मन्त्रीज्यू उतै बस्नुस्।



निदाएको मान्छेलाई ब्युँत्याउन सकिन्छ, निदाएको नक्कल गर्नेलाई उठाउनै गाह्रो। यस्तो तर्क उहिले बाजेका पनि बाजेको पालादेखि को हो।

तर्क अहिले पनि हिट छ जुनसुकै क्षेत्रका लागि फिट छ। वर्तमान सरकार निदाएको नक्कल गर्ने मामिलामा अब्बल छ, जनताले दिएको दुईतिहाइ मतभन्दा पनि उपल्लो श्रेणी हासिल गर्या छ।

डेंगुले देशैभर दादागिरी मच्चाइरहँदा समग्र देशवासीलाई चुनौती दिइराख्या बेला सरकार केही थाहा नपाएझैं गरिरा छ। लाग्छ कि सरकार चिर निद्रामा छ, ऊ कुम्भकर्ण हो।

यसबारेमा न सदनमा बोल्छ सरकार, न त शीतलनिवास, बालुवाटार अनि सिंहदरबार।
६० भन्दा बढी जिल्लामा डेंगुराज फैलिएसी नेपाली जनता डरत्रासले थरर भाछन्, प्रधानमन्त्री, मन्त्री, नेता र उनका आसेपासे, बैठके, ढोकेहरू जहाजमा सरर गर्दै विदेश सयरमा रमाइराछन्।

सरकार अस्पतालमा सेवाग्राहीको लर्को लाग्न थालेसी विकल्प खोज्दै निजी अस्पताल र क्लिनिक पुग्ने बिरामीलाई अति चर्को शुल्क असुल्या असुल्यै छन्। सरकार मौन रहेपछि मौकामा चौका हान्ने यस्तै छन्।

स्वास्थ्यमन्त्री यादव कता बेपत्ता भाहुन् मौनव्रत बस्या छन् कि क्या हो, चुइँक्क बोल्दैनन्। धेरैतिर दुरविन सोझ्याएसी धरहराले सुन्यो यादव त डेंगुबाट जोगिन विदेश पुग्या छन् रे, यस्तै खबर एक कान दुई कान मैदान भा छ।

यादवज्यूलाई धरहराको सुझाब छ, बरु दुईचार हप्ता उता विदेशतिरै बस्नुस्, मन्त्री र डाक्टरलाई डेंगुले लखेटिराख्या बेला कम्तीमा स्वास्थ्य मन्त्री त सुरक्षित हुनुपर्यो नि।

प्रतिक्रिया दिनुहोस्