खेल पर्यटनले दिँदै छ नेपाललाई नयाँ परिचय



कविरस शर्मा

खेल पर्यटनको भिन्दाभिन्दै रूप हुन्छ। महँगो भौतिक पूर्वाधार निर्माण तथा चुस्त र दुरुस्त व्यवस्थापनको आधारमा विश्वको विभिन्न स्थानमा निश्चित अन्तरालमा हुने ओलम्पिक, फिफा विश्वकप जस्ता थुप्रै प्रतिष्ठित खेल प्रतियोगिताको आयोजनाबाट खेल पर्यटनको आकार बृहत् हुने गरेको छ। यसले प्रत्यक्ष तथा अप्रत्यक्षरूपमा आयोजक देशको अर्थतन्त्रमा सकारात्मक प्रभाव पारिरहेको हुन्छ। कुनै पनि खेल प्रतियोगितामा एकथरी खेलाडी पक्ष हुन्छ भने अर्काथरी दर्शक पक्ष। खेल आयोजनाकै कारणले पर्यटकका रूपमा ओइरिने दर्शकबाट हुने आय–आर्जन स्पोट्र्स टुरिजमसँग जोडिएको एउटा सुखद पक्षसमेत हो, जसको लोभमा विश्वस्तरको प्रतिष्ठित प्रतियोगिताको आयोजना गर्न देशहरूबीच तँछाड–मछाडसमेत हुने गरेको छ।

नेपालको सन्दर्भमा भने खेल पर्यटनको प्रभाव बेग्लै छ। भौगौलिक बनावटअनुसारको साहसिक खेल आयोेजनाले नेपाल विश्वमै दुर्लभ खेलस्थलका रूपमा परिचित छ। सीमित स्रोत र साधनका बाबजुद पर्यटकीय दृष्टिकोणले नेपाललाई साहसिक खेलहरूको प्रमुख गन्तव्यका रूपमा विकास गर्न सकिने प्रशस्तै सम्भावना छन् । तर, आर्थिक शिथिलताका कारण तिनै खेल आयोजनाको आकारलाई व्यापक र परिष्कृत बनाउन नसक्नु अहिलेको प्रमुख चुनौतीसमेत हो, जसका कारण साहसिक खेलको माध्यमबाट विश्वमै दुर्लभ खेलस्थल बन्न सक्ने नेपालको सम्भावनाले गति लिन सकिरहेको छैन।

नेपाललाई खेल पर्यटनको प्रमुख गन्तव्यस्थल बनाउने खेलमध्ये र्‍याफ्टिङको सम्भावना प्रबल रहेको छ ।

विगतको तुलनामा अहिले खेल पर्यटनको महत्व बढे पनि कछुवाको गति लिइरहेको छ। विगतमा व्यावसायिक मुनाफाका लागि मात्र सञ्चालन हुने साहसिक खेलहरू अहिले बाह्यदेखि आन्तरिक पर्यटकको समेत उत्साहजनक सहभागिताले नेपालमा स्पोट्र्स टुरिजमको महत्व बढ्न थालेको छ। वर्तमान परिप्रेक्षमा साइक्लिङ, हाई अल्टिच्युड म्याराथन, हाई अल्टिच्युड ट्रेनिङ सेन्टर, र्‍याफ्टिङ, कायाकिङ, क्यानोयिङ, रक क्लाइम्बिङ, बन्जी जम्पिङ, प्याराग्लाइडिङ, ट्रायथलन, हात्तीपोलो प्रमुख पर्यटकीय खेलका रूपमा बामे सर्दै छन्। यसबाहेक केही समयअघि विश्वकै सबैभन्दा उचाइमा खेलिएको गल्फले पनि यदि निरन्तरता पाउने हो भने नेपाली खेल पर्यटनमा नयाँ अध्यायको शुरुआत हुने निश्चित छ ।

हुनत नेपालमा नदीनालासम्बन्धी खेल र उच्च भू–भागमा गरिने साइक्लिङ तथा दौड प्रतियोगिता पुरानै भए पनि उचित प्रचार–प्रसारको अभावका कारणले व्यापकता पाउन नसकेको देखिन्छ। कठिन भौगौलिक बनावटका बाबजुद पनि खेल पर्यटनको विकासलाई आधार मान्ने हो भने स्विट्जरल्यान्ड नेपालका लागि राम्रो उदाहरण बन्न सक्छ। विश्वका अधिकांश राष्ट्रका मानिस स्विट्जरल्यान्डको खेल पर्यटनबाट आकर्षित हुने गरेका छन्।

