पहिरोपीडित सुरक्षित स्थानमा



बैतडी, (नेस) ।
पहिरोपीडित बैतडीको सुर्नया गाउँपालिका–८ मल्लोढोलेका ५ परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । पहिरोले घरमा क्षति पुर्याएपछि ५ परिवारलाई छिमेकीको घरमा सारिएको हो ।

अम्मरसिंह बोहरा, लालबहादुर बोहरा, डम्मर बोहरा, रामसिंह बोहरा र धौलसिंह बोहराको परिवारलाई सुरक्षित स्थानमा सारिएको सुर्नया गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष आनन्दसिंह बोहराले जानकारी दिनुभयो ।

शंकरपुर प्रहरीचौकी, वडाका जनप्रतिनिधि र स्थानीयहरुको सहयोगमा प्रभावित परिवारलाई सुरक्षित स्थानमा सारिएको हो ।

सतबाँझ श्रीभावर सडकखण्ड अन्तर्गत ढोल्यामोडदेखि वडा कार्यालय सम्म काटिएको सडकमा पहिरो खस्दा २३ परिवार अझै पहिरो जोखिममा रहेका वडा अध्यक्ष बोहराले बताउनुभयो ।

यस्तै पहिरोले गाउँमा आउने खानेपानीको पाइप बगाउनुका साथै मूहानमा समेत क्षति पुर्याएकाले मल्लोढोलेमा खानेपानीको अभाव समेत भएको छ । भिरालो जमीन भएकाले सडकमा खनिएको माटो र पहिरोका कारण बस्तीमा समस्या निम्त्याएको हो । पानी पर्ने बित्तिकै फेरी क्षति पुग्ने हो कि भनेर स्थानीयबासिन्दा चिन्तित बनेका प्रेमबहादुर बोहराको भनाई छ ।

पहिराको कारण खानेपानी पाइप बगेपछि बैतडीको दोगडाकेदार गाउँपालिका ८ बिसौना दलित बस्तीका बासिन्दालाई समस्या भएको छ । केही दिन अघि डोलमा खसेको पहिरोले खानेपानी पाइप बगाएपछि बिसौना दलित बस्तीमा खानेपानीको अभाव भएको स्थानीय रामदत्त जोशीले जानकारी दिए । डोलबस्तीमा प्रत्येक बर्ष पहिरो खस्ने र पहिरोले घर तथा खेती योग्य जमीन बगाउँदै आएको उहाँले जानकारी दिनुभयो ।

पहिरोले डोलबस्तीको गौराखलो समेत बगाएको छ । डोलबस्तीमा २०१९ सालदेखि पहिरो खस्न थालेको भएपनि बस्ती व्यवस्थापन समेत हुन सकेको छैन् । राजा विरेन्द्रको पालामा बस्ती सार्नुपर्ने निर्णय भएको भएपनि अहिले सम्म सो निर्णय कार्यान्वयन हुन सकेको छैन् । डोलमा आर्थिक अवस्था मजबुत भएकाहरुले बसाईसराई गरिसकेको भएपनि कमजोर आर्थिक अवस्था भएकाहरु पहिरोको जोखिम मोलेर बस्दै आएका छन् । पहिरोले बर्षेनी जमीन र घर बगाउने गरेको भएपनि कतैबाट राहत मिल्न सकेको छैन् ।

प्रतिक्रिया दिनुहोस्