विष खुवाएको आरोपमा खड्का पक्राउ



धनवीर दाहाल, रुकुम ।
रुकुम पश्चिमको आठविसकोट नगरपालिका वडा नम्बर ४ गोतामकोटकी एक महिलालाई जबजस्ती विष सेवन गराएको आरोपमा आठविसकोट नगरपालिकाका नायब पशु सेवा प्राविधिक विष्णु खड्का पक्राउ परेका छन । वडा नम्बर ४ गोतामकोट पानीकोटाकी २४ वर्षीया भावना केसीलाई जबरजस्ती विष सेवन गराएको आरोपमा आठविसकोट नगरपालिकाका नायब पशु सेवा प्राविधिक खड्का पक्राउ परेका हुन ।

२४ वर्षीया केसीलाई जवरजस्ती विष खुवाएको आरोपमा सानिभेरी गाउँपालिका ११ अर्मा घर भएका खड्कालाई वडा नम्बर ४ गोतामकोट बाट पक्राउ गरी प्रारम्भीक अनुसन्धानका लागी जिल्ला प्रहरी कार्यालयमा पठाइएको इलाका प्रहरी कार्यालय आठविसकोटका इन्चार्ज प्रहरी निरिक्षक अच्युतराज आचार्यले बताउनुभयो ।

आइतबार विष सेवन गरेर गम्भीर भएकी केसीलाई उपचारका लागी आठविसकोट नगरअस्पतालमा पुर्याइएको थियो तर यहाँ उपचार सम्भव नभए पछी हिजो नै उनलाई मिसन अस्पताल चौरजहारीमा रिफर गरिएको थियो । केसीको अहिले चौरजहारी अस्पतालमा उपचार भइरहेको छ । उपचारमा संलग्न डाक्टरलाई उद्धृत गर्र्दै इलाका प्रहरी कार्यालय चौरजहारीका इन्चार्ज नायब प्रहरी निरिक्षक मदन शाहिले महिलाको स्वास्थ्यमा केही सुधार आएको र खतरा मुक्त भएको बताउनुभएको छ । उहाँका अनुसार विष सेवन गरेर गम्भीर भएकी केसीले होस खुले पछी बयानमा नायब पशु सेवा प्राविधक खड्काले नै आफुलाई जबरजस्ती विष सेवन गराएको बताउनुभएको छ ।

खड्का आठविसकोट नगरपालिका वडा नम्बर ४, ५ र ६ गोतामकोटमा पशु सेवा प्राविधिकको रुपमा करार सेवामा काम गर्दै आएका छन । आरोपित खड्कालाई अहिले जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमको हिरासतमा राखिएको छ । पीडित पक्षले जाहेरी दिएपछि घटनाबारे अनुसन्धान थालिने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्