रंगभेदको छायामा इंग्ल्यान्डको जित

0
Shares

लन्डन, (एजेन्सी)।युरो–२०२० छनोटअन्तर्गत् इंग्ल्यान्डको बुल्गेरियामाथिको सानदार जित रंगभेदको लज्जास्पद घटनाद्वारा छायामा परेको छ।
सोमबार राति बुल्गेरियाको राजधानी सोफियामा भएको खेल रंगभेदका कारण दुईपटक रोक्नुपरेको थियो।

साथै अधिकारीहरूले खेलै स्थगित गर्ने चेतावनी पनि दिएका थिए। गेरेथ साउथगेटको टोलीले ६–० को जित हात पारेको थियो। भासिल लेभस्की रंगशालामा इंग्ल्यान्डका डेबु गरेका टाइरोन मिंग्स शुरूमै रंगभेदका शिकार बनेका थिए।

रेफ्री इभान बेबेकले २८औं मिनेटमा रहिम स्टर्लिङलाई रंगभेदको गाली गर्दा खेल रोकेका थिए। तर, केही समयको छलफलपछि खेल सुचारु भएको थियो। पहिलो हाफको समाप्तिपछि बुल्गेरियाका कप्तान इभेलिन पोपोभले रंगशालामा रहेका समर्थककहाँ गएर उपद्रो नगर्न अपिल गरेका थिए।

तर, दोस्रो हाफमा पनि बुल्गेरियाका समर्थकले नाजी सलाम र बाँदरले गर्ने व्यवहार गरेर इंग्ल्यान्डका खेलाडीलाई चिढाएका थिए।
इंग्ल्यान्डका लागि पुनः टोलीमा फर्केका मार्कुस रासफोर्डले खेलको सातौं मिनेटमा गोल गरेका थिए। रोस बार्कलीले किइरान ट्रिपिइरको क्रसमा २०औं मिनेटमा गोल गरेपछि इंग्ल्यान्ड २–० को अग्रतामा रहेको थियो। उनले नै ३२औं मिनेटमा टोलीका लागि तेस्रो गोल गरे। स्टर्लिङले पहिलो हाफको इन्जुरी समयमा एक गोल थपेपछि इंग्ल्यान्डले पहिलो हाफमा ४–० को अग्रता लिएको थियो। उनले नै ६९औं मिनेटमा अर्को गोल थपेका थिए। कप्तान हेरि केनले ८५औं मिनेटमा टोलीका लागि छैटो गोल गरेका थिए। योसँगै इंग्ल्यान्ड अन्तिम चरणमा पुग्ने सम्भावना बढेको छ।

 

Skip This