विशेषतः स्विट्जरल्यान्डले आइस स्केटिङ जस्ता हिउँसम्बद्ध खेलमार्फत नाम र दाम दुवै आर्जन गरिरहेको छ। त्यसबाहेक विश्वका कतिपय राष्ट्रका खेलाडीले प्रतिष्ठित प्रतियोगिताको तयारीका क्रममा उच्च भेगीय अर्थात् ‘हाई अल्टिच्युड’ प्रशिक्षणका लागि स्विट्जरल्यान्डलाई मुख्य गन्तव्यका रूपमा रोज्ने गरेका छन्। तर, यथेस्ट खेल पर्यटनका सम्भावना रहे पनि नेपालले अहिलेसम्म अपेक्षाकृत लाभ उठाउन सकेको देखिँदैन । वर्तमान अवस्थामा अत्याधुनिक भौतिक तयारी र ठूलो बजेटमा खेल आयोजना गर्न नसके पनि बृहत् प्रचार–प्रसारमार्फत कम लगानीमै स्पोट्र्स टुरिजमको आयोजनालाई व्यापक गर्न सकेमा नेपाल खेल पर्यटनको स्वर्ग बन्नेमा दुईमत नहोला ।

नेपाललाई खेल पर्यटनको प्रमुख गन्तव्यस्थल बनाउने खेलमध्ये र्‍याफ्टिङको सम्भावना प्रबल रहेको छ । ¥याफ्टिङका लागि नेपाली नदीनाला विश्वकै उदाहरणीय मानिन्छन्। नेपाल जस्तो र्‍याफ्टिङको माहाल सायदै विश्वको अन्य देशमा उपलब्ध छ। विशेषतः र्‍याफ्टिङका लागि आवश्यक ६ किसिमका नदी नेपालमा प्रशस्तै छन् । सन् १९६८ मा नेपालमा पहिलोपटक दुई फ्रेन्च नागरिकले सुनकोशी नदीमा र्‍याफ्टिङ खेलेको तथ्यहरूमा उल्लेख भए पनि ७० को दशकमा जर्मनीका कुर्ट जोर्गेस्टइन तथा अन्य दुई अमेरिकी नागरिकले पनि त्रिशूली र सुनकोशी नदीमा र्‍याफ्टिङ खेलेको प्रमाण भेटिन्छ। तर, विगतलाई केलाउने हो भने नेपालमा र्‍याफ्टिङ खेलको रूपमा भन्दा आय–आर्जनको माध्यममा नै सीमित भएको पाउँछौं। नेपालमा सन् २००१ मा पहिलोपटक अन्तर्राष्ट्रियस्तरको र्‍याफ्टिङ प्रतियोगिता शुरू भएको थियो। सन् २०११ सम्म भोटेकोशीमा उक्त प्रतियोगिता हुँदै आए पनि २०१२ बाट त्रिशूली नदीमा उक्त प्रतियोगिता हुन थालेको हो ।

इन्टरनेसनल र्‍याफ्टिङ फेडेरेसन (आईआरएफ) विश्वभरिको र्‍याफ्टिङको छाता संगठनका रूपमा स्थापित छ। यसले विश्वभरि आयोजना हुने र्‍याफ्टिङसम्बन्धी खेल गतिविधिमाथि सहयोगीको भूमिका निर्वाह गर्दै आइरहेको छ। पछिल्ला पाँच वर्षको आँकडा हेर्ने हो भने विश्वका पाँच महादेशमा र्‍याफ्टिङ प्रतियोगिता आयोजनामा आईआरएफले नै नेतृत्वदायी भूमिका खेलेको छ। तर, र्‍याफ्टिङको पर्यायका रूपमा परिचित नेपाल भने अझै त्यस्ता विश्वस्तरको प्रतियोगिता आयोजनाबाट वञ्चित छ। छिमेकी राष्ट्र भारतको सिन्ध नदीमा समेत मध्यमस्तरको विश्व प्रतिष्ठित र्‍याफ्टिङ प्रतियोगिता हुने गरे पनि नेपालमा भने विश्वस्तरको प्रतियोगिताको कुनै लक्षणसमेत देखिँदैन। सन् १९९० मा साइबेरियाको चुया नदीबाट र्‍याफ्टिङको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता विश्व र्‍याफ्टिङ च्याम्पियनसिपको पहिलो संस्करणको थालनी भएको थियो। साइबेरियादेखि शुरू भएको उक्त प्रतियोगिताले दुई दशक पार गरिसक्दा पनि नेपालमा भने ¥याफ्टिङ व्यावसायिक आय–आर्जनको दायराभित्र नै सीमित बनिरहेका छन्।

यसबाहेक ट्रेकिङ एजेन्सिज एन्ड एसोसिएसन अफ नेपाल (टान) ले शुरू गरेको इन्टेरनेसनल इको च्यालेन्ज प्रतियोगिताले नेपालको पर्यटन खेलकुदमा नयाँ आयाम थप्दै आएको छ। उचित पुरस्कारसहित सन् २०१३ को अगस्तमा पहिलोपटक आयोजना गरिएको सो प्रतियोगितामा तीनवटा खेललाई गाँसेर विजेताको निर्णय हुने गरेको छ, जसअन्तर्गत दौड, साइक्लिङ र र्‍याफ्टिङलाई एउटै खेल मातहत खेलाइन्छ। उक्त प्रतियोगितामा पहिलो संस्करणका प्रतिस्पर्धीले भूतखेलको मैदानबाट टोखा हुँदै पानी मुहानसम्मको ६.५ किलोमिटर दौड, पानी मुहानबाट नागार्जुनस्थित शिवपुरी राष्ट्रिय निकुञ्जदेखि सुन्दरीजलसम्मको १४.५ किलोमिटर साइक्लिङ र सुन्दरीजलदेखि गोकर्णसम्मको बागमती नदीमा ७.५ किलोमिटर र्‍याफ्टिङ गरेका थिए। विशेषतः विदेशी पर्यटकलाई नेपालमा आकर्षित गर्ने उद्देश्यले आयोजनाको थालनी गरिएकोको यस प्रतियोगिताले आन्तरिक पर्यटकलाई पनि लोभ्याउन थालेको छ।

नेपालको परिप्रेक्षमा पर्यटन खेलकुदको आयोजनाको कुरा चल्दा साइक्लिङ, एभरेस्ट म्याराथन र प्याराग्लाइडिङलाई बिर्सन नहुने नामका रूपमा लिनुपर्ने हुन्छ। अझ यीमध्ये पनि एभरेस्ट म्याराथन र साइक्लिङ त अग्रपंक्तिमा नै आउने गरेका छन् ।

एभरेस्ट म्याराथन

विश्वकै सर्वोच्च शिखर सगरमाथाको काखमा आयोजना हुने एभरेस्ट म्याराथन संसारकै उच्च भागमा हुने एक्लो दौड प्रतियोगितासमेत हो। यो प्रतियोगिताले नेपाली पर्यटन क्षेत्रमा सकारात्मक ऊर्जा थप्ने काम गरेको छ। एभरेस्ट म्याराथनको कुरा गर्दा ब्रिटिस नागरिकद्वय जान टर्नर र टोनी हन्टललाई बिर्सन मिल्दैन । सन् १९८५ मा यी दुई ब्रिटिस नागरिकले विश्वव्यापीरूपमा उक्त म्याराथनको प्रचार–प्रसार गरेपछि संसारभरिबाट धावक नेपाल ओइरिन थालेका हुन्। यसले आजसम्म हरेक मे २९ का दिन निरन्तरता पाइरहेको छ।

२०७२ मा आएको महाभूकम्पका कारणले भने एकपटक अक्टोबरमा उक्त प्रतियोगिता सारिएको थियो । सन् २००३ देखि भने सगरमाथाका प्रथम आरोहीहरू तेञ्जिङ शेर्पा र एडमन्ड हिलारीको नाम जोडी तेन्जिङ हिलारी एभरेस्ट म्याराथनका रूपमा यो प्रतियोगिता आयोजना हुँदै आएको छ। १७ हजार १ सय फिटको उचाइमा अवस्थित गोरकशेपदेखि ११ हजार ३ सय फिटको उचाइमा रहेको नाम्चे बजारमा टुंगिने एभरेस्ट म्याराथन प्रतियोगिताको महत्व निक्कै बढिसकेको छ। यसमा तीनपटकका लगातारका दौड विजेता हरिबहादुर रोकायाको नाम ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ मा दर्ता भएबाट प्रस्ट हुन्छ।

साइक्लिङ

 

