नेकामा २० बुँदे निर्देशिका

भदौ २० सम्म प्रदेशस्तरीय संरचना र कात्तिक मसान्तसम्म स्थानीय संरचना तयार हुने



रामकृष्ण चापागाईँ, काठमाडौं ।
नेपाली काग्रेसले १३ औं महाधिवेशनका क्रममा बनेका संगठनका स्थानीय संरचनाहरू रुपान्तरण गरी संघीय व्यवस्थाबमोजिम पार्टीको अन्तरिम संरचनाका लागि २० बँुदे कार्यविधि तयार गरेको छ ।

आइतबार जारी पार्टीको केन्द्रीय बैठकमा आएका केही सुझावससहित सर्वसम्मत पारित निर्देशिकाअनुसार आगामी भदौ २० गतेसम्म प्रदेशस्तरीय संरचना तयार गरी कात्तिक मसान्तसम्म स्थानिय तहको संरचना बनाइने सहमहामन्त्री डा. प्रकाशसरण महतले जानकारी दिनुभयो ।

उक्त निर्देशिकामा केन्द्रिय प्रतिनिधिको सट्टा निर्वाचन समितिका प्रतिनिधि जाने, स्थानिय संरचनालाई रुपान्तरण गर्न गठित विभिन्न समितिहरुमा जिल्ला सभापति सहित सभापतिका निकटतम प्रतिद्धन्द्धिको उपस्थित रहनुपर्ने लगायतका सुझावहरु राख्नुपर्ने भएकोले काग्रेसले २० वुदे निर्देशिका सार्वजनीक गरेको छैन ।

मुख्य सचिव कृष्णप्रसाद पौडेलले केही कुराहरु परिमार्जन भएपछि एक÷दुई दिनमा उक्त निर्देशिका सार्वजनिक गर्ने बताउनुभयो । काग्रेस बैठकले विधानको धारा ७२ (४) बमोजिम पार्टीको स्थानीय तहको संगठनको अन्तरिम संरचना तुरुन्त गठन गर्न आवश्यक भएकोले विधानको धारा ५० (५) र धारा ७१ समेतको अधिकार प्रयोग गरी केन्द्रीय कार्यसमितिको बैठकले नेपाली कांग्रेस स्थानीय तह संगठन पुनर्संरचनाको अन्तरिम व्यवस्था निर्दे्शिका, २०७६ सर्वसम्मतिले पारित गरी लागू गर्ने निर्णय गरेको छ । पार्टी संरचनालाई रुपान्तरण गरि समिति बनाउदा पार्टी कमिटिमा वरिष्ठताले नेतृत्व प्रदान गर्ने पनि उल्लेख छ ।

यस निर्णयलाई पार्टीको आगामी महासमिति अथवा महाधिवेशनमा पेश गरी अनुमोदन गराइने काग्रेसले जनाएको छ । काग्रेस विधानको धारा ५० (५) मा विधानको व्याख्या गर्ने र विधानमा उल्लेख भएका कुराहरूमा अपर्झट निर्णय गर्नुपरेमा पार्टीको परम्परालाई ध्यानमा राखी केन्द्रीय कार्यसमितिले गर्न सक्नेछ र त्यस्तो निर्णयलाई पछि हुने महासमिति वा महाधिवेशनबाट अनुमोदन गराउनुपर्नेछ भन्ने उल्लेख छ ।

काग्रेस केन्द्रिय सदस्य शिवप्रसाद हुमागाईका अनुसार उक्त बैठकले सर्वसम्मत पारित गरेको २० बुँदे निर्देशिकाबमोजिम गठन भएका संरचनालाई निर्वाचन समितिमार्फत वैधानिकता दिइने छ । केन्द्रिय सदस्य सिता गुरुङ्गका अनुसार टोल, वडा जिल्लादेखि प्रदेशको क्षेत्रिय तहसम्मको कुरा टुङ्गिए पनि ७ वटा प्रदेश संरचनाबारे भने अझै छलफल हुन बाकी छ ।

उक्त बैठकले कांग्रेसका तर्फबाट खोटाङ्ग जिल्ला दिक्तेल रुपाकोटा मझुवागढी नगरपालिका वडा नं. १ को खुला वडा सदस्य पदमा निर्वाचित बैजनाथ रिजाल पार्टी परित्याग गरेकोले राजनीतिक दल सम्बन्धी ऐन, २०७३ दफा ३१ तथा अन्य प्रचलित नेपाल कानूनबमोजिम निज निर्वाचित भएको वडा सदस्य पद स्वतः रिक्त हुने भएकोले, सम्बन्धित मन्त्रालय तथा निर्वाचन आयोगमा लेखी पठाउने निर्णय पनि गरेको छ ।

काँग्रेसको केन्द्रीय कार्यसमितिको अर्को बैठक २९ गते दिउँसो १ बजे पुनः बस्ने सो पार्टीको केन्द्रिय कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्