नेपाल भ्रमण वर्ष : पर्यटन क्षेत्रको पुनर्जीवनको अवसर



राजु श्रेष्ठ 

पृष्ठभूमि

नेपाल भ्रमण वर्ष २०२० शुरू हुन अब एक महिना बाँकी छ। सरकारले अत्यान्तै महत्वाकांक्षी कार्यक्रमका रूपमा लिएको भ्रमण वर्षको सफलतासँगै मुलुकको पर्यटन उद्योगको दिशा निर्धारण गर्ने भएकाले भ्रमण वर्षलाई निजी क्षेत्रले पनि यसलाई महत्व नै दिएको देखिन्छ।

विश्वका १ सय ९८ वटा मुलुकमध्ये उत्कृष्ट पर्यटन गन्तव्यमध्ये नेपाल १० वटाभित्र पर्ने भए पनि तुलनात्मकरूपमा विकास हुन सकेको छैन। लामो द्वन्द्व, राजनीतिक अस्थितरता, प्राकृतिक विपद्जस्ता कारणले नेपालको पर्यटन क्षेत्रका निम्ति बाधक बन्दै आएका थिए। द्वन्द्वको चपेटाबाट उन्मुक्ति, राजनीतिक स्थितातर्फ मुलुक र प्राकृतिक विपद्बाट तग्रिँदै गएको स्थितिमा अब नेपालले पर्यटन क्षेत्रको विकासमा फड्को मार्नुपर्ने भन्ने पक्षमा सम्भवत सबैको एकमत छ।

नेपालमा पर्यटक आकर्षणका निम्ति यहाँको प्राकृतिक सुन्दरता, भौगोलिक बनाबट, मौलिक कला संस्कृति र यहाँका जनताको मुस्कान नै प्रमुख साधन हुन्। नेपाललाई प्रकृतिले बरदानस्वरुप दिएको अनुपम सुन्दरता, यहाँको भौगोलिक बनाबट, मौलिक कला, संस्कृति, सम्पदा, रहनसहनले पक्कै पनि फरक भूगोल र परिवेशबाट आएको मानिसलाई आकर्षित गर्छ। हामी आफैंलाई त्यसको महŒव नहुन पनि सक्छ। तर, नेपाल आउने विदेशीका निम्ति उल्लेखित विषयले रोमाञ्चित गराउँछ।

राजनीतिक परिवर्तनको एउटा अध्यय पूरा भएपछि अब आर्थिक विकासको कदम चाल्नुपर्छ, भन्ने विषय आमजनताको अपेक्षा छ। लामो समयसम्म गरिबी र अभावमा जीवन बितेकाहरूले अब परिवर्तनको आभाष गर्न सक्नुपर्छ। आर्थिकरूपमा सबल भएपछि मात्रै राजनीतिक परिवर्तनले स्थायित्व प्राप्त गर्छ भन्ने तत्वबोध नेतृत्वलाई भएको हुनुपर्छ।

तत्कालीन अवस्थामा नेपालमा औद्योगिक उत्पादन वृद्धि गरेर निर्यात बढाउने र आर्थिक रूपमा आफूलाई सबल बनाउने सम्भावना कम देखिन्छ। त्यसैले आफूसँग भएको स्रोतको उपयोग गर्नु नै पहिलो विकल्प हुन सक्छ। यतिखेर नेपालको सन्दर्भमा आर्थिक रुपान्तरणका निम्ति पहिलो विकल्प भनेकै पर्यटन विकास हो। जसका लागि आयोजना गरिएको नेपाल भ्रमण सन् २०२० अहिले संघारमै आएको छ।

चुनौती

सरकारले नेपाल भ्रमण वर्ष सन् २०२० मा पर्यटक आवागमनको संख्या २० लाख पु¥याउने लक्ष्य लिएको छ, सामान्यतया यो लक्ष्य औसत नै हो। केही निश्चित क्षेत्रमा सुधार गरेको अवस्थामा यो लक्ष्य भेटाउन गाह्रो नभएको सरोकारवालाको कथन छ।

