भारतबाट पोखरा ल्याइएको आलुमा भेटियो विषादी



नेपाल समाचारपत्र, कास्की ।
पोखरामा बेच्नका लागि आयात गरिएको आलुमा प्रयोग गर्न मिल्ने भन्दा बढी विषादी भेटिएको छ । पृथ्वीचोक स्थित कृषि उपज बजारमा बिक्रिका लागि ल्याईएको आलूमा विषादीको मात्रा अत्यधिक भेटिएपछि नष्ट गरिएको छ । अघिल्लो साता (साउन १७ गते) भारतबाट ल्याईएको सेतो आलु विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाईमा जाँच गर्ने क्रममा विषादी भेटिएको हो ।

‘३५ प्रतिशतसम्म कार्वामेट समूहको बिषादीको रुकावट भेटिए तरकारी वा फलफूल प्रयोग गर्न मिल्छ । ४५ प्रतिशतसम्म भएपनि त्यसलाई १ हप्तासम्म कुरेर खान मिल्छ,’ बालि संरक्षण प्रयोगशाला कास्कीका बालि संरक्षण अधिकृत तथा विषादी जाँचकर्ता संजीव बास्तोलाले भन्नुभयो, तर यो आलुमा ४७ प्रतिशत भेटियो । सचेत गराउनका लागि नष्ट गरिएको हो ।’

उहाँका अनुसार पोखरा आएको तरकारी तथा फलफूलको कार्वामेट र अर्गानो फष्फेट जाँच गरिन्छ । अरु तरकारी र फलफूलमा खासै समस्या नभएको उनले सुनाए । नष्ट गरिएको आलुमा कुन बिषादी थियो भन्ने चाहीँ पोखराबाट पत्ता नलाग्ने बास्तोला बताउनुहुन्छ । ‘हामीले क्याटागोरी मात्रै हेर्छौं । मिहिन तरिकाले हेर्ने मेसिन छैन,’ उहाँले भन्नुभयो, ‘क्याटागोरीमा फेल भएका तरकारी र फलफूल नष्ट हुन्छन् । खान मिल्ने चाहीँ बजारमा जान्छ ।’

बिषादी जाँचमा फेल भएका ५२ बोरा आलु नष्ट गरिएको कृषि उपज बजार शान्तिवनकी निमित्त बजार ब्यवस्थापक रुपा दाहालले बताउनुभयो । पोखरा आउने तरकारी तथा फलफूलमा शून्य विषादी भएका कुनै पनि वस्तु छैनन् । ‘३ महिनादेखि निरन्तर बिषादी जाँच हुन थालेको छ । पहिले कर्मचारी थिएनन् । सरकारले कर्मचारी पठाएपछि कस्तो तरकारी र फलफूल हामीकहाँ आउँछ त्यो सबै रेकर्ड निस्किन्छ,’ उहाँले भन्नभयो, ‘खान नहुने तरकारी बजारमा जाँदैन । सीधै नष्ट गरिदिन्छौं ।’ खासगरी भारतबाट आएका तरकारी र फलफूलमा बिषादीको मात्रा बढी हुन्छ ।

दाहालका अनुसार पोखरामा आलु, प्याज र फलफूल पूरै भारतबाट आउँछ । अन्य तरकारीहरु गण्डकी प्रदेशका विभिन्न जिल्ला तथा सिजनअनुसार धादिङ, मकवानपुर, पाल्पा, चितवन र तराईका जिल्लाहरुबाट तरकारी भित्रिन्छ । २० प्रतिशत हाराहारीको तरकारी फलफूल भारतबाट मात्रै आयात हुने उहाँले सुनाउनु भयो । बिषादीयुक्त आलु ल्याएका ब्यापारीलाई बजार ब्यवस्थापन समितिले आगामी दिनमा यस्ता तरकारी नल्याउने कागज गराएर छोडेको छ । ‘हामीले सचेत गरायौं । आगामी दिनमा क्वारेण्टाईन सर्टि्फिकेट सहित तरकारी र फलफूल ल्याउन भनेका थियौं । अहिले त्यो निरन्तर प्रमाण सहित आउँछ,’ उहँले भन्नुभयो ।

पछिल्लो जाँचका क्रममा अरु फलफूल र तरकारीमा बिषादी भेटिएको छैन । पछिल्लो समय बिषादी जाँचको बिषय निकै चर्चित भएको छ । यही क्रममा पोखरामा पनि १ बर्षअघि देखि बन्द भएको बिषादी जाँच केन्द्र पुनः सञ्चालनमा ल्याईएको हो ।

 

प्रतिक्रिया दिनुहोस्