प्रहरीमा आउने उजुरीको सङ्ख्या घट्यो



प्रताप बानियाँ, म्याग्दी ।
विगत ३ वर्षको अवधिमा जिल्ला प्रहरी कार्यालय म्याग्दीमा दर्ता हुन आएका आपराधिक क्रियाकलापको घटनालाई हेर्दा अपराध नियन्त्रणमा प्रहरीको सक्रियता बढ्दै गएको छ । प्रहरी कार्यालयमा दर्ता हुन आएको तथ्याङ्कलाई मध्यनजर गर्दैगर्दा जिल्लामा प्रहरीको सक्रियता बढेको र अपराधजन्य गतिविधिमा कमी आएको देखिन्छ ।

समुदायस्तरमा सचेतनामूलक विभिन्न गतिविधिहरु सञ्चालन गरेपछि अपराधिक क्रियाकलापहरुमा कमी आएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । समाजमा नागरिक सुनुवाई, मुस्कानसहितको प्रहरी सेवा, टोलटोलमा प्रहरी, समुदाय–साझेदारी कार्यक्रम, आमासँग प्रहरी, प्रहरी मेरो साथी जस्ता विभिन्न कार्यक्रमहरु चलाएपछि अपराधका घटनाहरु कम घटेको प्रहरीको दावी छ ।

पछिल्लोपटक प्रहरीले विप्लप नेतृत्वको नेकपा माओवादीका म्याग्दी इन्चार्ज कमानसिंह नकाल क्षत्री (विकिरण) र जिल्ला सेक्रेटरी बाबुलाल शाक्यलाई पक्राउ गरेको थियो । यस्तै अपराधिक क्रियाकलापमा संलग्न भई अदालतबाट विभिन्न अपराधमा दोषी प्रमाणित भएर फरार रहेकामध्ये गएको असारसम्म १ सय ४० जनालाई प्रहरीले पक्राउ गर्न सफल भएको छ । अझै ४ जना दोषीहरु भने फरार नै रहेको हुँदा विभिन्न माध्यमबाट प्रहरीले तिनीहरुको खोजी गरिरहेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीमा दर्ता भएको मुद्दाको तथ्याङ्क हेर्दा आर्थिक वर्ष २०७३÷७४ मा कुल १ सय ६२ ओटा मुद्दाहरु दर्ता भएकोमा ०७४÷७५ मा आउँदा त्यसबाट घटेर १ सय ३७ ओटा दर्ता भएका थिए । यसैगरी गतवर्ष जम्मा १ सय १ ओटा मात्रै मुद्दा दर्ता भएकोमा ८९ ओटा फस्र्यौट भई १२ ओटा मात्रै बाँकी रहेका छन् । ज्यानसम्बन्धी कसुरमा २, आत्महत्यातर्फ विषसेवन २, झुण्डीएर ६, सामाजिक अपराध अवहेलनातर्फ २९ र अभद्र व्यवहार अन्तर्गत कुल २६ ओटा मुद्दा दर्ता भएका थिए ।

त्यस्तैगरी लागूऔषध कारोबारमा संलग्न ६, केही सार्वजनिक अपराध ८, महिला तथा बालबालिकासम्बन्धी अपराध अन्तर्गत बहुविवाह ३, बालविवाह १, जबरजस्ती करणी ५, जबरजस्ती करणी उद्योग ७, सवारी ज्यान ३, बालयौन दुरुपयोग १ र गौबध (गाई मारेका) ३ वटा मुद्दा दर्ता भएको प्रहरीको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

म्याग्दीका प्रहरी नायव उपरीक्षक महेन्द्रप्रसाद मरासिनीले सफल अनुसन्धान, सुरक्षाको प्रत्याभूति र प्रहरीको सक्रियताले गर्दा आपराधिक क्रियाकलापमा कमी आएको बताउनुभयो । गतवर्ष कार्यालयमा दर्ता हुन आएको मुद्दाको तथ्याङ्क अनुसार सबैभन्दा धेरै पुस महिनामा १६ ओटा घटना दर्ता भएको उहाँले जानकारी दिनुभएको छ ।

प्रहरीको तथ्याङ्कअनुसार म्याग्दीमा लैङ्गिकताको हिसाबले महिला बढी पीडित भएको र पुरुष बढी पीडक भएको देखिएको छ । त्यस्तै जनजाति र दलित समुदायमा आपराधिक क्रियाकलापहरु धेरै रहेको पाइएको छ । जिल्लामा सामाजिक अपराध, अभद्र व्यवहार, जबरजस्ती करणी, लागूऔषध, पशुबध, महिला तथा बालबालिकासँग सम्बन्धी अपराधका घटनाहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्