जल पर्यटनमा राज्यको कुनै लगानी छैन



मेघ आले नेपालका नदी, र्‍याफ्टिङ (जलयात्रा) र जलपर्यटन जोडिएको नाम हो । उहाँ सन् १९८५ देखि र्‍याफ्टिङ र सन् १९९५ देखि नेपालका नदी संरक्षण अभियान क्रियाशील हुनुहुन्छ । जल पर्यटनका विविध पक्षसँग जोडिएका नेपाल एसोसिएसन अफ र्रयाफ्टिङ एजेन्सिज (नारा) का उपाध्यक्षसमेत रहनुभएका आलेसँग नेपाल समाचारपत्रकर्मी टीका बन्धनले गरेको कुराकानी ।

नेपालमा जल/नदी पर्यटनको अवस्था कस्तो छ ? 

यो नदी पर्यटनको अवस्थालाई दुई तरिकाबाट बुझ्नुपर्ने हुन्छ । विदेशी पर्यटकको हिसाबले नियाल्ने हो भने त्यति राम्रो अवस्था छैन । नेपालको र्‍याफ्टिङ, कायाकिङ, क्यानोनिङजस्ता गतिविधिमा विदेशी पर्यटकको रुचि हुँदाहुँदै पनि पर्याप्त प्रचार–प्रसार नहुँदा अवस्था सन्तोषजनक छैन । नदी पर्यटनलाई जुन ढंगले प्राथमिकतामा राख्नुपर्ने हो त्यसो नहुँदा र जथाभावी जलविद्युतका हाईड्याम बनाउँदा र्‍याफ्टिङका लागि वल्ड क्लास भनेर चिनिएका भोटेकोशी, मस्र्याङ्दी, कालिगण्डकीको जल पर्यटन खुम्चिने मात्रै होइन, मासिने क्रममा पुगेको छ । हो, हामीलाई जलविद्युत् चाहिन्छ, उर्जा चाहिन्छ तर जलविद्युत्का परियोजना कहाँ निर्माण गर्ने, कति क्षमताको निर्माण गर्ने जस्ता कुराको अध्ययनमा दूरगामी सोचका साथ काम नहुँदा समस्या आइरहेको छ ।

सन् १९९० को दशकमा नेपालमा र्‍याफ्टिङ गर्ने विदेशी पर्यटकको संख्या राम्रो थियो तर सशस्त्र द्वन्द्वकालमा अवस्था खस्कियो । अहिले राजनीतिक समस्या छैन त्यैपनि जल पर्यटनमा युरोपेली पर्यटनको संख्यामा अपेक्षाअनुसार सुधार आउन सकेको छैन । नेपाली पर्यटकले भने निकै चासो लिइरहेका छन् । आधा दिन, एक दिन र रात्रीकालीन बसाइमा नेपालीको संख्या बढ्दै गएको छ ।

संसारकै टप फाइभ र्‍याफ्टिङ रिभरमा कर्णाली पर्छ भने भोटेकोशी संसारकै सातौं उत्कृष्टमा पर्छ । सेप्टेम्बर र अक्टोबर महिनाका लागि सुनकोशी पनि उत्कृष्ट गन्तव्यमा पर्छ । नेसनल जियोग्राफी च्यानलले भोटेकोशीलाई उत्कृष्ट सातौं गन्तव्य भनेर उल्लेख गरिसकेको छ ।

नदी पर्यटनअन्तर्गत कस्ता अभ्यासलाई बुझ्ने ?

नदी पर्यटनको अभ्यास भिन्नै किसिमले अघि बढेको छ । पहिला नितान्त र्‍याफ्टिङ मात्रै हुन्थ्यो नदी किनारामा सामान्य प्रकृतिको क्याम्पिङ हुन्थ्यो । नदी किनारामा अहिलेको जस्तो व्यवस्थित होटल, रिसोर्ट र वीच क्याम्पको अभ्यास भइसकेको थिएन । नेपालको सन्दर्भमा जल पर्यटनअन्र्तगत मुख्यतया र्‍याफ्टिङ, कायाकिङ, क्यानोनिङ, बीच क्याम्पको अभ्यास नै हो । नदीको माथिल्लो भेगमा खास गरी हिमालको काखमा कायकिङ हुन्छ । नेपालको सन्दर्भमा समुद्र सतहको ८० मिटरदेखि एक हजार दुई सय मिटर उचाइ हाराहारीमा र्‍याफ्टिङ हुँदै आएको छ । तर जल पर्यटनका लागि जुन किसिमको मापदण्ड पालना गरिनुपर्ने हो त्यो भइरहेको छैन, सेवा प्रदायक कम्पनीहरुबीच सस्तो मूल्यमा ग्राहक बढाउने अस्वस्थ प्रतिस्पर्धा भइरहेको छ ।

