पन्ध्रवटा दुर्घटनामा पन्ध्र जनाकै मृत्यु



नेपाल समाचारपत्र, पर्वत ।
पर्वत जिल्लामा एक बर्षको अबधीमा भएका साना ठुला गरि १५ वटा दुर्घटनामा १५ जना नै यात्रुको मृत्यु भएको छ । गत आर्थिक वर्ष २०७५÷०७६ मा पर्वत जिल्लामा भएका १५ वटा दुर्घटनाहरुमा १० जना पुरुष र ५ जना महिलाको ज्यान गएको हो।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख रामबहादुर भट्ट क्षेत्रीका अनुसार आर्थिक वर्षको १२ महिनाको अवधिमा ५ ओटा बस, ४ ओटा जिप तथा कार, ३ वटा ट्रयाक्टर र ६ ओटा मोटरसाइकल दुर्घटना भएका थिए ।

ती दुर्घटनाहरुमा ३४ जना गम्भीर घाइते भएका छन्। जसमा १९ जना पुरुष, ११ जना महिला, १ जना बालक र ३ जना बालिका रहेका छन्। यस्तै, २५ पुरुष, १४ महिला, १ बालक गरी ४० जना सामान्य घाइते भएका छन्। आर्थिक वर्ष २०७४र०७५ को तुलनामा गत आर्थिक वर्षमा दुर्घटना १५० प्रतिशतले, दुर्घटनामा संलग्न सवारीहरुको संख्यामा १५७ प्रतिशतले, ज्यान गुमाउनेको संख्यामा ५०० प्रतिशतले र सामान्य घाइते हुनेको संख्यामा ३६३ प्रतिशतले वृद्धि भएको पाइएको प्रहरीले बताएको छ। तर गम्भीर घाइते हुनेको संख्यामा भने २.८५ प्रतिशतले घटेको छ।

यसै गरी, आर्थिक वर्ष २०७३ र ०७४ को तुलनामा गत आर्थिक वर्षमा दुर्घटनामा संलग्न सवारीको संख्या ८० प्रतिशतले, ज्यान गुमाउनेको संख्या १५० प्रतिशतले, गम्भीर घाइते हुनेहरू ११२ प्रतिशतले, सामान्य घाइते हुनेहरू १२२ प्रतिशतले र दुर्घटनाको संख्यामा ५० प्रतिशतले वृद्धि भएको देखिएको छ। पछिल्ला तीन आर्थिक वर्षको तथ्यांकलाई हेर्ने हो भने गत आर्थिक वर्ष सवारी दुर्घटनाका हिसाबले बढी असुरक्षित देखिएको छ भने आर्थिक वर्ष २०७४र०७५ बढी सुरक्षित देखिएको छ। तीन आर्थिक वर्षमा पर्वतमा कुल ३१ ओटा दुर्घटना भएका छन् भने ती दुर्घटनाहरुमा २४ जनाको ज्यान गएको छ। यसैगरी, ३५ वटा सवारी साधनहरु दुर्घटनामा संलग्न रहेका छन् भने ८५ जना गम्भीर घाइते र ६९ जना सामान्य घाइते भएका छन्।

जिल्लामा दुर्घटनाका दर बढ्दै गएपछि गएको आर्थिक वर्षमा जिल्ला ट्राफिक प्रहरी कार्यालयले सचेतनामूलक र कारबाहीमूलक विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको थियो। जिल्लामा सवारी दुर्घटनाको दर घटाउनको लागि सडकमा गुड्ने सवारीहरुको भौतिक अवस्थाका बारेमा सडकमा नै प्राविधिकहरु लगेर जाँच गर्ने अभियान चलाएको थियो । त्यसबाहेक समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत बस, ट्याक्सी र मोटरसाइकलका चालकहरुलाई सचेतनामूलक कार्यक्रमहरु पनि सञ्चालन गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्