जातीय विभेद अन्त्य गरौं



कुनै समयमा आफूहरू जंगलका राजा भएकाले ठकुरी भएको भनाइ कुसुण्डा, राउटे जातिको छ। फिरन्ते जातिमा पर्ने राउटे जाति कुसुण्डाका प्रजा हुन् भन्ने मान्यता पनि छ। समाजमा कसैले कुनै पनि मनगढन्ते परिभाषा लगाउन सक्छ।

यो खासै अन्यथा होइन। तर जातीय पहिचान छिपाउँदा कुन मानिस कुन समूहको हो, कुन धर्मको अनुयायी हो, उसलाई सरकारले कुन श्रेणीमा राख्ने भन्ने कुरामा अलमल हुन्छ। गाउँघरमा अचेल पनि दुग्धजन्य पदार्थ खान मानेन भने कुसुण्डो भनेर भन्ने गरेको पाइन्छ।

यो भनाइले जंगली वा असभ्य जनाउँछ। कतिपयले आफ्ना बालबालिकालाई गाली गर्नको लागि पनि यो शब्द प्रयोग गरेको पाइन्छ। यो मात्र हैन, अन्य थरहरूलाई गालीको रूपमा भन्ने गरेको सुनिन्छ।

त्यसरी नै नेत्रहीन, अन्य शारीरिक अपांग भएका व्यक्तिलाई चोट पुग्ने गरी गाली गर्ने चलन गाउँघरमा जहाँतहीँ सुन्न पाइन्छ। उपल्लो जात भनाउँदाहरूले तल्लो जातिका भनिने मानिसलाई गालीको शब्द बनाएका हुन्छन्। यो सामाजिक अपराध हो।

तर सानैदेखि लागेको बानी भनेर त्यस्ता शब्दहरू प्रयोगमा आउने गरिरहेका छन्, जसले गर्दा जात छिपाउन बाध्य हुनुपरेको छ। अहिले राजनीतिक परिवर्तन हुनुका साथै सरकारले भत्ता दिने व्यवस्था मिलाएपछि सबै आफ्नो जातमा खुल्न थालेका छन्।

साथै हेपाहा ढंगबाट कसैले आफ्नो जातको प्रयोग गर्दा त्यसको प्रतिकार पनि गर्न थालेका छन्। यसो हुनु जरुरी थियो। किनभने कसैले पनि अरूको जात, थर, रूप, लिंग उच्चारण गरेर कसैलाई पनि हेप्न मिल्दैन।

सामन्तहरूले गरिबहरूलाई जात तोक्ने र हेपेर बोल्ने जुन चलन थियो, त्यो अहिले छैन। कसैले पनि त्यसरी कसैलाई हेप्न मिल्दैन। कुनै पनि समाजमा कोही पूर्व, कोही पश्चिम, कोही उत्तर र कोही दक्षिणबाट आएर बसोबास गरेका हुन्छन्।

सबैको लागि सबै थरीका मानिसको आवश्यकता पर्छ। अनुहारले भन्दा पनि मानिसले जानेको सीप आवश्यकता हुन्छ। कसैले कुन काम जानेको हुन्छ, कसैले कुन सीप सिकेको हुन्छ। त्यो सबै विनिमय गरेर नै समाज टिकेको हुन्छ।

म सर्वेसर्वा हुँ, मैले जे भन्छु त्यो कानुन बन्छ, मैले जस्तो सम्बोधन गर्छु त्यो अकाट्य हुन्छ भनेर अहंता देखाउँदा नै समाजमा उच–नीच, भेदभाव, जातीय असमानता बढेको हो।

मानिसले नै जातीय विभाजन गरेको हो। त्यसैले त्यस्तो जातीय विभाजनलाई सबैले हटाउँदै लैजानु आजको आवश्यकता हो।

– रामबन्धु थापा, मुगु।

प्रतिक्रिया दिनुहोस्