गैसस महासंघ म्याग्दीको १८औं साधारणसभा तथा नवौं अधिवेशन सम्पन्न



प्रताप बानियाँ,म्याग्दी ।

‘दीगो विकास साझा अभियान’ भन्ने मूल नारासहित गैरसरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा म्याग्दीको १८औं साधारणसभा तथा नवौं अधिवेशन शुक्रबार सदरमुकाम बेनीमा सम्पन्न भएको छ ।अधिवेशनको उद्घाटन गर्दै गैरसरकारी संस्था महासंघ नेपालका केन्द्रीय महासचिव रामप्रसाद सुवेदीले देशमा प्रजातन्त्र आएर गणतन्त्र, संघीयता आइसक्दा पनि गैससलाई अझै प्रजातन्त्र नआएको बताए ।

 

उनले संस्था दर्ता ऐन–२०३४ संशोधन गर्नुपर्ने बताउँदै यसलाई परिवर्तन गरी सहज बनाउनुपर्ने आवश्यकता रहेकोमा जोड दिएका छन् । महासचिव सुवेदीले सरकारले लिने अन्तर्राष्ट्रिय सहायतालाई पारदर्शी बनाउनुपर्ने माग गर्दै गैरसरकारी संघसंस्थालाई डलर खेती गर्ने भनेर आरोप नलगाउन चेतावनी दिए ।

उनले नेपालमा भित्रिने अन्तर्राष्ट्रिय सहायताको कुल रकममध्ये ८७ प्रतिशत सरकारले लिने बताउँदै १३ प्रतिशत मात्रै गैसस संघसंस्थाहरुले पाउने पनि स्पष्ट पारेका छन् ।

सोही कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्रबहादुर केसीले दुर्गम क्षेत्रमा पुगेर गैरसरकारी संघसंस्थाहरुले काम गर्दै आइरहेको हुँदा यसका लागि आवश्यक सहयोग गर्न प्रतिबद्ध रहेको बताए ।

बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले आफ्नो कार्यक्रमसहित आउने गैससहरुलाई नगरपालिकामार्फत आवश्यक सहयोग गरिएको बताए । कार्यक्रमको अवसरमा गैरसरकारी संस्था महासंघलाई सहयोग गरेको भन्दै सल्लाहकार मुक्तिप्रसाद ढुङ्गानालाई दोसल्ला र प्रमाणपत्रसहित सम्मान गरिएको छ ।

यसैगरी पत्रकारिताको माध्यमबाट गैससको कार्यक्रमहरुमा सहयोग पु¥याएकोमा टोड्के न्युज डटकमका अनिल उपाध्यायलाई नगद चारहजार रुपैयाँसहित प्रमाणपत्रले सम्मान गरिएको थियो ।

कार्यक्रममा नेपाली कांग्रेस म्याग्दीका सचिव क्या. मिनबहादुर कार्की, गैसस महासंघ गण्डकी प्रदेशका अध्यक्ष विना सिलवाल र म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्यले मन्तव्य राखेका थिए ।

साधारणसभाको उद्घाटनसत्रमा गैसस महासंघका जिल्ला अध्यक्ष हरिप्रसाद पौडेलले प्रगति र कोषाध्यक्ष विष्णु रोकामगरले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रम अध्यक्ष पौडेलको अध्यक्षता, उपाध्यक्ष दिपक पौडेलको स्वागत र सचिव निरमाया मिजारको सञ्चालनमा सम्पन्न भएको थियो ।

यसैबीच गैरसरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा म्याग्दीको १८औं साधारणसभा तथा नवौं अधिवेशनबाट अध्यक्षमा दिपक पौडेल चयन भएका छन् । शुक्रबारै सम्पन्न अधिवेशनले पौडेलको अध्यक्षतामा महासंघ जिल्ला शाखाको नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।

यसैगरी शाखाको उपाध्यक्षमा अमर बानियाँ, सचिवमा निरमाया मिजार, कोषाध्यक्षमा ज्योती लामिछाने र उपसचिवमा प्रकाश रेग्मी निर्वाचित भएका छन् । कार्यसमिति सदस्यहरुमा भीमबहादुर रिजाल, नेकसरा पुन, बद्रिप्रसाद पौडेल, विज्ञान सुवेदी, कुमार थापा र रञ्जना श्रेष्ठ निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्