गोरखामा चामलको कोटा घट्यो



नेपाल समाचारपत्र, गोरखा ।
नेपाल खाद्य संस्थानले उत्तरी गोरखामा बिक्री गर्ने चामलको कोटा घटाएको छ । खाद्य संस्थानले यसअघि वार्षिक ४५ सय क्विन्टल चामल गोरखाका लागि पठाउने भएपनि अहिले कोटा घटाएर चार हजार क्विन्टल मात्र दिने भएको हो ।

चामल बिक्री हुने क्रम घटेपछि कोटा पनि घटाइएको संस्थानले जनाएको छ । गत वर्षसम्म माछाखोला डिपोबाट दुई हजार पाँचसय र सिर्दिवास डिपोबाट दुई हजार क्विन्टल चामल बिक्री गर्ने गरी कोटा निर्धारण गरिएको थियो । चालु आर्थिक वर्ष भने माछाखोला डिपोको कोटा घटाएर एक हजार आठ सय क्विन्टलमा झरेको नेपाल खाद्य संस्थान शाखा कार्यालय गोरखाका प्रमुख नविन बस्नेतले बताउनु भयो ।

सिर्दिवास डिपोको कोटा भने बढेको छ । पहिले दुई हजार क्विन्टल रहेकोमा अहिले २२ सय क्विन्टल पु¥याइएको छ । समग्रमा पाँच सय क्विन्टल चामलको कोटा घटेको शाखा प्रमुख बस्नेतले जानकारी दिनुभयो । ‘माछोखालामा सोना मन्सुली प्रतिकिलो ४७ र सिर्दिवासमा ५० रुपैयाँमा बिक्री हुन्छ’, उहाँले भन्नुभयो, ‘जापानिज मनसुली माछोखालामा ४५ र सिर्दिवासमा ४८ रुपैया प्रतिकिलो पर्छ ।’
खाद्य संस्थानको चामल भन्दा स्थानीय बजारमा पाउने चामल ब्राण्ड र गुणस्तरको हुँदा पनि संस्थानको चामल बिक्री घटेको छ’ उहाँले भन्नुभयो ‘चामलको बिक्री घटेपछि संस्थानले ढुवानी अनुदान सहित उपलब्ध गराउने चामलको कोटा पनि घटाएको हो ।’

गत वर्ष माछाखोला डिपोका लागि दुई हजार पाँच सय क्विन्टल चामल लगिएकोमा १३ सय ४२ क्विन्टल मात्रै बिक्री भएको छ । सिर्दिवासमा दुई चरणमा गरेर चार हजार क्विन्टल चामल लगिएकोमा एक हजार ४८ क्विन्टल गत वर्षकै चामल मौज्दात रहेको संस्थानले जनाएको छ ।
माछाखोला डिपोबाट लाप्राक, गुम्दा, उहिया, केरौंजा, काशिगाउँ, लापु लगायत ठाउँका बासिन्दाका लागि चामल बिक्रीे हुन्छ । सिर्दिवास डिपोले चुमनुब्री गाउँपालिकाभित्रका सामागाउँ, ल्हो, प्रोक, बिहि, चुम्चेत, छेकम्पार र सिर्दिबासका बासिन्दाका लागि चामल बिक्री गर्छ ।

 

प्रतिक्रिया दिनुहोस्