यसले गुणस्तर खस्किन्छ, सेवा दिगो हुँदैन । र्‍याफ्टिङ, कायाकिङ भनेको महंँगो खेल नै हो । र्रयाफ्टिङ भनेको प्याराग्लाइडिङ, बञ्जी, जिप फ्याईङजस्तै हो, चुनौतीका साथ प्रकृतिसँग खेल्ने कुरा हो । पर्यटकलाई प्रदान गर्नुपर्ने आधारभूत सेवा, सुविधा, सुरक्षा अनिवार्य गरियो भने मात्रै गुणस्तर कायम हुने हो ।

राज्यले चाल्नुपर्ने कदम फितलो भएर गुणस्तर खस्किएको हो ? 

पक्कै पनि । जुन रुपमा आधारभूत पूर्वाधार तयार हुनुपर्ने हो त्यस्तो हुन सकेको छैन । र्‍याफ्टिङकै कुरा गर्ने हो भने जुन ठाउँबाट खेल आरम्भ र अन्त्य हुन्छ त्यहाँ कपडा फेर्न मिल्ने व्यवस्था हुनुपर्छ । शौचालय र नुहाउन मिल्ने बाथरुमको व्यवस्था हुनुपर्छ । टे«किङ, पर्वतारोहणमा यस्ता पक्षलाई ख्याल गरिएको छ तर र्रयाफ्टिङ र रिभर टुरिजममा राज्यको तर्फबाट कुनै किसिमको लगानी भएको छैन । आधारभूत पूर्वाधारमा लगानी गर्ने हो भने विदेशी पर्यटकलाई यहाँको जल पर्यटनमा आकर्षित गर्न सकिन्छ । र्रयाफ्टिङ, कायकिङजस्तो जल पर्यटनमा नेपाल वास्तवमै विश्वस्तरीय गन्तव्य ९वल्ड क्लास डेस्टिनेसन० हो ।

विदेशी पर्यटकको रोजाइमा नेपालको जल पर्यटनका गन्तव्य कुन कुन हुन् ?

संसारकै टप फाइभ र्रयाफ्टिङ रिभरमा कर्णाली पर्छ भने भोटेकोशी संसारकै सातौं उत्कृष्टमा पर्छ । सेप्टेम्बर र अक्टोबर महिनाका लागि सुनकोशी पनि उत्कृष्ट गन्तव्यमा पर्छ । नेसनल जियोग्राफी च्यानलले भोटेकोशीलाई उत्कृष्ट सातौं गन्तव्य भनेर उल्लेख गरिसकेको छ । दुःखका साथ भन्नुपर्छ जलविद्युत् आयोजनाका कारण भोटेकोशीमा जलयात्राको भविष्य अब दुई वर्षभन्दा बढी छैन । सरकारले जलयात्रा पनि पर्यटनको आम्दानी र समृद्धिको मुख्य स्रोत र आधार हो भन्ने दूरगामी सोच नराख्दा वल्र्ड क्लास भोटेकोशीमा जथाभावी हाइड्रो पावर बनिरहेका छन् । केही मेगावाट घटाएर हाइड्रो पावर बनाउँदा वल्ड क्लास रिभरको पहिचान गुम्दैन भनेर हामीले पटक–पटक सरकार र अन्य सरोकारवाला निकायलाई ध्यानाकर्षण गरायौं । धेरै कोशिस गर्रयौं तर २७ मेगावाटको लोभमा वल्ड क्लास डेस्टिनेसन सिद्धिदै छ । मस्र्याङ्दी पनि राम्रो गन्तव्य हो, कालीगण्डकीमा पाँच/सात दिनको एक्सपिडिसन हुन्थ्यो त्यो पनि त्यस्तै भइरहेको छ । सरकारले जल पर्यटनलाई उपेक्षा गरे पनि निजी क्षेत्रले आफ्नो प्रयास जारी राखेको छ ।

नेपालमा जल पर्यटनको औपचारिक अभ्यास कहिलेदेखि शुरु भएको मानिन्छ ?