विश्वमा साइक्लिङ खेलको प्रभाव अत्यधिक रहेको छ। साइक्लिङ खेल ओलम्पिकदेखि महादेशीय प्रतिष्ठित प्रतियोगिताहरूमा समेत समावेश हुने गरेको छ। नेपालमा पनि यसको लोकप्रियता बढ्दो छ। साइक्लिङमार्फत नेपालले प्रतिष्ठित अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा अहिलेसम्म जिब्रो टोक्ने नतिजा नल्याए पनि प्रतियोगिता आयोजनाको सन्दर्भमा भने धेरै हदसम्म सन्तोष मान्नुपर्ने अवस्था छ। हुन त नेपालमा छिटफुटरूपमा केही अन्तर्राष्ट्रियस्तरको साइक्लिङ प्रतियोगिता हुन थालेको डेढ दशक नाघिसकेको छ जसमध्ये सन् २००१ र २००२ मा हिमालयन माउन्टेन बाइकको आयोजनामा गरिएको साइक्लिङ प्रतियोगिता विश्वप्रसिद्ध नेसनल जियोग्राफिक च्यानलमार्फतसमेत प्रसारण गरिएको थियो । तर, त्यसको केही समयपश्चात् भने माओवादी द्वन्द्वले गर्दा नेपालमा बामे सर्दै गरेको खेल पर्यटन ओझेलमा प¥यो ।

सन् २००८ बाट भने नेपालमा साइक्लिङ प्रतियोगिता पुनः ब्यँुतियो । एसियन माउन्टेन बाइक च्याम्पियनसिप जस्तो प्रतिष्ठित प्रतियोगिता नेपालले नै सफलतापूर्वक आयोजना गर्‍याे । एसियाका १६ देश सम्मिलित उक्त प्रतियोगितामा नेपाली साइक्लिस्ट सज्जन राजवंशीले सातौं स्थान प्राप्त गरेका थिए। त्यस्तै गरी विश्वकै उच्चस्थानमा शृंखलाबद्धरूपमा १० दिन र पाँच दिन आयोजना हुने याक–अट्याक र याकरु साइक्लिङ जस्ता दुर्लभ प्रतियोगिताले नेपालको पर्यटन खेलकुदमा थप ऊर्जा थप्न थालेको छ। अन्नपूर्ण सर्किटभित्र पर्ने ५ हजार ४ सय १६ मिटरमा अवस्थित थोरुङ ला पासमा हुने सो प्रतियोगिताले व्यापक प्रचार–प्रसार पाउने हो भने साइक्लिङ खेलमार्फत पनि नेपाली पर्यटन उद्योगलाई ठूलो टेवा पुग्नेछ।

प्याराग्लाइडिङ

गत वर्ष इन्डोनेसियामा सम्पन्न एसियाली खेलकुदमा नेपाललाई २० वर्षपछि रजत दिलाउने खेल हो प्याराग्लाइडिङ । हावामा प्लास्टिकबाट निर्मित वस्तुको आडमा चराजस्तै उड्न मिल्ने खेललाई भनिने हो प्याराग्लाइडिङ। विश्वमा प्याराग्लाइडिङ खेल पुरानो भइसकेको छ। सन् १९९२ मा प्याराग्लाइडिङको विश्व प्रतियोगितामा जर्मनीका उली वेसमेकरले पहिलो उपाधि जितेबाट यो कुरा प्रस्ट हुन्छ। नेपालमा भने हवाई खेलकुद संस्था ९ना० ले प्याराग्लाइडिङलाई स्पोट्र्स टुरिजमका रूपमा विकास गर्न अग्रसरता देखाउँदै आएको छ । केही वर्षअघि पोखरामा साहसिक प्याराग्लाइडिङको गन्तव्य बनाउन प्यारालाइडिङको प्रि–वल्र्डकप तथा सन् २०१८ मा स्याङ्जामा भएको प्याराग्लाइडिङ एकुरेसी वल्र्ड कप आयोजनाले यसको पुष्टि हुन्छ।

