एलबी भण्डारी
हिजोआज जानिदो र नजानिदो तरिकाले पनि युवाहरू सामुदायिक पुस्तकालयमा ज्ञान आर्जन गर्न बौद्धिक उत्तेजनोन्मुख छन्। फल तलतिर पृथ्वीमै किन झर्छ भनेर न्युटनले अनुसन्धान गरेकाले पृथ्वीको गुरुत्वाकर्षणले तलतिर झर्छ भन्ने पत्ता लगाएका हुन्।
तपाईं तमाम युवा पनि जिन्दगीका रङ्गीन लक्ष्यहरू पत्ता लगाउन र त्यसलाई चुम्नका लागि सामुदायिक पुस्तकालयलाई आकर्षणको केन्द्र बनाउनुस्।
गाउँ–गाउँमा आजको युग या आजको दिनसम्म पनि ज्ञानका लागि अध्ययन सामग्री पुस्तक, पत्रपत्रिका, कम्प्युटर, इन्टरनेट र अन्य सामग्री सबैका लागि निःशुल्क पहुँचको त के कुरा, अभावै अभाव छ।
जहाँ सामुदायिक पुस्तकालय बनेका छन्, त्यहाँ पुस्तकालयले सेवा दिनुअघि पनि पूरै अभाव नै थियो।स्थापित पुस्तकालयको सेवाको पहुँच कतिपयमा पुस्तकालय कक्षबाट पुस्तक र पत्रमत्रिकामा मात्र छ।
कतिपय नयाँ स्थापित पुस्तकालयमा पुस्तक, पत्रपत्रिका, कम्प्युटर इन्टरनेट, चार्ट, पजल, खेलौना, संगीत तथा खेलकुद सामग्री, श्रव्य दृश्य, विपद जोखिमका सामग्रीको प्रयोग, अध्ययन तथा अवलोकनबाट स्तरीय सूचना, ज्ञान र सीप प्राप्त भइरहेका छन्।
अहिले अशिक्षा र चेतनाको दीप निभेको अवस्था छ। सामूहिक सहभागिता हुने स्थान नहुनु र एकताविना व्यक्तिगत जीवनले उपलब्धिबाट हारिरहेको अवस्था हो। सामूहिक छलफल हुन नपाउनु हरेक व्यक्तिमा भएका नवीनतम तरिका ओइलाउनु या प्रयोगविहीन भई समाज नजगमगाउनु हो।
गम्भीर कुरा त हामी युवाहरूको चाहना के भने, करोडौं लगानी हुने मन्दिर र गुफा हाम्रा सांस्कृतिक हृदय हुन यसको विकास त गर्नु नै छ तर युगका युवाले तत्काल आवश्यकता वा माग्ने कुरा प्रत्यक्ष ज्ञान आर्जन गर्ने केन्द्र खोलौं भन्ने हो, जसको सम्बन्ध र प्रयोगले हाम्रो जीवन र समाज अनि देशले जितिरहनुपर्छ भन्ने हो।
युवावर्ग जसले चाहे मोबाइल तथा कम्प्युटरको प्रयोगमार्फत फेसबुक, इमेल, इन्टरनेट चलाऊन्, चाहे पुस्तक अध्ययन गरुन्, चाहे पत्रपत्रिका अध्ययन गरुन्, त्यसले सत्य सूचना, ज्ञान र सीप प्राप्त गरिरहेको कुरामा तीव्र परिवर्तन देख्न पाइरहेका छौं। हाल हामी यही अभियानमा तल्लीन पनि छौं।
२८ वर्षअघिदेखि रिड नेपालले गाउँ–गाउँमा सामुदायिक पुस्तकालय बनाउने आफ्ना परियोजनाहरू निरन्तर चलाइरहेको छ। नेपालको ४२ वटा जिल्लामा ६८ वटा सामुदायिक पुस्तकालय निर्माण गरिसकेको छ।
पुस्तकालय निकै आधुनिक मोडेलको हुन्छ। यसमा पुस्तकालय कक्ष, बालकक्ष, महिला कक्ष, सूचना प्रविधि कक्ष, श्रव्य दृश्य कक्ष, विपद् जोखिम न्यूनीकरण कक्षका साथै युवाकक्ष पनि व्यवस्थित भएको पुस्तकालय बनाउने गरेको छ।
