सांसद पार्वत गुरुङलाई अदालतमा उपस्थित हुन आदेश

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।गत स्थानीय निर्वाचनमा दोलखामा भएको एक हिंसात्मक घटनाको विषयलाई लिएर सांसद पार्वत गुरुङलाई अदालतमा उपस्थित हुन जिल्ला अदालत काठमाडौंले आदेश जारी गरेको छ।

२०७४ साल वैशाख २४ गते गौरीशंकर गाउँपालिका–२ मा पूर्वएमाले कार्यकर्ता कुलबहादुर तामाङको हत्याको विषयलाई लिएर भएको विवादमा राजधानीमा गत वैशाख २९ गते कुटाइ खाएका वीरध्वज खड्काले सांसद पार्वत गुरुङसहित ७ जनाविरुद्ध ज्यान मार्ने उद्योगअन्तर्गत जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेका थिए।

तामाङको हत्यापछि फरार रहेका खड्कालाई गत वैशाख २९ गते पूर्वएमालेका कार्यकर्ताले मरणासन्न हुने गरी राजधानीको सिनामंगलमा कुटपिट गरेका थिए। कुटाइ खाएका खड्काले पूर्वएमाले कार्यकर्ताले सांसद गुरुङलगायत अन्य ७ जनाको निर्देशनमा आफूमाथि कुटपिट भएको भन्दै जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेका थिए।

जिल्ला अदालत काठमाडौंले सांसद गुरुङको स्थायी निवास गौरीशंकर गाउँपालिका–५ सुरीमा रहेको घरमा म्याद तामेल गरेको छ। जिल्ला अदालत काठमाडौंका स्रेस्तेदार आनन्द श्रेष्ठले उक्त आदेशको बारेमा जानकारी दिएपछि सांसद गुरुङमाथि पक्राउ पुर्जी जारी भएको समाचार बाहिरिएको थियो।

पूर्वएमाले कार्यकर्ताहरू कुटाइ खाएका खड्काले सांसद गुरुङसहित गौरी शंकर गाउँपालिकाकी उपाध्यक्ष उर्मिला थामी, मीनबहादुर तामाङ, कर्ण तामाङ, जीवन तामाङ, सविन तामाङ र सागर तामाङविरुद्ध ज्यान मार्ने उद्योगमा उजुरी दर्ता गराएका थिए।

अदालतमा उपस्थित हुन म्याद तामेल गरिएका सांसद गुरुङले आफू अदालतमा हाजिर हुन जाने बताउनुभयो। उहाँले जुन व्यक्तिले मलाई आरोप लगाएर अदालतमा उजुरी दर्ता गराएका छन् म त्यो घटनामा संलग्न छैन र थाहा पनि छैन। अदालतको सम्मान गर्दै आफू अदालतमा तोकिएकै मितिमा हाजिर हुनेसमेत जानकारी दिनुभयो।

तामाङ हत्या प्रकरणमा पूर्वमाओवादी नेतृ देवी खड्कासहित ४० जनाविरुद्ध तत्कालीन एमालेले जिल्ला प्रहरी कार्यालय दोलखामा उजुरी दर्ता गराएको थियो। जिल्ला प्रहरी कार्यालयले उक्त मुद्दामा आरोपित खड्कासहितका व्यक्तिलाई सफाइ दिए पनि वीरध्वज खड्का भने राजधानीमा लुकेर बस्दै आएका थिए।

Skip This