नेपाल आउने पर्यटकलाई कुन क्षेत्रमा केन्द्रित गराउने, उनीहरूको रुचीको विषय के हो, बहाम्रो प्राथमिकता केमा छ, हाम्रो पहिचान के हो भन्ने कुरा निक्र्यौल गरेर सोहीअनुसारको बजारीकरण गरेको स्थितिमा त्यो संख्यालाई भेट्टाउन मुस्किल छैन।

पर्यटकको संख्यामात्रै हेरेर भ्रमण वर्षको सफलता हेर्न नहुने तर्क पनि एकथरीले अगाडि सारेका छन्। संख्या एउटा मँध्यम हो त्यसका अलवा पर्यटकलाई सन्तुष्ट गराउने र उनीहरूबाट बढीभन्दा बढी खर्च गराउनुपर्ने अर्को पाटो रहेको यस क्षेत्रका अगुवाहरूको भनाइ छ। निश्चय पनि नेपालमा पर्यटकहरू छुट्टी मनाउन र मनोञ्जन गर्न आउने हुन्। उनीहरूको अवश्यकताअनुसार नेपालको पहिचान झल्किने किसिमको पूर्वाधार विकास गर्नुपर्ने देखिन्छ।

नेपालको प्रकृतिसँग मेल खाने, यहाँको कला र संकृतिलाई सुहाउने कुरालाई व्यावसायिककरण गर्नुपर्ने आवश्यकता छ। विद्यमान अवस्थामा सरकारका साथै निजी क्षेत्र पनि योे आवश्यकताभन्दा बाहिर जान खोजेको हो कि भन्ने संकेत छ। पक्कै पनि नेपाल आउने पर्यटक भौतिक सुख प्राप्तिका लागि होइन, प्रकृतिसँग रमाउन, सक्षात्कार हुन आउने हुन्। त्यसकारण सबै पक्षले त्योअनुसारको वातावरण निर्माण गर्नुपर्छ।

अहिले नेपाल आउने पर्यटकको बसाइँ अवधि निक्कै थोरै भएको र खर्च पनि न्यून गर्दै आएको गुनासो छ। पर्यटकलाई आकर्षित गरी औसत नेपाल बसाइँ लम्ब्याउने विषयमा अहिले सरोकारवालाबीच चर्चा भइरहेको छ। अहिले पर्यटकहरूको औसत नेपाल बसाइँ एक साताभन्दा थोरै बढी मात्रै रहेको छ।

पर्यटकको बसाइँ लम्ब्याउने र उनीको औसत खर्च वृद्धि नगरेसम्म पर्यटन क्षेत्रको विकास र यसबाट राजस्व वृद्धि हुन नसक्ने सरोकारवालाको जोड छ।

नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार सन् २०१७ मा एक जना पर्यटकले प्रतिदिन ५४ डलर खर्च गरेका थिए। तर, सन् २०१८ मा त्यो बढ्नुको साटो घटेर प्रतिदिन ४४ डलरमा झरेकोे छ।

त्यस्तै पर्यटककौ औसत नेपाल बसाइँ अवधि गतवर्ष १२ दशमलव ६ दिन थियो भने यो वर्ष १२ दशमलव ४ दिनमात्रै रहेको छ। पर्यटकको नेपाल बसाइँ र खर्चको दर घट्दै जाँदा नेपाल भ्रमण वर्षको सफलताको मापदण्ड केलाई बनाउने भन्ने प्रश्न पनि नेतृत्वका सामु छ। पछिल्लो तथ्यांकअनुसार भारत र चीनबाट आउने पर्यटकको संख्या उच्च रहेको छ।

सन् २०१९ को अक्टोबरसम्म नेपालमा पर्यटक आवागमनको संख्या ८ प्रतिशतले वृद्धि भएको छ। पर्यटन बोर्डका अनुसार सन् २०१९ को अन्त्यमसम्म १० प्रतिशतले पर्यटक बढ्ने अनुमान गरिएको छ। सन् २०२० मा २० लाख पर्यटक भिœयाउन सन् २०१८ मा ३० प्रतिशत र २०१९ मा ३० प्रतिशत पर्यटक बढेको भए २०२० मा २० लाख पर्यटक नेपाल भित्रिने निश्चित हुने थियो। तर, वृद्धिदर सुधार भएको छैन। एकातिर संख्यामा सुधार हुन सकेको छैन भने अर्कोतिर खर्च र बसाइँ अवधि पनि घट्दो हुँदै गएकाले भ्रमण वर्षको सफलता चुनौतीपूर्ण छ।

विगतमा कस्तो थियो  ?

नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार सन् १९९७ मा ४ लाख २१ हजार ८ सय ५७ जना पर्यटकले नेपाल भ्रमण गरेका थिए। त्यस्तै पहिलो नेपाल भ्रमण वर्ष सन् १९९८ मा अघिल्लो वर्षको तुलनामा ९ प्रतिशतले बढेर ४ लाख ६३ हजार ६ सय ८४ जना पर्यटक नेपाल भ्रमण गरेका छन्। यो वर्ष नेपालले ५ लाख पर्यटक भित्र्याउने लक्ष्य लिइएको थियो। सन् १९९९ मा यसको ६ प्रतिशतले बढेर ४ लाख ९१ हजार ५ सय ४ जना पर्यटकले नेपाल भ्रमण गरेका छन्।

त्यसपछि नेपालमा द्वन्द्वको चपेटा परेका कारण त्यसपछिका वर्षमा पर्यटकको संख्या घटेको देखिन्छ। तर, सन् २०१६ देखि भने उल्लेख्य सुधार भएको छ। सन् २०१९ को अक्टोबरसम्म ९ लाख ७५ हजार ५ सय ७५ जना पर्यटक नेपाल आएका छन्।

सन् २०१९ मा पर्यटकको संख्या कम हुनुको कारण एयरपोर्टको समस्या र नेपालमा डेंगुको त्रास मुख्य कारण रहेको पर्यटन व्यवासयीहरूको भनाइ छ। सन् २०१८ मा ११ लाख ७२ हजार पर्यटक भित्रिएका थिए। सन् २०१९ मा १५ लाख र सन् २०२० मा २० लाखको महत्वकांक्षी योजना सरकारको छ।

पर्यटन विभागका अनुसार राष्ट्रिय निकुञ्ज र जंगल सफारीका लागि सन् २०१७ मा ६, लाख ४ हजार ९१ जना, सन् २०१८ मा ६ लाख ९९ हजार ५ सय ५२ जना पर्यटक पुगेका छन् भने पशुपति क्षेत्रमा भारतीयसहित सन् २०१७ मा १ लाख २४ हजार १ सय ८० जना, सन् २०१८ मा १ लाख ६३ हजार ३ सय ११ जना पर्यटक पुगेका छन्। लुम्बिनी क्षेत्रमा सन् २०१७ मा १ लाख ४५ हजार ७ सय ९६ जना, सन् २०१८ मा १ लाख ६९ हजार १ सय ८० जना पर्यटक पुगेका छन्।

त्यस्तै मनास्लु टे«किङका लागि सन् २०१७ मा ५ हजार ७ सय ४५ जना, सन् २०१८ मा ७ हजार ३ सय ७१ जना पर्यटक पुगेका छन्। मुस्ताङ ट्रेकिङका लागि सन् २०१७ मा ६ हजार ६ सय ३२ जना, सन् २०१८ मा ४हजार १ सय १६ जना पर्यटक पुगेका छन्। हुम्ला ट्रेकिङका लागि सन् २०१७ मा १३ हजार ३ सय ९८ जना, सन् २०१८ मा १०हजार ८ सय १४ जना पर्यटक पुगेका छन्। तल्लो डोल्पा ट्रेकिङका लागि सन् २०१७ मा ९ सय २४ जना, सन् २०१८ मा १ हजार २ सय २२ जना पर्यटक पुगेका छन्। माथिल्लो डोल्पामा ट्रेकिङका लागि सन् २०१७ मा ४ सय २५ जना, सन् २०१८ मा ५ सय २५ जना पर्यटक पुगेका छन् भने कञ्चनजंघा ट्रेकिङका लागि सन् २०१७ मा १ हजार ८ जना, सन् २०१८ मा ९ सय ७० जना पर्यटक पुगेका छन्।

त्यसैगरी सन् २०१८ मा छुट्टी मनाउनका लागि ७,लाख ३ हजार ८ सय ४३ पर्यटक नेपाल आएका थिए। जुन अघिल्लो वर्षको तुलनामा ६ दशमलव ४९ प्रतिशतले बढी हो। धार्मिक पर्यटनका लागि १ लाख ८७ हजार ६ सय ९२ जना तीर्थयात्री नेपाल आएका थिए। यो अघिल्लो वर्षको तुलनामा २४ दशमलव ८६ प्रतिशतले बढी हो। त्यस्तै हिमाल आरोहण र ट्रेकिङका लागि १ लाख ६९ हजार १ सय ८० जना पर्यटक नेपाल आएको पर्यटन विभागका तथ्यांक रहेको छ। यो अघिल्लो वर्षको तुलनामा ५५ दशमलव ५४ प्रतिशतले बढी हो। अन्य उद्देश्यले १ लाख १२ हजार ३ सय ५७ पर्यटक नेपाल आएका थिए। जुन अघिल्लो वर्षको तुलनामा ४१ दशमलव ४२ प्रतिशतले बढी हो।

त्यस्तै सन् २०१८ मा ६ लाख २४ हजार ९ सय २८ जना पुरुष पर्यटकले नेपाल भ्रमण गरेका थिए। यो अघिल्लो वर्षको तुलनामा १८ दशमलव ४५ प्रतिशत बढी हो। महिलाको संख्या पुरुषको भन्दा कम भए पनि वृद्धिदर भने बढी छ।महिला पर्यटक सन् २०१८ मा ५ लाख ४८ हजार १ सय ४४ जनाले नेपाल भ्रमण गरेका छन्। यो अघिल्लो वर्षको तुलनामा २१ दशमलव ४४ प्रतिशतले बढी हो।

पूर्वाधार कस्तो छ ?  

नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार तारे होटलको संख्या सन् २०१८ मा १ सय २९ वटा, पर्यटकीय होटल १ हजार १ सय २५ गरी बेड संख्या ४० हजार ८ सय ५६ रहेको थियो। भ्रमण वर्षलाई लक्षित गरी राजधानीका सिटी होटल कालीमाटी, होटल क्राउन इम्पेरियल रविभवन, एभरेस्ट हस्पिटालिटी नक्साल, अकला होटल धुम्बाराही र होटल ली शेर्पा सञ्चालनमा आउने क्रममा छन्। त्यस्तै राजधानीबाहिर रारा परियोजना, होटल टाइगर वान रूपन्देही, होटल पवन प्यालेस लुम्बिनी, भेगास सिटी इन्टरटेन्मेन्ट र होटल मेची क्राउनलगायतका छन्। सरकारले आन्तरिक एवम् बा≈य पर्यटक आकर्षित गर्न १ सय ९२ वटा गन्तव्यको प्रवद्र्धन गर्ने योजना बनाएको छ।

त्यस्तै सन् २०१८ को तथ्यांकअनुसार कुल ट्राभल्स एजेन्सी ३ हजार ५ सय ८, ट्रेकिङ एजेन्सी २ हजार ६ सय ४९, कुल टुरिस्ट गाइड ४ हजार १ सय २६, कुल ट्रेकिङ गाइड १६ हजार २ सय ४८ जना रहेका छन्।

पहिला देश अनि विदेश

सरकारले विदेशी पर्यटकलाई आकर्षित गर्नका लागि विभिन्न प्रवद्र्धनात्मक कार्यक्रम अगाडि सारेको छ। तर, पछिल्लो समयमा नेपालीहरू घुम्नका लागि विदेश जाने प्रचलन पनि बढ्दै गएको छ।

दशैं तिहारलगायतका लामो बिदाको मौका पारेर नेपालीहरू प्रायः दुबई, थाइल्यान्ड, इण्डोनेसिया, सिंगापुर, भारतलगायतका मुलुकमा जाने गरेका छन्। देश विदेश घुम्नु आफैंमा राम्रोे संकेत पनि हो। विदेशको विकास, प्रविधिको प्रयोगलगायतका कुराले पक्कै पनि मानिसमा सकारात्मक ऊर्जा ल्याउँछ। तर, जुन मानिसले आफ्नै मुलकका पर्यटकीय क्षेत्रको भ्रमण गरेको छैन भने त्यो व्यक्ति विदेशमा गएर कसरी आन्नद लिन सक्छ।