नेपालमा पहिलो र्‍याफ्टिङ शुरु भएको त्रिशुली नदीमा हो । बेलायती नागरिक कर्णेल जोनले सन् १९७२ मा त्रिशुलीमा र्रयाफ्टिङ गर्नुभएको थियो । जोन र उहाँको टिमले सो बेला गरेको र्रयाफ्ट नै पहिलो मानिन्छ । नेपालमा पहिलो व्यावसायिक र्रयाफ्टिङ हिमालयन रिभर एक्पिडिसनले सन् १९७५ देखि शुरु गरेको हो । त्रिशूलीमै पहिलो व्यावसायिक र्रयाफ्टिङ भएको थियो ।

त्रिशूली यस्तो नदी हो, नेपाल भ्रमण गर्ने करिव ८० प्रतिशत पर्यटकले देख्ने नदी हो । पोखरा, चितवन, लुम्बिनीजस्ता पर्यटकीय गन्तव्यसहित भारतीय सीमावर्ती क्षेत्र पुग्न यही नदीलाई पछ्याए पुग्छ । त्रिशुलीलाई र्‍याफ्टिङको मेरुदण्ड भने पनि हुन्छ र्रयाफ्टिङको ब्रेड एण्ड बटर भने पनि हुन्छ । यसलाई संरक्षित गर्नुपर्छ, नेपालको सम्पदा नदीको रुपमा संरक्षण गर्नुपर्छ भनेर नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्सिज (नारा) ले होमवर्क गर्दै छ । त्रिशुलीको माथिल्लो भेगमा विभिन्न खण्डमा हाइड्रोपावर बने पनि अब तल्लो तटीय क्षेत्र देवघाट र अझै तलसम्म यो नदी स्वतन्त्र रुपमा बहन दिनुपर्छ । साना र मझ्यौला हाइड्रो प्रोजेक्टको लोभमा यो नदीको बहाबलाई रोक्नुहुँदैन ड्यामरहित नदीको रुपमा रहन दिनुपर्छ भन्ने उद्देश्य हो ।

सन् १९७५देखि अहिलेसम्मको अवधिमा नदी पर्यटनसँग जोडिएर कति रोजगार सिर्जना भएको छ ?

यति नै रोजगार सिर्जना भएको छ भनेर ठ्याक्कै तथ्यांक त छैन । तर नेपाल आउने युरोपियन, अमेरिकन, अस्टे«लियन पर्यटकमध्ये २० देखि २२ प्रतिशत जल पर्यटनमा जोडिन्छन् भन्ने अनुमान छ । पहिला रिभर परमिट स्टिम थियो कति पर्यटक जल पर्यटनसँग जोडिए भन्ने तथ्यांक हुन्थ्यो । अहिले त्यस्तो छैन । तर के भन्न सकिन्छ भने जल पर्यटनसँगको रोजगारमा बीच क्याम्पसँगै होटल, रिसोर्ट पनि जोडिएको छ ।

यहाँ कार्यरत जनशक्ति पनि प्रत्यक्ष/अप्रत्यक्ष रुपमा यस्तो अभ्यासको रोजगारमा जोडिएको हुन्छ । मेरो अनुमानमा करिव दुई हजारले प्रत्यक्ष रोजगार पाएका छन् भने अप्रत्यक्ष रुपमा त्यो भन्दा धेरैले पाएका छन् । एक जना विदेशी पर्यटकले नौंदेखि ११ जनालाई रोजगारमा जोड्न सक्छन् भन्ने कुरा अध्ययनले नै देखाएको छ ।

नेपालका १५ नदीका विभिन्न १६ सेक्सनमा मात्रै र्‍याफ्टिङ खुला गरिएको छ । अन्य सेक्सन किन खुलेनन् ?

सबै नदीको सम्भावनाबारे अध्ययन हुन बाँकी छ । १५ वटा नदीका जुन १६ सेक्सन छन् ती व्यावसायिक रुपमा सञ्चालनमा गर्न मिल्ने प्रकृतिका हुन् । र्‍याफ्टिङ र अन्य जलयात्राका लागि आवश्यक आधारभूत पूर्वाधार र यथोचित प्रचार–प्रसार नभएकाले यति थोरै सेक्सनमा हामी सीमित भएका छौ । पर्यटकको माग कस्तो छ, त्यसले पनि प्रभाव पार्छ । सबै नदीबारे अध्ययन हुनुपर्छ, कायाकिङ, र्रयाफ्टिङ जस्ता जलयात्राको संभावनाको खोजी हुनुपर्छ भन्ने नाराको जोड रहँदै आएको छ । नयाँ सेक्सन खुला गर्ने अनि जलयात्रा सञ्चालनको इजाजत दिने पर्यटन मन्त्रालय र पर्यटन विभागले हो । भिजिट नेपाल २०२०को उपलक्ष्यमा अन्य सेक्सन पनि खुला गर्नुपर्छ भन्ने पहल नाराले अघि बढाएको छ । हाम्रो प्रस्तावमा पर्यटन मन्त्रालय र विभाग सकारात्मक छन् ।

१६ सेक्सनमध्ये र्रयाफ्टिङको सबैभन्दा लामो र छोटो दुरी कति छ ? 