यसअनुसार नेपालले विश्वकप आयोजना गर्न सक्ने क्षमता भएको एकमात्र खेलका रूपमा प्याराग्लाइडिङलाई लिइन्छ। थुप्रै अन्तर्राष्ट्रिय व्यावसायिक पाइलटले यस खेलमार्फत नेपालमा उड्ने सपना साँचेको भेटिन्छन् । प्याराग्लाइडिङका लागि साराङकोट क्षेत्र विश्वकै दुर्लभ र उत्कृष्ट स्थलमध्येको एक हो। साराङकोट बाह्रैमास उडान गर्न मिल्ने स्थलका रूपमा परिचित छ। कतिपय विदेशी पर्यटक त साराङकोटमा उड्ने लक्ष्यका साथ नै नेपाल ओइरिएका हुन्छन्। साराङकोटको १४ सय ५० मिटरको उचाइबाट ‘टेकअप’ गरी फेवातालको सिरान खपौदीमा ‘ल्यान्डिङ’ जोन रहेको छ। यसका कारण प्याराग्लाइडिङले नेपाललाई भिन्न परिचय दिएको छ ।

नेपालमा पहिलोपटक आयोजना भएको प्याराग्लाइडिङको विश्वकपमा २० भन्दा बढी देशका प्याराग्लाइडिङ पाइटलको सहभागिताले यो खेलस्पोट्र्स टुरिजमका रूपमा विकास हुने आधार बनिरहेको छ। केही समयअघि महाभूकम्पका कारण साराङकोटको अवस्था अस्तव्यस्त बने पनि पोखरामा प्याराग्लाइडिङ च्याम्पियनसिप शुरू भएको भने करिब दुई दशक पुगिसकेको छ। प्याराग्लाइडिङमा ओभरअलदेखि एक्रोब्याट्स, स्पट ल्यान्डिङ, क्रस कन्ट्री, बेस्ट र्‍याफ्टल्यान्डिङ जस्ता स्पर्धामा प्रतिस्पर्धा हुने गरेको छ।

हाई अल्टिच्युड ट्रेनिङ सेन्टर

 

कठिन भौगौलिक बनावटका बाबजुद पनि खेल पर्यटनमा लगानी गर्ने हो भने खर्चको आधारमा महँगो स्विट्जरल्यान्डको विकल्प नेपाल बन्न सक्छ । विश्वका अधिकांश मान्छे स्विट्जरल्यान्डको खेल पर्यटनबाट आकर्षित हुने गरेका छन् । विशेषतः स्विट्जरल्यान्डले आइस स्केटिङ जस्ता हिउँसम्बद्ध खेलमार्फत नाम र दाम दुवै आर्जन गर्दै आइरहेको छ । त्यसबाहेक विश्वका कतिपय राष्ट्रका खेलाडीहरुले प्रतिष्ठित प्रतियोगिताको तयारीका क्रममा उच्च भेगिए अर्थात् ‘हाई अल्टिीच्युड’ प्रशिक्षणका लागि स्विट्जरल्यान्डलाई प्रमुख गन्तव्यका रूपमा रोज्ने गरेका छन् ।

तर, यथेष्ट खेल पर्यटनको सम्भावना भए पनि नेपालले अहिलेसम्म अपेक्षाकृत लाभ उठाउन सकिरहेको छैन । वर्तमान अवस्थामा अत्याधुनिक भौतिक तयारी र ठूलो बजेटमा खेल आयोजना गर्न सहज छैन । तर, व्यापक प्रचारमार्फत छोटो समय र कम लगानीमै साहसिक खेल प्रतियोगिताको प्रवद्र्धन गरेमा नेपाललाई खेल पर्यटनको प्रमुख गन्तव्यस्थल बनाउन कसैले रोक्न सक्दैन ।

फिसिङ कम्पिटिसन

जीवन धान्नलाई बल्छी हान्ने प्रचनलले पछिल्लो समयमा स्पोट्र्स टुरिजमका रूपमा लिएको छ । विश्वमा मनोरञ्जनात्मक खेलका रूपमा रहे पनि नेपालको प्राकृतिक विविधताले गर्दा यो खेल पर्यटन खेलका रूपमा रूपान्तरित हुने क्रममा छ। हाल वर्षेनि पोखराका ताल तलैयामा स्वदेशी तथा विदेशीको सहभागितामा ‘फिसिङ कम्पिटिसन’ हुँदै गरेको छ । यस खेलमा सहभागीले दुईवटा आधुनिक फिसिङ रड प्रयोग गर्न पाउने नियम छ । यस प्रतियोगिता करिब एक दशक पार गर्ने तरखरमा छ । स्वदेशी र विदेशी पर्यटकको व्यापक सहभागिताले गर्दा यस खेलको उचाइ पनि बढ्दो छ ।

 

प्रतिक्रिया दिनुहोस्