दुर्गमको राजनीतिमा ध्यान नपुगेको हो कि ?



जिल्लाको पश्चिम क्षेत्रको राजनीति अलि भिन्न छ। स–सानो विषयलाई अतिरञ्जनापूर्ण बनाइन्छ। अर्को लामो समय देखिएको पश्चिमको पीडा के छ भने, भौगोलिकरुपले दुर्गम छ। राजनीतिक, सामाजिक लगायतका अनेक अवसरहरूमा उपेक्षित छ।

त्यसैले बेला–बेलामा फरक जिल्लाको माग उठिरहन्छ। अनि हुन्छ अखण्ड र खण्डको लामो बहस, विवाद र आन्दोलन। तर, हामी बिर्सिरहेका हुन्छौं दुर्गमका अनेक पीडा, भोगाइ र सकस। र, पछिल्लो समय विद्रोही स्वरहरू मुखरित हुन थालेका छन्।

बारबारको अनेक गुनासो, आक्रोश र क्रन्दनको बेवास्ताले सिर्जित परिस्थिति, परिवेशमा केही स्वरहरू चर्को हुनु स्वाभाविक हो। केही अभिव्यक्तिहरू आक्रोशपूर्ण हुनु अनौठो होइन। तर, यसमा पनि अनुशासनको सीमाहरू निर्धारित छन्। त्यो कुनै विधान, संविधानमा लेखिएको नहोला। हाम्रा विवेक, नैतिकताहरूले त्यसलाई बाँध्न सक्नुपर्छ।

चुनावी रौनकता प्रारम्भ भएसँगै नेकपाको बागी उम्मेदवारी, उम्मेदवारी फिर्ताका क्रममा भएको ‘अपहरण’, प्रहरी पहल, हेलिकप्टरमार्फत सदरमुकाम आगमन, उम्मेदवारी समय समाप्ति, सार्वजनिक वक्तव्यमार्फत उम्मेदवारी घोषणा र नेकपाद्वारा दुई नेतालाई निलम्बितको निर्णयलगायतका कार्यसम्म आइपुग्दा ती गतिविधि स्वाभाविक देखिएन।

नेपाली कांग्रेसभित्र पनि पश्चिम क्षेत्रको आवाज फरक जिल्लाको छ। जिल्लाबाट कुनै न कुनै किसिमको उपेक्षामा परेको गुनासो त्यस क्षेत्रका नेता कार्यकर्ताको छ। राजनीति, लोकतन्त्रमा प्रतिस्पर्धा हुन्छ। यो निश्चित र स्वाभाविक हो।

कुरा यति मात्र हो कि राजनीतिलगायतका सबै क्षेत्रमा स्वश्थ प्रतिस्पर्धा हुनुपर्छ।राजनीति स्वच्छ नभएसम्म अरू कुनै एक–दुई क्षेत्र राम्रो भएर समाज र देश राम्रो बन्दैन र बन्न सम्भव छैन।अतः राजनीतिभित्रका बेथिति, गलत संस्कार र प्रवृत्ति अन्त्य गर्न लाग्नुपर्छ। अहिलेको पछिल्लो परिघटनामा पनि राजनीतिभित्रको अनुशासन अपरिहार्य छ।

तर, राजनीतिमा समर्पित भएकाहरूले पनि सबैको आवश्यकता, चाहना र भावना बुझ्न सक्नुपर्छ। पश्चिम क्षेत्रको वर्षौंदेखि पछि पारिनुको पीडा अभिव्यक्त गर्नुलाई नै अपराधको रुपमा हेरिनु हुन्न। पश्चिमको अवसर, अधिकारको आवाज उठाउनेहरूले पनि अनुशासन, जिम्मेवारी र मर्यादा भुल्नुहुँदैन। पश्चिम क्षेत्रका नागरिकलाई फरक जिल्लाको नागरिकको व्यवहार र अनुभूति हुन कदापि दिनुहुँदैन।

– प्रदीप कोइराला, भिरकोट न.पा.,

स्याङ्जा। हालः काठमाडौं।

प्रतिक्रिया दिनुहोस्