अवरुद्ध सडक खुलाउन तीन हप्ता लाग्ने



नेपाल समाचारपत्र, पर्वत ।
तुरतुरे ताल फुटेर गएको बाढीले बगाएको पुष्पलाल (मध्यपहाडी) लोकमार्गको बागलुङ्ग खण्डमा अबरुद्ध सडक सञ्चालनमा आउन करिब तीन हप्ता लाग्ने भएको छ भने पर्वत खण्डमा रोकिएको सडक बिस्तारको काम छिट्टै सुचारु गरिने भएको छ ।

बागलुङको बडीगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाको सीमामा रहेको तुरतुरे ताल फुट्दा सोमबार मध्यपहाडी लोकमार्गको २ सय मिटर सडक बगाएको थियो । सडकमा नयाँ ट्रयाक खोल्न करिब तीन हप्ता लाग्ने अनुमान गरिएको मध्य पहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतले जानकारी दिएको छ ।

बाढीले बगाएको क्षेत्रमा नयाँ ट्रयाक खेल्नुपर्ने भएकाले भदौ ५ सम्म सडक सुचारु गर्न सकिने आयोजना कार्यालय पर्वतका प्रमुख आशिष थापा मगरले बताउनुभयो । पहिरो र बाढीले बगाएको सडक भन्दा १० मिटर माथिबाट नयाँ ट्रयाक खोल्ने काम सुरु भएको छ । ‘छिटो काम सकिँदा पनि भदौको पहिलो साताभित्र यातायात सञ्चालन गर्न सक्ने बिश्वास लिएका छौ’, उहाँले भन्नुभयो– ‘ट्रयाक खोल्ने ठाउँमा ठूलो ढुंगाको चट्टान भएकाले थप केही समय पनि लाग्न सक्छ ।’ तत्कालका लागि अस्थायी ट्रयाक खोल्ने र पछि पुरानै ठाउँबाट सडक सञ्चालन गर्ने योजना रहेको छ ।

सदरमुकाम बागलुङ बजारदेखि ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका, तमानखोला गाउँपालिकासम्मको सिधा सडक सम्पर्क टुटेको छ । पश्चिमको व्यापारिक केन्द्र बुर्तिवाङबाट छोटो तथा लामो दूरीमा चल्ने सवारीसाधन ठप्प छन् । लोकमार्गसँग जोडिएको छिमेकी रुकुमतर्फपनि सवारीसाधन चल्न नसकेको बताइएको छ । सदरमुकामसँगै पोखरा, बुटवल, काठमाडौँबाट पश्चिम जाने सवारीसाधन बडीगाड गाउँपालिका–७ घोपर्नासम्म मात्रै पुग्ने गरेका छन् । बुर्तिबाङ क्षेत्रबाट छुट्ने सवारीसाधन ढोरपाटन नगरपालिका–२ तुरतुरे नजिक आएर रोकिने गरेको बताइएको छ ।

यसैगरी लोकमार्गको पर्वत खण्डमा दुई महिनादेखि रोकिएको सडक स्तरउन्नतीको काम पनि भदौको पहिलो साता देखि पुर्णरुपमा सुचारु हुने भएको छ । असारपछि रोकिएको बिस्तारको काम सुचारु गर्ने तथा तत्काल खाल्डा पुर्ने र अत्यावश्यक ठाउँमा मर्मत लगायतका काम शुरु गरिएको आयोजना जिल्ला कार्यालय पर्वतका प्रमुख आशिष थापा मगरले बताउनुभयो । ‘निर्माण ब्यबसायीलाई निरन्तर दबाब दिने काम भैरहेको छ’, उहाँले भन्नुभयो– ‘अब काममा ढिलाइ हुँदैन, तत्काल शुरु हुन्छ ।

मध्यपहाडी लोकमार्गमा पर्ने पोखरा–बागलुङ्ग खण्डमा सडक बिस्तारका क्रममा बनेका खाल्डामा जमेको पानी र जुनसुकै बेला पनि पहिरो खस्न सक्ने खतरा भएकाले सडक बिस्तार र खाल्डा पर्न माग हुँदै आएको छ । प्रतिनिधीसभाको शुन्य समयमा बोल्दै पर्वतबाट निर्वाचित साँसद पदम गिरीले सडकमा रहेका खाल्डाखुल्डी र पहिरो झर्ने खतराका कारण रोकिएको काम तत्काल शुरु गर्न माग गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्