लायन्सद्वारा कपडा बैंक स्थापना



हेटौंडा, (नेस) ।
हेटौंडामा कपडा बैंक स्थापना गरिएको छ । लायन्स क्लब अफ हेटौंडा भुटनदेवी तथा मकवानपुरका लियो र लायन्सको संयुक्त पहलमा हेटौंडा—४, सुमार्गी कम्प्लेक्समा कपडा बैंक स्थापना गरिएको अभियन्ता तथा लायन्स क्लब इन्टरनेशनल ३२५ बी २ नेपालकी जोन चियरपर्सन अंकिता सुमार्गीले बताउनुभयो ।

लायन्स क्लब इन्टरनेशनल ३२५ बी २ नेपालका डिष्ट्रिक्ट गभर्नर अनुपकुमार पहारीले रिबन काटेर कपडा बैंक उद्घाटन गर्नुभएको हो । पहरीले कपडा बैंकले असहाय, अशक्त तथा आर्थिक अवस्था न्यून भएकालाई राहत मिल्ने बताउनुभयो ।

अभियन्ता सुमार्गीले समाजमा एउटै लुगा वर्षौंसम्म वा धेरै पटक नलगाउने, नच्यातिएका र लगाउन मिल्ने लुगा पनि त्यसै फाल्ने परिपाटी भएकोले त्यसलाई संकलन गरी असहाय, अशक्त तथा आर्थिक अवस्था न्यून भएका व्यक्तिलाई वितरण गर्ने सोचसाथ बैंक स्थापना गरिएको बताउनुभयो ।

उहाँले जम्मा भएका कपडाहरु जो कोहीले आवश्यकताअनुसार लिनसक्ने बताउँदै बैंकमार्फत् प्रयोग गर्न मिल्ने कपडा मानवजीवनमा प्रयोगमा आउने खालका अन्य सामान पनि संकलन र वितरण गरिने जानकारी दिनुभयो ।

बैंक गरिबले लैजाने र धनीले दिने केन्द्रमात्र नभएर आवश्यक भएकाले लैजाने र आवश्यकता भन्दा बढी भएकाले दिने उद्धेश्यसाथ खोलिएको लायन्स क्लब अफ हेटौंडा भुटनदेवी अध्यक्ष सीता श्रेष्ठ महर्जनले बताउनुभयो । बैंकबाट बाढीपहिरो, आगलागीपीडितलाई पनि सहयोग गरिनेछ । बैंक विहान १० बजेदेखि साँझ ५ बजेसम्म खुला रहने छ ।

प्रतिक्रिया दिनुहोस्