‘मेरो उम्मेदवारी निश्चित छ’



सञ्जयभक्त कँडेल, लन्डन ।
गैरआवासीय नेपाली संघको विश्व सम्मेलन आगामी अक्टोबरको १३ देखि १६ सम्म काठमाडौंमा हुँदै छ । संघले अक्टोबरमा २ वर्षका लागि करिव ६० लाख प्रवासी नेपालीको राजा चुन्नेछ ।

एनआरएनए अध्यक्षमा कुल आचार्यले आफ्नो उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । ६ कार्यसमितिमा ३ पटक निर्विरोध, ३ पटक निर्वाचित गरी १२ वर्ष एनआरएनमा सफल नेतृत्व गरिसकेका गैरआवासीय नेपाली संघका उपाध्यक्ष कुल आचार्य अहिले अध्यक्षका प्रबल दाबेदार मानिनुभएको छ । एनआरएनए बेलायतको अध्यक्ष हुँदै लगानी बोर्ड, च्यारिटी बोर्डको संयोजका रूपमा सफल भूमिका निर्वाह गरेका कुल आचार्य ‘क्लिन चिट’ पाएका भाग्यमानी हुनुहुन्छ ।

नरम स्वाभावका आचार्य गणितीय हिसाबले बलियो देखिनुभएको छ । संसारकै सबैभन्दा बढी एनआरएनए सदस्य भएको बेलायतबाट अहिलेसम्म कसैले नेतृत्व गरेका छैनन् । ‘थोरै संख्यामा एनआरएनए सदस्य रहे पनि रुस, जापान, अस्ट्रेलियाले पटकपटक गैरआवासीय नेपाली संघको नेतृत्व गरिसकेका छन्’, आचार्यले भन्नुभयो– ‘त्यसैले पनि अब गैरआवासीय नेपाली संघलाई नेतृत्व गर्न बेलायतलाई दिनु न्याय संगत देखिन्छ ।’

बेलायतमा कार्यरत संम्पूर्ण पत्रकारलाई बोलाएर परामर्श लिएका आचार्यले आफू आगामी चुनावमा गैरआवासीय नेपाली संघको अध्यक्षका प्रत्यासी भएको र परिणाम जस्तोसुकै भए पनि सबैलाई सम्मान गर्दै स्वीकार्ने तर पछि नहट्ने संकेत गर्नुभएको छ ।
‘पत्रकारको जिज्ञासापछि बजारमा जेजस्ता भ्रम वा हल्ला चलाइए पनि यसले मलाई केही असर पार्दैन’ –आचार्यले भन्नुभयो । आचार्यले प्रवासी नेपालीका समस्या समाधान र नागरिकता मुद्दा सम्पत्ति सुरक्षा सम्बन्धमा नेपाल सरकारसँग सहकार्य गर्दै यसका समाधान र व्यवस्थापनमा आफ्नो अनुभव र एजेन्डा प्रस्ट पार्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्