बेलबारी गोल्डकप सिलिगुडीलाई


नेपाल समाचारपत्र, मोरङ

मोरङको लक्ष्मीमार्गमा सम्पन्न तेस्रो बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको उपाधि भारतको रोयल फुटबल क्लब सिलिगुडीले जितेको छ।

बेलबारी नगरपालिका–११ स्थित लक्ष्मीमार्गको मैदानमा मंगलबार भएको फाइनल खेलमा धरान फुटबल क्लबलाई ४–१ गोल अन्तरले निरास बनाउँदै पाहुना टोली सिलिगुडीले उपाधि कब्जा गरेको हो। विजेताले ५ लाख रुपियाँ जित्दा घरेलु मैदानमा निरास बनेकोे धरानले २ लाख ५० हजार रुपियाँमा चित्त बुझायो।

मध्यान्तर अघिसम्म समान प्रदर्शन गरे पनि मध्यान्तरपछि धरानको प्रदर्शन फितलो रहयो। खेलाडीबीच आपसी तालमेल मिल्न नसक्दा र फिनिसिङ कमजोर हुँदा धरान उपाधिविहीन बन्यो। स्ट्राईकर भरत खवास र कर्ण लिम्बू जम्न नसक्नु टोलीका लागि दुर्भाग्यपूर्ण बन्यो। खेलमा धरानमाथि हाबी देखिएको सिलिगुडीले सुरुआती १० मिनेटमै गोलको खाता खोलेर अग्रता लिएको थियो।

सिलिगुडीका निरज बस्नेतको थ्रोलाई धरानका खेलाडीले क्लियर गर्न नसक्दा कप्तान आदर्श तामाङले पोस्टको दिशा दिएका थिए। पहिलो हाफ १–० को अवस्थामा सकियो। ५७औं मिनेटमा सिलिगुडीले अग्रता दोब्बर बनायो। रक्षापंक्तीका मनोज राईलाई छक्याउँदै गोलरक्षक लक्की कार्कीलाई बिट गरेर सिलिगुडीका निशान लिम्बूले गरेको प्रहारले पोस्ट छुँदा खेल २–० को अवस्थामा पुग्यो।

सिलिगुडीका अमन थापाले ६९ औं मिनेटमा टिमका लागि तेस्रो गोल गर्दै अग्रता फराकिलो पारे। कप्तान आदर्शको पासमा एक्लै अघि बढेका थापाको प्रहारले जाली चुम्दा खेल ३–० को अवस्थामा पुग्यो। सत्यम शर्माले ७१ औं मिनेटमा गोल थप्दै सिलिगुडीलाई फराकिलो अन्तरको जित दिलाए। कैलास बस्नेतका ठाउँमा ६९ मिनेटमा मैदान छिरेका उनले त्यसको २ मिनेट पनि बित्न नपाउँदै वान भर्सेस वानको स्थितिलाई सदुपयोग गरेका थिए।

उमेश राईले ७४ औं मिनेटमा वान भर्सेस वानको स्थितिमा सिलिगुडीका गोलरक्षक किशोर गिरीलाई विट गर्दै धरानका लागि सान्त्वना गोल फर्काए। ६०औं मिनेटमा विशाल राईका ठाउँमा मैदान गएका उनले गोल गर्ने केही अवसर सिर्जना गरे पनि सदुपयोग गर्न सकेनन्।

म्यान अफ दी म्याच धरानका मनोज राई घोषित हुँदै ५ हजार नगद पुरस्कार पाए। डाँगीहाट युथ क्लबको आयोजनामा भएको प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी सिलिगुडीबाट खेलेका निशान लिम्बू घोषित भए। उनले २५ हजार नगद पुरस्कार पाए। प्रतियोगिताको उत्कृष्ट डिफेन्स भारतका निरज बस्नेत, मिड फल्डर आदर्श तामाङ, स्ट्राईकर श्याम सरकार, गोलरक्षक किशोर गिरी र उत्कृष्ट प्रशिक्षक भारतका कमल सुब्बा बने।

उनीहरूले जनही ७ हजार नगद पुरस्कार पाए। उदियमान खेलाडी आयोजक डाँगीहाट युथ क्लबका शंकर राई घोषित भए।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।