लगानीका लागि चिनियाँ टोली चाँडै प्रदेश १ आउने : मन्त्री आङबो



सरोज यादव, विराटनगर । प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले प्रदेश १ मा उल्लेख्य मात्रामा चिनियाँ लगानी भित्रने विश्वास व्यक्त गर्नुभएको छ । एकसाता लामो चीन भ्रमण पूरा गरी स्वदेश फर्किनुभएका मन्त्री आङ्बोले विराटनगरका पत्रकारहरुसँग कुराकानी गर्दे सान्दोङको सुइफा हुवाइजियको निमन्त्रणामा भएको भ्रमण निकै फलदायी र सफल भएको दावी गर्नुभयो ।

उहाँले चिनियाँ टोली छिट्टै प्रदेशमा लगानीको सम्भावनाबारे अध्ययन गर्न आउने र त्यसपछि लगानीको क्षेत्र तय हुने बताउँदै खानेपानी, इलेक्ट्रोनिक्स र हाइड्रोमा लगानीका लागि चिनियाँ कम्पनीलाई आग्रह गरेको बताउनुभयो । लगानी गर्ने क्षेत्र खुम्चिँदै गएपछि पछिल्ला वर्षमा चीनको आर्थिक वृद्धिदर निरन्तर खस्किँदै गइरहेको देखिएको छ, उहाँले भन्नुभयो यसकारण उनीहरूका लागि लगानी गर्ने क्षेत्रको आवश्यकता बढ्दै गएको पाइएको छ ।

यसकारण पनि चाडै लगानी र सहकार्यका लागि चिनियाँ टोली यहाँ आउनेछ । चीनको सबैभन्दा सुखी जनता बसोबास गर्ने सिचुवान र तीब्र आर्थिक विकास गरिरहेको सान्दोङ प्रान्तको भ्रमणबाट हाम्रो प्राथमिकता अनुसार कसरी उनीहरूको सहयोग ल्याउन सकिन्छ भन्ने विषयमा राम्रो छलफल भएको छ’ मन्त्री आङ्बोले भन्नुभयो,‘छिट्टै सुइफाको टोली प्रदेशमा लगानीको संभावनाबारे अध्ययन गर्न आउँदैछ।’उहाँले यसकालागि सघीय सरकारको अनुमति आवश्यक पर्ने बताउदै त्यो प्रक्रिया पनि चाडै पूरा गरिने बताउनुभयो ।

चीनभित्र शुद्ध पानी उपलब्ध गराउँदै आएको व्यावसायिक समूहसँग प्रदेश १ का सुख्खाग्रस्त क्षेत्रहरूमा शुद्ध पिउने पानीको आपूर्तिको क्षेत्रमा पनि साझेदारी गर्न सकिने मन्त्री आङ्बोले बताउनुभयो । भ्रमण टोलीमा सहभागी उद्योग वाणिज्य महासंघ प्रदेश १ का वरिष्ठ उपाध्यक्ष राजेन्द्र राउतले चीनको प्रतिष्ठित कम्पनीसँगको साझेदारीको विषयमा छलफल गरी साझेदारीको आधार तयार हुनु सकारात्मक भएको बताउनुभयो ।

चिनिया तर्फबाट यहाँ लगानीका लागि गहिरो चासो राखिएपछि लगानीका लागि जुन समझदारी बनेको छ त्यसको प्रदेशमा लगानी भित्रिने संभावना बढेको राउतले बताउनुभयो । प्रदेश सरकारको तर्फबाट मन्त्री आङ्बो नेतृत्वको टोलीले चीनको औद्योगिक क्षेत्रको औपचारिक भ्रमण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्