मेयर कप टेबुल टेनिस हुँदै

0
Shares

नेपाल समाचारपत्र, ललितपुर।

सप्ताहव्यापी दोस्रो मेयर कप २०७६ टेबुल टेनिस प्रतियोगिता यही कार्तिक २३ गते शनिबार ललितपुरको नागबहालमा शुरू हुने भएको छ।जिल्ला टेबल टेनिस संघ र इतिल्हन युथ क्बलको आयोजनामा हुन लागेको हो सो प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको मंगलबार आयोजित पत्रकार भेटघाटमा बताइयो।

हरेक दिन साँझ ५ बजेदेखि ६ बजेसम्म हुने सो खेलमा मेन्स टिम इभेन्ट, मेन्स सिंगल, डभल, वुमेन, जुनियर गरी १२ प्रकारका इभेन्ट हुने छन्। सो प्रतियोगितामा १ देखि २९ वडाका करिब ४ सय खेलाडी सहभागी हुने राष्ट्रिय प्रशिक्षक राजेन्द्र कपालीले जानकारी दिनुभयो।

ललितपुर महानगरपालिका क्षेत्रमा टेबुलटेनिस खेलको विकासको लागि गत वर्षदेखि सो प्रतियोगिताको थालनी भएको थियो। गत वर्ष महानगरपालिका –११ मा सो प्रतियोगिता भएको थियो।

यस खेल सञ्चालनका लागि कुुल लागत ८ लाख ५० हजार रुपियाँ रहेकोमा ललितपुर महानगरपालिका–१६ वडाले २ लाख रुपियाँ आर्थिक सहयोग उपलब्ध गराएको पनि जानकारी गराइयो।

प्रतियोगिताको नाउँ मेयर कप भएकोले ललितपुर महानगरपालिकाबाट उल्लेखनीय आर्थिक सहयोग प्राप्त हुनेमा आशावादी रहेको पनि बताइएको छ।

यसैबीच खेलको नाउँ मेयर कप राखिए पनि लागत रकम जुटाउन धौ धौ परेको सम्बन्धमा आयोजकले चिन्ता व्यक्त गरेका छन्। रकम अभावले गर्दा प्रतियोगिता विजयी खेलाडीलाई आकर्षक नगद पुरस्कार दिन नसकेको बताएका छन्।

प्रतियोगिताका विजयी खेलाडीहरूलाई सिंगल ईभेन्टमा प्रथम १० हजार रुपियाँ, द्वितीय ५ हजार रुपियाँ र तृतीय हुने खेलाडीलाई ३ हजार रुपियाँ पुरस्कार प्रदान गरिने तय गरिएको छ।

नाउँ मयेर कप राखिएपनि प्रायोजक खोज्नुपर्ने बाध्यतालाई कसरी लिने भन्ने पत्रकारको जिज्ञासामा ललितपुर महानगरपालिका–१६ वडाध्यक्ष एवं आयोजक समितिका अध्यक्ष निर्मलरत्न शाक्यले यस विषयमा महानगरपालिकासँग कुराकानी भइरहेको जानकारी दिँदै पर्याप्त रकम उपलब्ध गराउने विश्वास व्यक्त गर्नुभयो।

Skip This