प्रचण्डको कार्यकारी राष्ट्रपति बन्ने रणनीति पूरा होला त ?



प्रचण्ड कार्यकारी राष्ट्रपति बन्ने चर्चा नयाँ होइन। यो पुरानो हो। अहिले पार्टीको अध्यक्षमा पूरै अधिकार पाएका प्रचण्डले आफू कार्यकारी अधिकारसहितको प्रत्यक्ष राष्ट्रपति बन्ने महत्वाकांक्षा अझै पनि राखेका छन्। तत्कालीन नेकपा माओवादी शान्ति सम्झौतामा आएपछि प्रचण्डलाई गणतन्त्र नेपालको प्रथम राष्ट्रपतिका रुपमा प्रस्तुत गरिएको थियो।

तर, कार्यकारी अधिकार नहुँदा उनी राष्ट्रपतिको दाबीबाट पछि हटेर प्रधानमन्त्री बने। गिरिजाप्रसाद कोइरालालाई पनि राष्ट्रपति बन्नबाट रोके। जसलाई उनले राजनीतिक जीवनका गल्ती भनी स्वीकारेका छन्। प्रचण्डको राष्ट्रपति बन्ने उद्देश्य अझै देखिँदै छ। उनी कार्यकारी अधिकारसहितको राष्ट्रपति बन्न चाहन्छन्। तर संविधानमा त्यो व्यवस्था छैन।

प्रचण्डले संविधान संशोधन गरी कार्यकारी अधिकारसहितको प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको व्यवस्था गर्ने रणनीति बनाइसकेका छन्। विगतमा पनि उनले यो प्रस्ताव नराखेका होइनन्। नेपाली कांग्रेसको विरोधका कारण सफल भएन। प्रचण्डले यो विषयलाई बिस्तारै पुनः प्रवेश दिएका छन्। एकीकरणपछि नेकपा बनेयता कार्यकारी अधिकार पाएका उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग नयाँ सहमति गरेका छन्।

जसअनुसार विगतमा गरिएको आलोपालो प्रधानमन्त्री बन्ने सहमतिबाट पछि हटेका छन्। ओली अब पाँच वर्ष प्रधानमन्त्री बन्ने गरी ढोका खोलिदिएका छन्। यसमा उनले कुनै न कुनै ठोस निर्णय त पक्का गरेका छन्। आलोपालोबाट पछि हट्दा उनले अध्यक्षका रुपमा कार्यकारी अधिकार मात्र पाएनन् भित्री सहमति पनि बनाए।

जसमा भविष्यमा संविधान संशोधन गरी कार्यकारी अधिकारसहितको राष्ट्रपतीय प्रणालीमा जाने रहेको छ। प्रचण्डले यसको खुलासा हालैमात्र गरेका छन्।प्रचण्डले नेकपाको एकीकरणमा यतिसम्म लचिलो हुनुमा कार्यकारी अधिकारसहितको राष्ट्रपति बन्ने बाटो खोल्ने पनि देखिएको छ।

नेकपाभित्रकै केही प्रभावशाली नेताहरू कार्यकारी अधिकारसहितको राष्ट्रपतीय प्रणालीको पक्षमा विगतमा नै थिए। यसले पनि प्रचण्डलाई उत्साही बनायो। कमजोर भइसकेको माओवादी एमालेसँग मिल्दा प्रचण्डले पुनः शक्ति सञ्चय गरे। भविष्यमा नेकपामा झन् बलियो पकड बनाउने मार्गप्रशस्त गरे।प्रचण्डले एकता गरेर जोखिम मोले। उनले त्यत्तिकै जोखिम मालेका होइनन्। शान्ति सम्झौतामा आएयता कार्यकारी अधिकारसहितको राष्ट्रपति बन्ने उद्देश्य सफल बनाउन रहेको देखिँदै गएको छ।

– देवीप्रसाद अर्याल, काठमाडौं।

प्रतिक्रिया दिनुहोस्