सम्झौता कति ऐतिहासिक ?



नेपालको मैत्रीपूर्ण निमन्त्रणमा दुईदिने राजकीय भ्रमणमा आउनुभएका जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी जिन पिङको नेपाल भ्रमणको क्रममा सम्पन्न २० बुँदे सम्झौताले सबैमा तरंग सिर्जना गरेको छ । चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण एक छिमेकी राष्ट्रप्रमुखको मात्र भ्रमण नभएर उदीयमान महाशक्ति राष्ट्राध्यक्षको २३ वर्षपछि भएको भ्रमणले सिर्जना गरेको तरंग त छँदै छ, साथमा यातायातलगायतका क्षेत्रमा चिनियाँ सहयोग नयाँ उत्साहको विषय बनेको छ ।

चिनियाँ राष्ट्रपति सीले राजनीतिक स्थायित्व, दुई देशबीच भएका सहमति र सम्झौता कार्यान्वयनमा जोड दिनुभएको छ । नेपालमा २२ घन्टाको बसाइँमा सीले नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र सत्तारूढ दल नेकपा, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेताहरूसँग भेटवार्ता गरेर दुई देशको सम्बन्धलाई थप उचाइमा पुर्याउनुभएको छ ।

बनाएको योजना कार्यान्वयन गरेर नै चीनको विकास गरेका हौं भन्ने सन्देश दिनुभएका उहाँले बोलीमा भन्दा पनि काममा विश्वास गर्ने सन्देश दिनुभएको छ ।

सगरमाथासहित हिमालयन क्षेत्रको रक्षा गर्ने प्रतिबद्धता जनाउँदै राष्ट्रपति सीले नेपाल भ्रमण वर्ष–२०२० मा थप पर्यटक नेपाल पठाउन चिनियाँलाई उत्प्रेरित गर्ने जनाउनुभएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुर र मुक्तिनाथको भ्रमणपछि ती दुवै धार्मिकस्थलमा धार्मिक पर्यटकको संख्या बढेजस्तै गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा पनि चिनियाँ बौद्धमार्गी पर्यटकको संख्या बढ्ने आस पलाएको छ ।

नेपालको राजनीतिक स्थायित्व, सामाजिक सद्भाव र जनताको सुखी जीवनप्रति राष्ट्रपति सीले दुई देशले अझ घनिष्ठ राजनीतिक सम्बन्ध राख्ने विश्वास व्यक्त गर्नुभएको छ ।

बढीभन्दा बढी नाकाहरू खोली हिमालय वारपार बहुआयामिक सम्पर्क सञ्जालको निर्माण गर्ने, नेपालको भू–परिवेष्ठित देशबाट भू–जडित देश बन्ने सपना साकार तुल्याउन मद्दत गर्ने सीको प्रतिबद्धता नेपालका लागि निकै ठूलो सफलता हो ।

राष्ट्रपति सीले चीन–नेपाल सीमापार रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने घोषणा गर्नुभएको छ जो नेपालीका लागि अत्यन्त उत्साहको सन्दर्भ हो । केरुङ–काठमाडौं जोड्ने गरी रेलमार्ग बन्न सकेमा नेपालले समृद्धिमा ठूलो फड्को मार्ने निश्चित छ ।

केरुङदेखि काठमाडौंसम्मको रेलमार्ग अधिकांशतः सुरुङका रूपमा रहने र दूरीका हिसाबले चीन निकै नजिकिने परियोजनाले देखाएको ।

यसै गरी अरनिको राजमार्गको सञ्चालनलाई सुनिश्चित बनाई त्यसलाई विभिन्न चरणमा स्तरोन्नति गर्ने प्रतिबद्धताले पनि नेपालीमा उत्साह थपेको छ । यस भ्रमणले चीन र नेपालबीचको सम्बन्धका नयाँ खाका र योजनाहरू बनाउन सफलता मिलेको छ ।

नेपाल–चीनबीच सीमा व्यवस्थापन प्रणाली, प्रशासनिक क्षमता वृद्धिका लागि सहकार्य आदान–प्रदान गर्ने, आपराधिक मामिलामा दुईपक्षीय कानुनी सहायताको सन्धि, सगरमाथा संरक्षणमा सहकार्य गर्ने समझदारी पनि भएको छ । सीले नेपाल भ्रमणको क्रममा ५६ अर्ब सहयोग गर्ने घोषणा गर्नुभएको छ ।

नेपाल र चीन दुवैले सहमति र सम्झौता कार्यान्वयन गर्ने कार्यमा ध्यान दिनुपर्छ । दुवै देशले आगामी दिनमा मैत्रीपूर्ण सम्बन्धलाई थप उचाइमा पुर्याउने गरी काम गर्नुको विकल्प छैन ।

वस्तुतः चिनियाँ राष्ट्रपति सीको भ्रमणको सफलता सम्झौता गर्नुमा भन्दा त्यसको कार्यान्वयनमा निर्भर गर्दछ । उहाँको भ्रमणलाई साँच्चिकै ऐतिसिक बनाउन तदारुकताका साथ कार्यान्वयनमा लाग्नु आवश्यक छ ।

 

प्रतिक्रिया दिनुहोस्