लुम्बिनी नपुगेको व्यक्ति श्रीलंका र थाइल्यान्डका गुम्बा हेरेर के मज्जा लिन सक्छ, सौराह नगएकाले कसरी विदेशमा जंगल सफारी गर्न सक्छ। मनाङ, मुस्ताङ रारा, शे–फोक्सुन्डो नगएकाले कसरी स्वीटरल्यान्डमा रमाउन सक्छ। त्यसैले पहिले देश घुमौं अनि विदेश जानुपर्छ। देश नै नघुम्दै विदेशमा छुट्टी मनाउन जाने नेपालीलाई सुहाउँदैन।

हिजोआज देखासिकी गर्दै विदेशमा घुम्न जाने र विदेशमा कार्यक्रम राख्ने कम्पनी तथा संघसंस्थाहरू यसतर्फ गम्भीर भएर सोच्नुपर्ने बेला भएको छ। आन्तरिक पर्यटकलाई आकर्षित गर्न सक्ने नयाँ गन्तव्यहरू तीनजुरै–मिल्के–जलजले (तेह्रथुम), तिङबुङ पोखरी (ताप्लेजुङ), अर्जुनधारा पर्यटकीय क्षेत्र (झापा), गुरु फाल्गुनन्द सर्किट – (पाँचथर), बालेश्वर ऐतिहासिक गुफा (संखुवासभा), हलदे पटकेडाँडा ट्रेल (धनकुटा), ट्याम्केडाँडा (भोजपुर), बराह पोखरी (खोटाङ), पाँचपोखरी (सोलुखुम्बु) रहेकोे छ।

त्यस्तै थोलेदम्बाडाँडा (ओखलढुंगा), उदयपुरगढी (उदयपुर), शहद नेत्रलाल पार्क, गौरादह कृषि पर्यटन क्षेत्र, धनपालगढी पर्यटकीय क्षेत्र (मोरङ), पिण्डेश्वर–दन्तकाली पदमार्ग (सुनसरी), सहलेस दरबार पर्यटन क्षेत्र (सिरहा), नाडी ताल (सर्लाही), धनेश्वर महादेव पर्यटन विकास क्षेत्र (धनुषा), जलेश्वर मन्दिर (महोत्तरी), मरघर सिमसार क्षेत्र पतौरा पुरात्वात्विक महादेव मन्दिर (रौटहट), सिम्रौनगढ (बारा), घडीअर्वा पोखरी (पर्सा), छिन्नमस्ता (सप्तरी) रहेकोे छ।

त्यस्तै जिरी शैलुङ पर्यटन पदमार्ग (दोलखा), सिन्धुलीगढी ९सिन्धुली, सुनकोशी ¥याफ्टिङ (रामेछाप), महाभारत ट्रेल (काभ्रे), पाँचपोखरी (सिन्धुपाल्चोक), कल्चेडी–झिल्केश्वर–देवीघाट–भैरवी–दुप्चेश्वर सर्किट, तामाङ हेरिटेज ट्रेल (रसुवा), स्काई ट्रेल, रानीझरना क्यानोनिङ थाक्रे (धादिङ), बिसहजारी ताल, सोमेश्वर गढी पर्यटन विकास माडी, पटीयानी पर्यटकीय क्षेत्र (चितवन), मकवानपुरगढी (मकवानपुर), निलबाराही मन्दिररपार्क (भक्तपुर), दहचोक (काठमाडौं), नागदह पर्यटकीय क्षेत्र, गोदावरी फुलचोकी हाइकिङ (ललितपुर), चुमभ्याली (गोरखा), काउलेपानी (घलेगाउँ), तनहुँ कालिका शहीद तथा शान्ति पार्क, सिद्धगुफा (तनहुँ) रहेका छन।

