गाउँपालिकाको केन्द्र विवाद पेचिलो बन्दै



विनोदसिंह विष्ट, बैतडी ।बैतडीको डिलाशैनी गाउँपालिकाको केन्द्र विवाद झन् पेचिलो बन्दै गएको छ। संघर्ष समितिले शुक्रवार गोकुलेश्वरमा आयोजना गरिएको कार्यक्रममा गाउँपालिका अध्यक्ष उकेन्द्र बोहरा र नेकपाका अध्यक्ष सुरेन्द्र पाललाई गालीगलौज गरेको भन्दै प्रहरीमा निवेदन परेपछि संघर्ष समितिका संयोजक जयराज जोशी र विरेन्द्र धामीलाई प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको छ।

संघर्ष समितिले आयोजना गरेको कार्यक्रमपछि दुवै पक्षबीच विवाद हुँदा सोधपुछका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिनुभयो। आज दुवै पक्षलाई बोलाएर छलफल गरिने उहाँले बताउनुभयो।

तर प्रहरीको नियन्त्रणमा रहेका संघर्ष समितिका अध्यक्ष जोशीले भने आफूहरुलाई गाउँपालिका अध्यक्ष उकेन्द्र बोहरा र नेकपाका अध्यक्ष सुरेन्द्र पालको ठाडो आदेशमा पक्राउ गरिएको आरोप लगाउनुभएको छ। आफूहरुलाई पक्राउ पुर्जीमा हस्ताक्षर गराएर नियन्त्रणमा लिएको उहाँले बताउनुभयो।

यो बिषयमा नेकपा अध्यक्ष सुरेन्द्र पालले सार्वजनिक कार्यक्रममा व्यक्तिगत आरोप लगाएर गाली गलौज गरेकाले विद्यार्थी संगठनका पदाधिकारीहरुले प्रहरीमा निवेदन दिएको बताउनुभयो। गाउँपालिकाको केन्द्रका बिषयमा व्यक्तिलाई जोडेर गालीगलौज गर्नु उचित नभएको उहाँको भनाई छ। डिलाशैनी गाउँपालिकाको केन्द्र निर्धारणका बिषयमा विज्ञ टोली बोलाउने गाउँपालिकाले निर्णय गरेपछि वडा नं ७ र ४ का स्थानीयबासी आन्दोलित भएका छन्।

उनीहरुले संघर्ष समिति गठन गरेर साविकको डिलाशैनी गाविसमै गाउँपालिकाको केन्द्र हुनुपर्ने माग गरेका छन्। तर गाउँपालिका अध्यक्ष उकेन्द्र बोहराले भने गाउँपालिकाको केन्द्र सार्ने बिषयमा कुनै निर्णय नभएको र अध्ययनका लागि मात्रै विज्ञ टोली बोलाउने निर्णय भएको जानकारी दिनुभयो। गाउँपालिका केन्द्रका बिषयमा गाउँपालिकाबासीसंग बसेर छलफल गरेर टुंगोमा पुग्ने उहाँले जानकारी दिनुभयो।

यसअघि संघर्ष समितिले वडा नं ४ र ७ का सम्पूर्ण सरकारी कार्यालय दुई दिन बन्द गरेको थियो। गएको १ बर्षदेखि गाउँपालिका वडा नं पंसेरामा सम्पर्क कार्यालय स्थापना गरि सेवा प्रदान भइरहेको छ। गएको भदौ २५ गते गाउँकार्यपालिकाको बैठकले केन्द्र स्थापनाको लागी उपयुक्त स्थान खोजी बिज्ञ टोली बोलाउने निर्णय गरेको छ। सो निर्णय गरेसंगै स्थान्ीय बासिन्दा आन्दोलित भएका हुन्। उनीहरुले गाउँपालिका, जिल्ला प्रसासन कार्यालय, जिल्ला समन्वय समितिमा समेत ज्ञापन पत्र बुझाइसकेका छन्।

गाउँपालिका केन्द्रको लागी उपयुक्त स्थान छनौट गर्न बिज्ञ टोली बोलाउन १२ लाख ५० हजार रकम समेत गाउँपालिकाले बिनियोजन गरेको छ। सामाजिक अध्ययन र पूर्वाधारको अध्ययनको लागी बिज्ञ टोली बोलाउने गाउँकार्यपालिकाको बैठकले गरेको गाउँपालिका अध्यक्ष बोहराले बताउनुभयो।

उहाँले भन्नुभयो– ‘भविष्यसम्मको लागी उपयुक्त स्थानमा केन्द्र छनौट हुन्छ।’उक्त विज्ञ टोलीले गाउँपालिकाभरी भुगर्व तथा भुगोलको अध्ययन गर्नुका साथै बिपद्को जोखिमका बारेमा पनि अध्ययन गर्ने गाउँपालिका अध्यक्ष बोहराको भनाई छ।

विज्ञ टोलीले गाउँपालिकाभित्र सामाजिक र पूर्वाधारको अध्ययन गरी टोलीले बुझाएको प्रतिवेदनका आधारमा गाउँसभाले निर्णयले गर्ने जनाईएको छ। राज्य पुनर्संरचना हुँदा सविकको डिलाशैनी गाविस (हालको वडा नं ७) मा गाउँपालिका केन्द्र तोकिएको र त्यसपश्चात गाउँकार्यपालिकाको पहिलो बैठकले पनि डिलाशैनी गाविसभित्र उपयुक्त स्थान छनोट गर्ने निर्णय गरेको थियो।

 

प्रतिक्रिया दिनुहोस्