हाल दोलखा र नुवाकोट जिल्लामा यी सबै कक्ष भएको साथै अपाङ्गता मैत्री, बहुप्रकोप प्रतिरोधात्मक सामुदायिक पुस्तकालयले सेवा दिइरहेको छ। अबका यस्ता आधुनिक तथा बहुसेवामुखी पुस्तकालयमा सबै लगायत अपाङ्गता भएका मानिसले समेत गौरवका साथ सेवा लिइरहेका छन्।
मानवीय स्रोत नै दुनियाँलाई तीव्र विकास गर्न सक्ने शक्ति हो। जुन देशमा युवाहरूको संख्या अत्यधिक छ त्यो देश नै सबैभन्दा शक्तिशाली छ भनेर भन्न सकिन्छ। नेपालको सन्दर्भमा पनि हामी शक्तिवान् देशका नागरिक हौं। किनकि यहाँ पनि युवाहरूको सङ्ख्या धेरै छ।
तर विडम्बना दैनिक ५ सय युवा भारतमा र खाडी मुलुकमा दैनिक १५ सय युवा श्रमका लागि जाने गर्दछन्। तर समय र युग परिवर्तनसँगै नेपालमा जे–जति युवाहरू छन् र विदेशमा छन्, अब युवाको मानसिकता बौद्धिक उत्तेजना उन्मुख छ।
गाउँ–गाउँमा, शहर–शहरमा र दुनियाँको जुन कुनै कुनामा भए पनि विकासका अवधारणहरूको व्यापक प्रवाह गरिरहेको, सूचना, ज्ञान र सीप प्राप्तिका निम्ति क्रान्तिकारी उत्सुकता आफैंमा भरिरहेको र जहाँ–कहीँबाट आफ्ना अवधारणा तथा कार्यप्रवाह गरिरहेको कुरा हामी सामाजिक सञ्जालमा मजाले देख्न सक्छौं। यसको प्रयोग सबै सामुदायिक पुस्तकालयमा सेवा लिने युवाहरूमा पनि मजाले देख्न पाइन्छ।
जवान युवाको दिमागमा धन कमाउने, विद्वान् बन्ने, राजनीतिमा लाग्ने, साथीभाइसँग खानपिन र बबाल रमाइलो गर्ने, मायाप्रेम बसाउने जस्ता तरङ्गहरू उत्पन्न गराउन सामुदायिक पुस्तकालयमा जाऊन्। उनीहरूले त्यहाँबाटै रङ्गीन लक्ष्यहरू चुम्नेछन्।
घाँस–दाउराको भारी, धान–परालको भारी बोकेर पसिना–पसिना भएका मानिस, दिनभरि हलो जोतेर बचेको समय र श्रममा तल्लीन समुदायका तमाम मानिसहरू आफ्नो पसिना पुछ्दै सामुदायिक पुस्तकालय जाऊन् र आनन्द लिऊन्।
रिड नेपालले आफ्नो यो अभियान अन्तर्राष्ट्रिय स्तरमा पुर्याएको बेला नेपालको पनि ६३ वटा स्थानीय तहमा आफ्नो कार्यक्रम पुर्याएको छ, जहाँ ६८ वटा पुस्तकालयमा सबैजसोमा युवाहरूले नै रोजगार गरिरहेका छन्। यो अभियान ७७ वटै जिल्लाको ७५३ वटै स्थानमा आफ्नो कार्यक्रम लान जरुरी छ।
यसरी आफ्नो कार्यक्रम विदेशी सहयोगले मात्र होइन नेपालीले सक्छाँं अभियान शुरु गरी २ वटा सामुदायिक पुस्तकालयसमेत स्थापना भइसकेको अवस्था हेर्दा यो अभियान महाअभियान भएको मान्न सकिन्छ।
यसमा पनि युवावर्ग व्यापक लागेको पाइन्छ। युवावर्गले यस्ता सामुदायिक पुस्तकालयको सेवाबाट आफूलाई बौद्घिक परिवर्तन मात्र होइन, नयाँ बाटो र नयाँ कर्यसफलतातिर डोर्याएका कैयौँ उदाहरण छन्।
देश र दुनियाँ बदल्न हामी युवावर्गले यस्ता पुस्तकालयको दैनिक प्रयोगबाट नाप्नै नसक्ने बौद्घिक स्तर प्रप्त गर्ने भएकाले प्रयोगमा अझै तीव्रता ल्याउन जरुरी छ।