रिभर सेक्सनमा र्रयाफ्टिङको सबैभन्दा लामो दुरी सुनकोशीमा छ । त्यहाँको दुरी १ सय ७८ किलोमिटर हो, अपर सुनकोशीसँग जोड्ने हो भने यो दुरी केही बढी हुन्छ । त्यसलाई जित्ने दुरी चाहि कर्णालीमा गर्ने तयारी भइरहेको छ । कर्णालीका व्यवसायिक र्‍याफिटङ त तल्लो ढुंगेश्वरदेखि चिसापानी, बर्दिया र कैलालीको टिकापुरसम्म पनि चलाउन सकिन्छ । भ्रमण वर्षको अवसर पारेर कर्णालीमा दुई सय ४२ किलोमिटर दुरीमा र्रयाफ्टिङ गर्ने कुरा निश्चित भएको छ । दैलेखको राकम कर्णालीदेखि कैलालीको टिकापुरसम्म नेपालको सबैभन्दा लामो र्‍याफ्टिङ दुरी हुनेछ । यति लामो दुरीको र्रयाफ्टिङ अहिलेसम्म भएको छैन, अहिलेसम्मको सबैभन्दा लामो र्रयाफ्टिङ भनेको एक सय ८० किलोमिटरको भएको छ । ब्राजिलको अमेजनमा यति लामो दुरीमा भएको छ । भ्रमण वर्षलाई लक्षित गरेर ब्राजिलको रेकर्डलाई पनि तोड्ने नेपालको तयारीबारे भ्रमण वर्ष सचिवालयलाई पनि अवगत गराएका छौं । हाम्रो प्रस्तावलाई सचिवालयले स्वीकारेको छ ।

२०२० को नोभेम्बर २५मा साँस्कृतिक झाँकीसहितको प्रतियोगिता हुँदै छ । १२ वटा लाइफ टाइम एक्सपिरेन्स् मध्ये भिजिट नेपाल सचिवालयले जल पर्यटन र र्‍याफ्टिङलाई पनि समेटेको छ । पाच दिनमा तय गर्ने कर्णालीको लीमा दुई सय ४२ किलोमिटर दुरीमा र्‍याफ्टिङ गिनिज बुक अफ बल्ड रेकड्समा पनि सूचीकृत गर्न सकिन्छ । यसले पनि नेपालको जल पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सघाउ पुग्नेछ ।

जल पर्यटनमा पर्यटकको आर्कषण बढाउन के–कस्ता कुरामा सुधार गर्नुपर्छ ?

मैले अघि नै पनि भनें, शौचालय, चेन्जिङ रुम, सावर, फोहोर मैला व्यवस्थापन गर्ने आधारभूत सुविधा बढाउनुपर्छ । शौचालय नहुँदा पर्यटकले अहिले खुला स्थानमा शौच गर्नुपर्ने अवस्था छ । नदी किनाराको प्राकृतिक सौन्दर्य बढाउदै जुन ढंगले नदीमा ढुंगा गिटी, बालुवा उत्खनन् भइरहेको छ त्यसलाई व्यवस्थित गर्न जरुरी छ । पर्यटकको सहभागिता बढाउन अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिता समय समयमा आयोजना गर्नुपर्छ । यसका लागि यही नोभेम्बर महिनाको अन्तिममा सुनकोशी करिडोर र बलेफीमा ‘हिमालयन वाइट वाटर च्यालेन्ज’ हुँदै छ । १६/१७ देशका प्रतिस्पर्धी बीच चारवटा विधामा प्रतिस्पर्धा हुँदै छ । भिजिट नेपाल २०२० को पूर्वसध्यामा हुने यो कार्यक्रमले पक्कै पनि नेपालबारेको प्रचार–प्रसारमा सघाउ पुग्ने विश्वास लिएका छौं ।

प्रतिक्रिया दिनुहोस्