३ लाख २६ हजार घूससहित सहायक वन अधिकृत पक्राउ



राम धामी, डडेल्धुरा ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगको विशेष टोलीले घुस लिएको नगद तीन लाख २६ हजार रूपैयाँसहित एक जना सहायक वन अधिकृतलाई पक्राउ गरेको छ ।

डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ भाँत्काँडाबाट सव–डिभिजन कार्यालय वीपीनगर डोटीमा कार्यरत सहायक वन अधिकृत सुरेशचन्द्र डिसीलाई आईतबार साँझ अख्तियारको टोलीले समातेको हो । विषेश सूचनाका आधारमा अख्तियारको क्षेत्रीय कार्यालय महेन्द्रनगरबाट खटिएको टोलीले डिसीको साथबाट तीन लाख २६ हजार नगद बरामद गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय महेन्द्रनगरका सूचना अधिकारी टोपबहादुर विष्टले डिसी घुससहित पक्राउ परेको पुष्टि गरेका छन् । ‘ठेकेदारलाई काठ मिलाइदिने भन्दै डिसी पाँच लाख ४५ हजार रूपैयाँ बैंकमा हाल्न भनेछन् । ठेकेदारले पैसा हालिदिएको भेटियो,’ उनले भने, ‘अरु पैसा निकालेर खर्च गरिसकेको रहेछ । हाम्रो टोलीले तीन लाख २६ हजार रूपैयाँ बरामद गरेको छ ।’
विष्टका अनुसार अख्तियारमा कार्यरत नेपाल प्रहरीको डिएसपीको नेतृत्वमा गएको टोलीले नगदसहित डिसीलाई समातेको हो । पक्राउ परेका डिसीलाई राति नै महेन्द्रनगर लगिएको उनले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ । सहायक वन अधिकृत डिसी लगातार विवादमा आइरहने कर्मचारीका रुपमा चिनिन्छन् । विगतमा डडेल्धुरा र र डोटी जिल्लामा भएका वन फँडानीका मुद्दामा पनि उनको नाम निकै चर्चामा आउने गरेको थियो ।

डडेल्धुरामा रहँदा उनले तत्कालीन जिल्ला वन अधिकृत कृष्ण भट्टमाथि हातपातसमेत गरेका थिए । डिसी लामो समयदेखि डोटी र डडेल्धुरा जिल्लाको राजमार्ग जोडिएका क्षेत्रमा जिम्मेवारी लिएर बसेका थिए । अन्यत्र सरुवा भएपनि उनी माथिल्लो तहमा मिलाएर यसै क्षेत्रमा बस्ने गरेका थिए । उपभोक्तादेखि काठ तस्करसँग पनि काम गरिदिए बापत उनले रकम असुल्ने गरेको सूचना पटक–पटक आउने गरेको थियो ।
सहायक वन अधिकृत डीसी राजनीतिक दलका नेताहरुसँग सम्बन्ध बनाएर राजनीतिक संरक्षण प्राप्त गर्दै आएका थिए । उनले जिल्ला वन अधिकृतहरुलाई समेत नटेर्ने उनका सहकर्मीहरु बताउछन् । दाङ जिल्लाका स्थायी बासिन्दा डीसीले १७ बर्ष पहिले रेञ्जर पदमा जागिरको शुरुवात गरेदेखिनै जागिरे जीवनको अधिकांस समय डोटी र डडेल्धुरामा बिताएका हुन ।

 

प्रतिक्रिया दिनुहोस्