त्यस्तै मौजा होमस्टे, सिक्लेस पर्यटकीय क्षेत्र (कास्की), नार्फु ट्रेल (मनाङ), लोमाङथाङ दरबार र गुफा क्षेत्र (मुस्ताङ), दूर्लुङ क्यानोनिङ, केभिङ र होमस्टे, महाशिला (पर्वत), सतौ–चण्डीमालिका क्षेत्र, आलमदेवी (स्याङ्जा), भकुण्डे भैरवस्थान गाजाको दह, ढोरपाटन आरक्षण क्षेत्र (बागलुङ), दाउन्नेदेवी (नवलपरासी पूर्व), घोरेपानी पर्यटकीय क्षेत्र (म्याग्दी), त्रिपुरासुन्दरी धार्मिक पर्यटन क्षेत्र (डोल्पा), डुडुल चैत्य (जुम्ला), लिमी उपत्यका पर्यटकीयस्थल (हुम्ला), रारा शे–फोक्सुन्डो पदमार्ग (मुगु), पाचाल झरना, बडिकेदार धार्मिक पर्यटकीय क्षेत्र (डोटी), रामग्राम (नवलपरासी पश्चिम), बाउन्नकोटी वनबाटिका, सैनामैना पर्यटकीय क्षेत्र (रुपेन्देही), जगदीशपुर, सागरताल (कपिलवस्तु), तालपोखरा रम्भादेवी मन्दिर (तानसेन) रहेका छन।

त्यस्तै पाँणिनी तपोभूमि, सुपादेउराली (अर्घाखाँची) , रेसुंगा तपोभूमि, रुरु क्षेत्र, भगवती मन्दिर पर्यटकीय क्षेत्र (गुल्मी) , जलजला (रोल्पा) , रक गार्डेन, ओखरकोट डाँडा, झिमरुक (प्यूठान) , बगरबाबा धार्मिक पर्यटकीय क्षेत्र (दाङ) , कम्मर साह मजार धार्मिक पर्यटकीय क्षेत्र (बाँके) , ओमकेदारेश्वर धाम धार्मिक पर्यटकीयस्थल, शिवमन्दिर धार्मिक पर्यटकीय स्थल (बर्दिया) , कुभिन्डेदह (सल्यान) , सूर्यकोट मस्तादेवी पर्यटन क्षेत्र (अछाम) , मालिकार्जुन (दार्चुला) , सिद्धनाथ उदयदेव धार्मिकस्थल पाटन (बैतडी) , अमरगढी–उग्रतारा (डडेलधुरा) , रौटेला झम्केली ब्रह्मादेवधाम धार्मिक विकास क्षेत्र (कञ्चनपुर) , बन्दा ताल कोटीहोम पर्यटकीय क्षेत्र, बर्दगोरिया मन्दिरधाम (कैलाली) , खलंगा दरबार क्षेत्र (जाजरकोट) , कोतगढी–पञ्चदेवल–बलासपुर–महावु पर्यटकीय विकास (दैलेख) , जाजुरा दह, गिद्देडाँडा (सुर्खेत) , बोतामकोट चित्री पाटन साहसिक पदमार्ग (रुकम पश्चिम) , कोल्टी–बूढीगंगा–बढीमालिका पदमार्ग (बाजुरा) , गोरखनाथ मन्दिर पैदलमार्ग (बझाङ) रहेका छन।

अन्त्यमा

नेपाल भ्रमण वर्ष सरकारको कार्यक्रममात्रै होइन, यो राष्ट्रिय उत्सव हो। जसरी हामीले दशैं, तिहार जस्ता चाडपर्व र उत्सव स्वतःस्फूर्तरुपमा मनाउँछौं। त्यसैगरी भ्रमण वर्ष पनि मनाउनुपर्छ भन्ने बोध आमजनतामा जागृत हुनुपर्छ। सरकारले वातावरण निर्माण गरिदिने हो, उमंग आफैं छर्ने हो। चाहे व्यवसायी होस्, चाहे सर्वसाधारण वा सरकारी अधिकारी सबैले आ–आफ्नो दायित्व इमान्दारीताका साथ निर्वाह गरेको अवस्थामा नेपाल भ्रमण सफल हुन्छ। आफ्नो जिम्मेवारी नलिने अरुको आलोचनामात्रै गर्ने प्रवृत्तिको अन्त्य गर्दै नेपाल भ्रमण वर्षमार्फत पर्यटन क्षेत्रको पुनर्जीवन गर्न जरुरी छ।

प्रतिक्रिया दिनुहोस्