समाचार प्रभाव: उमेर ४५, रुपियाँ २५ हजार, खुसीले सीमा नाघ्यो



नेपाल समाचारपत्र, लमजुङ ।
लमजुङमा एक विपन्न परिवारमा जन्मे हुर्केर ४५ वर्षको उमेरसम्म पनि एकमुष्ट रकम हातमा लिन नपाउनु भएकी एक महिला सो रकम हातपर्दा भावविह्वल हुनुभएको छ । उहाँ लमजुङको उत्तरी क्षेत्रमा पर्ने मस्र्याङ्दी गाउँपालिका–३ को थाकन गाउँकी सन्तमाया परियार हुनुहुन्छ ।

उहाँका छ सन्तान छन् । तीमध्ये चार जना सुस्त मनःस्थिति सहित अपाङ्ग अवस्थाका छन् । श्रीमान् बुद्धिप्रसादको पनि जागिर छैन । ज्याला मजदुरी गरेर जहान केटाकेटीको पालन पोषण गर्ने गर्नु हुन्छ सन्तमाया । छोराछोरीको अवस्था देखेर श्रीमान्ले समेत २–४ सय पैसा भेट्नासाथ जाँड, रक्सी खाएर उडाइदिने र झनै पीडा दिने गरेका कारणले सन्तमायाले आजसम्म त्यतिका धेरै पैसा एकमुष्ट रुपियाँ आफ्नो भनेर लिन नपाएको बताउनुभयो ।

सो रकम आफ्नो हो भनेर हातमा लिन पाउँदा उहाँका औंलाहरू कापी रहेका थिए, त्यो खुशी र हर्षले उहाँका आँखा टिलपिल देखिन्थे । सोमबार उहाँ र उहाँको परिवारलाई सहयोग गर्नका लागि पोखराका पाँच जना व्यवसायी मिलेर एक मुष्ट रकम २५ हजार रुपियाँ आपसबाट संकलन गरी जिल्ला प्रशासन कार्यालय लमजुङमा आएर सन्तमायालाई प्रदान गर्नुभएको हो । सउक्त रकम हातमा पाए पछि सन्तमाया भाव विह्वल हुनुभएको हो ।

सन्तमायाका पूर्ण अशक्त दुई छोरीलाई प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराई सहितको टोलीले शनिबार घरमै गएर नागरिकताको प्रमाणपत्र प्रदान गरेको थियो । उक्त समाचार विभिन्न सञ्चारमाध्यममा आएको थाहा पाएर लमजुङ घुम्न आउनुभएका पोखराका पाँच व्यावसायी बन्धुहरूले लमजुङ आएको मौकाको सदुपयोग गर्दै सो रकमले पनि उहाँहरूको परिवारमा सहयोग गरेको दाता मध्येका विकास लामिछानेले बताउनु भयो । उहाँका अनुसार आफ्ना व्यावसायी साथीहरू मनोज परियार, विश्व सुवेदी, भरत परियार र वसन्त गिरीले सल्लाह र सहमतिमा सो रकम प्रदान गरिएको हो ।

अनपढ सन्तमायालाई ‘तपाईको जग्गा जमिन कति छ होला ? जग्गाको उब्जनीले खान पुग्छ ?’ भन्ने जिज्ञासा राख्दा उहाँले भन्नुभयो ‘३० पाथी धान र १० पाथी कोदो फल्ने खेत बारी छ, सो जग्गा देवरको समेत हो ।’ अविवाहित देवर आफ्नै साथमा बस्ने गरेको उहाँले जानकारी दिनु भयो ।

लामिछानेको टोलीले प्रजिअ डा. डिजन भट्टराईको कार्यकक्षमा मस्र्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङ, सोही वडाका अध्यक्ष प्रेम बस्नेत, नेपाल प्रहरीका प्रनाऊ रविन्द्रमान गुरुङ तथा जिल्लास्थित सञ्चारकर्मीलगायतको रोहबरमा सो रकम सन्तामायालाई हस्तान्तरण गर्नुभएको हो । आफूहरूको सानो सहयोगले उहाँहरूको जीवनमा दुई चार दिन भने पनि खुसी दिन सकोस् भन्ने उद्देश्यले सहयोग गरेको लामिछानेले बताउनु भयो ।

सो अवसरमा मस्र्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले नागरिकताको अभावमा उहाँहरूलाई सहयोग गर्न खोज्नेहरूलाई अवसर नमिलिरहेको अवस्था थियो र नागरिकता दिऔं भन्नेमा हामी लाग्यौं, यस्तो सहयोगतर्फ हाम्रो ध्यान गएको थिएन भन्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस्