चार करोडभन्दा बढी ठगी गर्ने पक्राउ

0
Shares

काठमाडौं (नेस)।

नक्कली कागजात तयार गरी नगद चार करोड ६० लाख ठगी गरेको आरोपमा छ जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सुनसरी इटहरीका एभरेष्ट कन्सल्टेन्सीका इञ्जिनियर भेषराज खत्री, मोरङ बेलबारी–३ का इञ्जिनियर कर्ण चामलिङ, मकवानपुर हेटौंडा–४ घर भई काठमाडौं–३१ नयाँ बानेश्वरमा बस्दै आएका सुरेन्द्र श्रेष्ठ, काठमाडौं–३ महराजगन्ज चक्रपथका भुपेन्द्र श्रेष्ठ, चितवन भण्डारा–९ घर भई हाल काठमाडौं नयाँ बानेश्वरमा बस्दै आएका ऋषिश्वर थपलिया, उदयपुर गाईघाट घर बताउने हाल काठमाडौं–७ चाबहिलमा बस्दै आएका कृष्ण कार्की रहेका छन्।

राजमार्गसँग जोडिएको जग्गा देखाएर खोलाको बगर धितो राखी ठगी गरेको आरोपमा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो।

नक्कली कागजात बनाएर काठमाडौँ–३१ का सुरेन्द्र श्रेष्ठले सञ्चालन गरेको स्वर्णिम एण्ड श्रीजन कम्पनीको लागि बैंकबाट रु चार करोड ६० लाख कर्जा निकालिएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको हो।

बैंकिङ कसुर र सरकारी छाप कीर्ते गरी नक्कली कागजात तयार गरेको अरोपमा उनीहरूलाई पक्राउ गरिएको हो। राजमार्गसँगै जोडिएको जग्गाको नक्कली नक्सा बनाएर खोलाको बगर धितो राखेको प्रहरीले जनाएको छ।

उनीहरूले झापा कनकाई–९ स्थित कित्ता नं ३५९६ को ०–२–१० बिघा र कित्ता नं ३२७१ को ०–२–० बिघाको जग्गाको कीर्ते नक्सा तयार गरी खोला बगरको जग्गालाई राजमार्गमा जोडिएको जग्गा देखाएर ठगी गरेको हो।

उनीहरूविरुद्ध गत असोज ६ गते जिल्ला प्रहरी कार्यालय झापामा मुद्दा दर्ता भएको थियो। पक्राउ परेका माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Skip This