई हलुकारूपमा लिएको पाइन्छ।

आज जुन परिस्थिति निर्माण हुँदै गएको छ, यो शुभसंकेत होइन। यसले प्रधानमन्त्रीको अठोट, इच्छा र संकल्पमा धक्का अथवा ठेस पुर्याउन सक्छ।

सरकारबाट भए/गरेका राम्रा काम ओझेलमा पर्न जान्छन् र गलत कामकुरा सतहमा आउँछन्, जस्तो अहिले हुन थालेको छ।आमनेपाली र नेपालका शुभेच्छुक विश्वसमुदाय प्रधानमन्त्री ओली कुनै पनि हालत र अवस्थामा सफल हुनै पर्छ, असफलतातर्फ धकेलिने उहाँका निम्ति कुनै वैकल्पिक बाटो नै नरहेको मान्यतामा छन्।

नेपालमा केही गर्नु छ भने उहाँले नै गर्नुपर्छ, सुखी नेपाली र समृद्ध नेपालको अठोट र संकल्प उहाँबाहेक अरूबाट पूरा हुन सक्दैन भन्ने आमधारणा पाइन्छ।

सुखी नेपाली र समृद्ध नेपाल निर्माणका मुख्य अवरोध भनेका भ्रष्टाचार र कुशासन नै हुन्, जसको निवारणको दायित्व, अधिकार र क्षमता राजकीय र कार्यकारिणी अधिकारयुक्त प्रधानमन्त्री ओलीसँग मात्र छ।

यथार्थमा नेपाल र नेपालीको भाग्य र भविष्य यति बेला प्रधानमन्त्री ओलीका अठोट, अडान र भूमिकामा अन्तरनिर्भर छ। यो कुनै वाद, सिद्धान्त वा अमुक दलको अस्तित्व र प्रतिष्ठासँग अन्तर्निहित विषय होइन।

यो यसकारण कि आमजनताको चासो र चिन्ता कुनै वाद वा सिद्धान्तमा परिलक्षित नभई लोककल्याणकारी शासन प्रणालीमा केन्द्रित छ, जुन यथार्थसँग प्रधानमन्त्री अनभिज्ञ हुनुहुन्न।

नेपाली जनताको पहिलो आवश्यकता र स्वार्थ भ्रष्टाचारमुक्त सुशासन हो। जनताको कुनै ठूलो अपेक्षा र चाहना छैन। अति सामान्य जनताको श्रेणीबाट उठेर यो स्थानमा आइपुग्नुभएका प्रधानमन्त्री ओलीलाई यो कुराको राम्रो हेक्का छ।

अतः भ्रष्टाचारमुक्त सुशासन कायम गर्न ओलीले दृढ अठोट र इच्छाशक्तियुक्त कठोर निर्णय लिएर अघि बढ्ने उपयुक्त समय आएको छ। भ्रष्टाचार र कुशासन उहाँलाई विरासतको रूपमा प्राप्त भएका हुन्। यी दुई विधामा उहाँले निर्मम प्रहार गर्नै पर्छ।

राष्ट्र र जनताको स्वार्थ र हितलाई सर्वोपरि मानेर आजको अवस्थामा आइपुग्नुभएका प्रधानमन्त्रीसामु यसो नगर्नुको अर्को विकल्प छैन।

भ्रष्टाचारका शृङ्खला जे–जत्रा आयतनका किन नहुन्, भ्रष्टाचारका सर्जक र स्रष्टा जोसुकै र जति शक्तिशाली किन नहोऊन्, भ्रष्टाचारको इतिहास र सालनाल जोसुकैसँग जोडिएको किन नहोस्, न्याय र सुशासन कायमका निम्ति आमालाई बाँध्ने, बाबुलाई हान्ने नीतिबाट प्रधानमन्त्री भ्रष्टाचारविरुद्ध खनिनुभएको हेर्न जनता लालायित छन्। उहाँको त्यस्तो अभियानमा साथ सहयोग गर्न जनता तम्तयार छन्।

– भानुभक्त पौडेल, काठमाडौं।