सहकारीको नाममा लिएको कर्जा अध्यक्षद्वारा हिनामिना



नेपाल समाचारपत्र, गोरखा ।
सहकारीको नाममा लिइएको कर्जा अध्यक्षले हिनामिना गरेपछि पालुङटार नगरपालिका १० को डुम्रेथुम कृषि सहकारी संस्थाका २४ जना सदस्यहरु न्याय माग्दै जिल्ला प्रशासन कार्यालय पुगेका छन् ।

सांग्रिला विकास वैंकबाट झिकिएको एक करोड रुपैयाँमध्य ४० लाख रुपैयाँ अध्यक्ष मैतबहादुर तामाङले हिनामिना गरेको भन्दै असुल उपर गराइदिन माग गर्दै आफूहरु जिल्ला प्रशासन कार्यालय आएको संस्थाकी कोषाध्यक्ष राममाया तामाङले जानकारी दिनुभयो ।

‘सहकारी संस्थाका २४ जनाको २ सय ५० रोपनी जग्गाको लालपूर्जा वैंकमा छ’, अध्यक्ष तामाङले भन्नुभयो, ‘हामीले नियमित किस्ता बुझाइरहेका थियौं, तर अहिले वैंकले तुरुन्त किस्ता बुझाउन अन्यथा लिलामी गर्ने भन्दै ताकेता गरेपछि अध्यक्षले सदस्यसंग किस्ता रकम उठाएर वैंकमा नतिर्ने गरेको कुरा थाहा पाइयो । त्यसैले उजुरी दिन यहाँ आयौं ।’

संस्थाले १४ प्रतिशत व्याजमा वैंकसंग कर्जा लिएको थियो । ‘१४ प्रतिशत व्याजमा ऋण लिने र १६ प्रतिशत व्याजदरमा सदस्यहरुलाई कर्जा दिने भन्ने निर्णय भएको थियो’, अर्का सदस्य प्रतापमान तामाङले भन्नुभयो, ‘अरुले ७० लाख, अध्यक्ष एक्लैले ३० लाख रुपैयाँ ऋण लिएका थिए । तर अध्यक्षले आफ्नो किस्ता पनि तिरेका रहेनछन, अरु सदस्यसंग किस्ता उठाएर आफैले खर्च गर्ने गर्दा रहेछन् ।’ ऋण तिरेका सदस्यको पैसा पनि वैँकमा नबुझाएर अध्यक्ष तामाङले मास्ने गरेको उहाँको भनाई छ । ‘दुईचार जनाबाहेक सबैले तिरिसकेको छन, तर तिरेको ऋण अध्यक्षले वैंकमा नबुझाई आफैले मास्ने गरेका रहेछन’, उहाँले भन्नुभयो ।
अध्यक्षको बदमासीका कारण आफूहरुको जग्गा २०७२ सालको माघ महिनादेखि रोक्का रहेको उहाँले बताउनु भयो । नगरपालिकाको न्यायिक समितिले पनि समस्या समाधान गर्न नस केपछि प्रशासन गुहारेको कोषाध्यक्ष तामाङ बताउनुहुन्छ ।

‘न्यायिक समितिमा पनि पुग्यौं । त्यहाँ पनि पैसा छिट्टै पैसा तिर्छु भन्छ, तर तिर्दैन’, उहाँले भन्नुभयो, ‘यहाँ पनि प्रहरीले झिकाएर केरकार गर्दा छिट्टै तिर्छु भन्यो, तर तिरेन । कसैलाईचाहिँ पैसा नभएको खाताको चेक(बाउन्सचेक) दिने गरेको छ । कसैलाई छिट्टै तिर्छु भन्छ, तर तिर्दैन ।’

सहकारीका अध्यक्ष तामाङलाई झिकाएर छलफल गराउने तयारी गरिएको तर उनले अटेरी गरिरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

‘प्रारम्भिक अध्ययनमा अध्यक्षकै गल्ती देखिएको छ’, कार्यालयका सूचना अधिकारी गौतम भण्डारीले भन्नुभयो, ‘हामीले दुईतीनफेर बोलायौं, तर अटेरी गरिरहेका छन् । असल नियत भएको भए, आफ्नो कुरा राख्न आउनुपथ्र्यो ।

सहकारीका पीडित सबै सदस्यको एउटै आवाजसहित निवेदन आएको हुनाले हामीले उनको श्रीमतीको नामको जग्गा रोक्का गरेका छौं । अब आउँछन् नि ?’ आएपछि उनले हिनामिना गरेको पैसा वैंकमा तिरेर कर्जा चुक्ता गर्नेहरुको लालपूर्जा निकाल्ने वातावरण बनाउने भण्डारीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्