प्रचारप्रसारको अभावले गुर्जाका पर्यटकीय ताल ओझेलमा



प्रताप बानियाँ, म्याग्दी। 

भौगोलिक विकटता र प्रचारप्रसारको अभावका कारणले पर्यटकीय सम्भावना बोकेका दुईवटा ताल ओझेलमा परेका छन्। अग्ला पहाडको बिचमा अवस्थित निलो ताल, नजिकै देखिने चाँदी जस्तै टल्कने चुरेन हिमाल र आसपासको समथर भू–भागमा प्रकृतिले अनुपम सुन्दरता भरिएका गुर्जाको वार्मीपार्मी र बराहतालको प्रचारप्रसार हुन नसकेको हो।

म्याग्दी सदरमुकाम बेनीदेखि करिब २६ कोष टाढा पश्चिममा रहेको धवलागिरि गाउँपालिका–१, गुर्जा गाउँबाट कहालीलाग्दो उकालो/भिरालो पहाडमा कष्टपूर्ण यात्रापछि पुगिने हेपुडाँडामा दुईवटा सुन्दर ताल छन्।

ढोरपाटन शिकार आरक्षको घुस्तुङ ब्लगमा पर्ने उक्त क्षेत्रमा सुन्दर दुईवटा ताल प्रचारप्रसारको अभावमा ओझेलमा परेका हुन्। समुद्री सतहदेखि करिब ४ हजार ५ सय मिटरको उचाइमा अवस्थित म्याग्दी र रूकुम जिल्लाको सीमा क्षेत्र नजिक पर्ने तालमा ढोरपाटन शिकार आरक्षबाट अनुमति लिएर विदेशी शिकारीसहित कर्मचारीहरू पुग्ने गर्दछन्।

मौसमअनुसार वार्मीपार्मी र बराहतालमा पानीको रङ फेरिने दृष्यले त्यहाँ पुग्ने पर्यटकलाई लोभ्याउने गरेको गुर्जाका स्थानीय केआईसिङ छन्त्यालले जानकारी दिनुभयो। उहाँले तालसम्म पुग्न गाह्रो भए पनि पहाडभित्र लुकेका तालको धार्मिक । समेत रहेको बताउनुभयो। गुर्जावासीले दशक अगाडि आवतजावत गर्ने उक्त स्थान हुँदै चुरेन हिमाल नजिकैबाट देखिन्छ।

उक्त क्षेत्रमा थार, झारल, नाउर, मृगजस्ता सुन्दर र चञ्चले जंगली जनावरहरू पाखामा चर्ने गरेको दृष्यले त्यहाँ पुग्नेलाई जो कोहीलाई लोभ्याउने गरेको स्थानीयवासी बताउँछन्।

पशु चौपायाको गोठ लिएर त्यहाँसम्म पुगिने हुँदा हेपुडाँडालाई रुकुमवासीसँगको सम्बन्ध स्थापित गर्ने माध्यमका रूपमा विकास गर्न सकिन्छ। अत्यधिक जंगली जनावर पाइने भएकाले पनि वैधानिक शिकारका लागि ढोरपाटन शिकार आरक्षकै प्रख्यात स्थलसमेत रहेको बताइएको छ।

गु्र्जा गाउँदेखि स्थानीय निकै कठिनका साथ पहिलो दिन मनसुङ भन्ने ठाउँमा बास बसेर अर्को दिन त्यहाँ पुग्न सकिने धौलागिरि गाउँपालिकाका प्रवक्ता तथा वडा अध्यक्ष झकबहादुर छन्त्यालले बताउनुभयो।

ग्रामीण पर्यटनका लागि सुन्दर स्थान भएकाले मानव बस्तीबाट धेरै टाढा जंगली जनावरलाई आँखैअगाडि देख्न सकिने भएको बताउँदै उहाँले बाटोको असहजताले गर्दा यसको सम्भावना हराउन थालेको गुनासो गरे। आरक्षबाट बन्दुक, गोलीगठ्ठा र सहयोगीसहित शिकारीहरू गएर त्यस क्षेत्रमा बस्ने गर्दछन्।

खर्चिलो र साहसी शिकारीले विदेशमा दुईवटै तालको प्रचारप्रसारसमेत गर्ने गरेको बताइएको छ। नजिकैका हिमाली सौन्दर्य, रमणीय खर्क, वनस्पति, वन्यजन्तु जस्ता विभिन्न दृष्यले मन आनन्दित पार्ने भएकाले पनि पर्यटन विकासमा प्राथमिकता दिन आवश्यक देखिन्छ।

यस स्थानबाट रुकुम जिल्लाको चालुखे भन्ने ठाउँमा पुग्न सकिन्छ। त्यहाँबाट दोगानी, डोबान हुँदै लम्सार भन्ने ठाउँमा प्रमुख आयस्रोत मानिने यार्सागुम्बा पाइन्छ। अग्लो स्थानमा रहेको ताललाई म्याग्दी जिल्लाले पर्यटकीय गन्तव्यको रूपमा विकास गर्नुपर्ने स्थानीय बासिन्दाको माग छ।

प्रतिक्रिया दिनुहोस्