मनमोहन पोलिटेक्निकलाई प्राविधिक विश्वविद्यालय बनाउने तयारी



विराटनगर, (नेस) ।
प्रदेश १ सरकारले पूर्वप्रधानमन्त्री स्व.मनमोहन अधिकारीको स्मृतिमा मोरङको बुढीगंगामा संचालित मनमोहन पोलिटेक्निकलाई प्राविधिक विश्वविद्यालय बनाउने तयारी गरेको छ ।
सरकारले मनमोहनको भौतिक संरचना प्रयोग गर्ने गरी कानुन निर्माण प्रयोजनको लागि प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले मनमोहन प्राविधिक विश्वविद्यालयको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६ प्रदेशसभामा पेश गर्नुभएको छ ।

हाल अत्यधुनिक भौतिक पूर्वाधारसहित मनमोहन पोलिटेक्निकमा विभिन्न संकायमा प्राविधिक विषय पढाइ हुदै आएको छ । प्रदेश सरकारले मनमोहन स्मृति पोलिटेक्निकको साविकको संरचना व्यवस्थापन गर्ने उद्देश्यसहित त्यसलाई प्रदेश सरकारमा हस्तान्तरण गराइ विश्वविद्यालय स्थापना गर्ने तयारी गरेको हो ।

सामाजिक विकास मन्त्री घिमिरेले अबको युग प्राविधिक विषय र सीपको नै भएकोले त्यस्ता दक्ष जनशक्ति उत्पादन गर्नको लागि पनि प्राविधिक ज्ञान तल्लो कक्षादेखि नै जरुरी हुने बताउनुभएको छ । विधयेकमा विश्वविद्यालयमा मुख्यमन्त्री कुलपति र सामाजिक विकासमन्त्री सहकुलपति रहने ब्यवस्था गरिएको छ ।

उपकुलपतिको नियुक्तिका लागि भने बोर्ड अफ गभर्नर्सको अध्यक्षतामा सभाका प्राज्ञिक पृष्ठभूमि भएका संरक्षण समितिका एकजना सदस्य र प्राविधिक उच्च शिक्षामा ख्यातिप्राप्त शिक्षाविद रहेको तीन सदस्यीय समिति गठन हुनेछ । समितिको सिफरिसमा चार वर्षका लागि कुलपतिबाट एकजना उपकुलपति नियुक्त गर्ने विधेयकमा व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्