संसद् अवरोध बढी भो !



नेपाली कांग्रेसका नेताहरूले बारम्बार ‘संसद्मा प्रमुख प्रतिपक्षी दलले कस्तो व्यवहार देखाउनुपर्छ हामी त्यसको नमुना देखाउँछौं’ भन्दै आउनुभएको छ।

विगतमा प्रतिपक्षी दलका नेता–तथा कार्यकर्ताले कुर्सी तोडफोड गर्ने, माइक भाँच्ने र सडकमा उत्रिएका बेला रेलिङसमेत उखेलेर फाल्ने हर्कत देखाएका कारण लोकतान्त्रिक व्यवस्थाप्रति नै वितृष्णा जागेकाले त्यस्ता उदण्डताबाट बच्ने उहाँहरूको उद्घोषलाई सबैले स्वागत गरेका छन्।

नेपालको सम्बन्धमा सबैभन्दा लामो प्रभावशाली इतिहास बनाउन सफल लोकतान्त्रिक दल नेपाली कांग्रेसले नै यस प्रकारको नमुना बनाउनुपर्छ, उसैबाट अपेक्षा पनि छ।

तर, पछिल्लो पटक जसरी उसले संसद् अवरुद्ध गरिरहेको छ, त्यसमा पनि नमुना देखाइदिए हुन्थ्यो भन्ने अपेक्षा जनतामा देखिन्छ, निरन्तर संसद् अवरुद्ध गर्नुको सट्टा केही समयका लागि विरोध जनाए पनि नेपाली कांग्रेसको धारणा आम नागरिकले बुझ्ने उही नै हो, नेपाली संसदीय अभ्यासमा अभिलेख हुने सन्देशमा फरक पर्ने होइन।

केही समययता नेकाले पटक–पटक संसद् अवरुद्ध गर्दै आएको छ। कांग्रेसले आफ्ना एक जिल्ला नेतामाथि सत्ता पक्षका कार्यकर्ताले आक्रमण गरेको भन्दै दोषीलाई कारबाहीको माग राखेर संसद् अवरुद्ध गरेको छ।

संसद्मा बाँके घटनाका बारेमा गृहमन्त्रीको जवाफ मागेको कांग्रेसले अहिले पनि सोही विषयलाई लिएर संसद् अवरुद्ध पार्ने काम गरेको छ।

गृहमन्त्रीले घटनामा दोषी जोसुकै भए पनि कारबाही गरेर छाड्ने प्रतिबद्धता जनाएपछि पनि उसले बैठक अवरोध गर्न छोडेको छैन।

पार्टीभित्रको आन्तरिक द्वन्द्वका कारण कतिपय दृष्टिकोणले गतिहीनजस्तो देखिएको कांग्रेसले जागरण अभियानलाई सशक्त बनाएर कम्तीमा नजिकिँदै गरेको उपनिर्वाचनलाई आफ्नो पक्षमा बनाउन लाग्नुपर्नेमा पार्टीको भ्रातृ संगठनले उठाउने मुद्दा उठाउँदै अलमलिनु सुहाउने विषय होइन।

दुई तिहाइको दुहाइ दिने नेकपाको सत्ताले समेत जनतालाई जुन प्रकारको सेवा र सुविधा दिनुपर्ने हो त्यो केवल भाषणमा सीमित हुँदै गएको छ।

मुलुकमा सुशासन होइन कुशासनले अड्डा जमाउँदै गएको कारण जनतामा निराशा छाएको छ। मुलुकमा अवैध गतिविधि बढ्दै जाँदा खबरदारी गर्नुपर्ने कांग्रेसले त्यता ध्यान दिनुभन्दा पनि एउटै विषयमा निरन्तर अल्झिरहनु र झिना–मसिना कुरालाई महत्व दिएर संसद्जस्तो महत्वपूर्ण थलोलाई अनिर्णयको बन्दी बनाउनु हुन्न।

सत्ता प्राप्तिपछि कतिपय क्षेत्रमा मदमत्त र कतिपय पक्षमा दृष्टिविहीन देखिएको नेकपाको जनताविरोधी गतिविधिको भण्डाफोर गर्नुपर्ने कांग्रेस एउटा विषयलाई यसरी समाइरहेको छ, मानौं संघीय लोकतान्त्रिक गणतन्त्र नै धरापमा परेको होस्।

लामो समयसम्म सत्ताको बागडोर सम्हालेको कांग्रेस अहिले सरकारबाहिर छ, उसले गर्ने गतिविधि सत्तामा जान नपाउँदाको छटपटाहट हो भन्ने अर्थ लाग्नुहुन्न।

नेकाले उठाउनुपर्ने मुद्दा धेरै छन्, केही साताअघि १६ बुँदे सुझाव उसले तयार पारेर सरकारलाई सजग पनि गराएको छ।

त्यसलाई सबैले सकारात्मकरूपमा लिएका छन्। यत्ति हो, ऊ आफूले चाहिँ के गर्यो भन्ने प्रश्न उठेको छ। जेहोस्, सरकारले अघि सारेका कतिपय जनविरोधी कामको भण्डाफोर गर्दै जनताको घरआंँगनमा हुनुपर्ने कांग्रेस संसद्मा अड्किएर बस्ने बेला यो होइन।

प्रतिक्रिया दिनुहोस्