अवैध कल बाईपासमा संलग्न पक्राउ



काठमाडौं (नेस) । अबैध अन्तराष्ट्रिय कल बाईपासमा संलग्न बालुवाटारको शितल मार्गस्थित कोठामा बस्दै आएका नसिव तामाङलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं उपत्यकाका बिभिन्न स्थानमा नेपाल सरकारको कुनै पनि निकायबाट अनुमति नलिई गैरकानूनी रुपमा अन्तराष्ट्रिय कल बाईपास संचालन भइरहेको भन्ने सूचनाको आधारमा अनुसन्धान गर्ने क्रममा कल बाईपास गरिरहेको अवस्थामा तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

तामाङको साथबाट ३२ पोर्टको जीओआईपी गेटवे २ थान, ल्याप्टप १ थान, राउटर १ थान, मोबाइल १ थान, नेपाल टेलिकम तथा एनसेलका सिमकार्ड ३० थान र नोटबुक १ थान बरामद भएको छ ।

अनुसन्धानको क्रममा तामाङ २०७२ जेठ १९ गते भिओआइपी उपकरण सहित टोखा नगरपालिका ७ धापासी, काठमाडौंबाट पक्राउ परी १ वर्ष कैद सजाय भुक्तान पश्चात छुटेको खुल्न आएको छ । तामाङले उक्त पेशालाई छिटो आम्दानीको रुपमा हेरी पुन अवैध क्रियाकलापमा लागेको, उपत्यका बाहिर संचालन गर्ने योजना रहेको तथा विदेशी कल क्यारिअरसँग समन्वय गरी भिओआइपी सञ्चालन गरेको ब्यूरोले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्